अलपत्र अल्लो प्रशोधन केन्द्र सञ्चालन गरिँदै



लमजुङ ।

लमजुङको सदरमुकाम समेत रहेको बेंसीशहर नगरपालिकामा तीन वर्षअघि स्थापना भएको अल्लो प्रशोधन केन्द्र सञ्चालनको तयारी भएको छ । उद्योग स्थापना भए पनि विद्युत् जडान हुन नसक्दा अलपत्र परेको प्रशोधन केन्द्र लगानीकर्ताहरुले नै वैकिल्पक स्रोत साधनको प्रयोग गरी सञ्चालनमा ल्याउने तयारी गरेका हुन् ।

बेंसीशहर नगरपालिका–३ शीतलपार्टीमा रहेको उक्त प्रशोधन केन्द्रमा आवश्यक विद्युत् उपलब्ध हुन नसक्दा प्रशोधन केन्द्र सञ्चालनमा आउन नसकेको हो । प्रशोधन केन्द्र स्थापना भएसँगै विद्युत् जडान गरे पनि डवल फेजको विद्युत् भोल्टेजले पनि उद्योग नचलेपछि ट्रान्सफर्मर नै राख्नुपर्ने भएको छ । विद्युत् ट्रान्सफर्मरका लागि सरोकारवालाहरुसँग पटक–पटक अनुरोध गरिए पनि हालसम्म जडान हुन नसकेपछि वैकल्पिक माध्यामबाट उद्योग सञ्चालनको तयारी गरेका उद्योग प्रवद्र्धक राजेश थापाले बताउनुभयो । विद्युत् जडान नहुँदासम्म ग्यासको माध्यमबाट उद्योग सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो ।

पछिल्लो समय आश्यक क्षमताको विद्युत् जडानका निम्ति पनि पहल भइरहेको सञ्चालकहरुले बताएका छन् । गण्डकी प्रदेश उद्योग तथा वाणिज्यमन्त्री मणिभद्र शर्मासहितको टोलीले प्रशोधन केन्द्रको स्थलगत अवलोकन गरी विद्युत् व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएकाले छिट्टै आवश्यकताअनुसारको विद्युत् जडान हुने प्रवर्तक थापाको भनाइ छ । उद्योगले सीधै प्राधिकरणको ग्राहक बनेर विद्युत् जडान गर्ने तयारी गरेको हो ।

विद्युत् जडान नहुँदासम्म वैकल्पिक ऊर्जाका रूपमा बायो ग्यासको प्रयोग गरेर प्रशोधन केन्द्र सञ्चालन गरिने प्रवद्र्धक एवं लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताउनुभयो । २ करोडभन्दा बढी लगानी रहेको उद्योग तीन वर्षदेखि बन्द हुँदा व्यवसायिक समस्या परेको भन्दै वैकल्पीक माध्यामबाट भए पनि उद्योग सञ्चालन गर्ने तयारी गरेको उहाँको भनाइ छ ।

प्रशोधन केन्द्र सञ्चालन अघि जनशक्ति तयार गर्न घरेलु विकास कार्यालयसँग समन्वय गरी तालिमसमेत शुरु भएको छ । आवश्यक जनशक्तिका लागि घरेलुले तालिम शुरु गरेको र तालिम सकिएसँगै प्रशोधन केन्द्र सञ्चालन गरिने प्रवद्र्धकहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा समेत अल्लोको राम्रो सम्भावना भएकाले लमजुङ उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादनअन्तर्गत अल्लो छनोट गरी प्रशोधन केन्द्र स्थापना गरेको हो । नेपाल सरकारको साझेदारीमा हाल विदेशी बजारलाई समेत लक्षित गरी अल्लो प्रवद्र्धनका लागि २ करोड लगानी भएको छ । जसमध्ये उद्योग वाणिज्य संघ, बेंसीशहर नगरपालिकालगायतका सरकारी निकायबाट ७० लाख रुपियाँ अनुदान प्राप्त भएको थियो ।

प्रशोधन केन्द्र स्थापना भएको तीन वर्ष बितिसक्दा पनि विद्युत् अवरोधका कारण उद्योग सञ्चालन गर्न नपाउँदा लगानीकर्ता निराश बनेका छन् । उद्योगका लागि लगानी गरे पनि प्रतिफल नपाउँदा आम्दानी शून्य हुनुका साथै बैंक ब्याजले दैनिक नोक्सान हुँदै गएको प्रवद्र्धकहरुले बताएका छन् ।

गुरुङ समुदायले भांग्रा लगायतका सामग्री बनाउन मात्र प्रयोग गर्ने अल्लो पछिल्ला दिनहरुमा व्यावसायिक आकर्षण बढेको छ । गाउँघरमा त्यतिकै खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग नै सञ्चालन भएपछि यसको समूचित प्रयोगसँगै धेरैलाई रोजगारीको अवसर मिल्ने अपेक्षा गरीएको थियो । ग्रामीण भेगमा सामान्य उपयोग गरिँदै आएको अल्लोबाट पछिल्लो समय झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, टाईलगायतका सामान बन्ने गरेका छन् ।

जिल्लाका सिउरुङ, घलेगाउँ, भुजुङ, गौंडा, घेर्मुलगायतका ठाउँमा अल्लो प्रशस्त पाइन्छ । यी गाउँमा घुम्न आउने पर्यटकलाई अल्लोबाट उत्पादित सामान बिक्री गरी स्थानीयले राम्रै आम्दानी गर्दै आएका छन् । तर, स्रोत र संरचना अभावमा मागअनुसार अल्लोको सामग्री उत्पादन गर्न नसकिएको अल्लो उद्यमीहरु बताउँछन् ।

अल्लोको कपडा स्थानीय बजारमा प्रतिमिटर १ हजार २ सयभन्दा बढी पर्ने अल्लो व्यवसायी बताउँछन् । प्रशोधन केन्द्रका अभावमा पनि अल्लो व्यवसायबाट जिल्लाका स्थानीय महिलाहरुले मासिक १५ हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । गाउँमा उत्पादित अल्लोका सामग्री बजार पुग्न नपाउँदै बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्