अझै भारतबाट बिजुली किन्दै प्राधिकरण



काठमाडौं ।

अहिले नेपाल विद्युत् प्राधिकरणले दैनिक तीन सय मेगावाटभन्दा बढी बिजुली भारतबाट आयात गरिरहेको छ । कुलेखानी जलायशयुक्त आयोजनाबाहेक सबै जलविद्युत् आयोजना नदीको बहाउमा आधारित रहेकाले पानीको सहत घटन गई उक्त परिमाणमा बिजुली आयात गर्नु परेको हो ।

गत हप्तासम्म नेपाल विद्युत् प्राधिकरणको आफ्नै आयोजनाबाट ५ सय १३ मेगावाट, नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूबाट ३ सय ३३ मेगावाट र निजी कम्पनीबाट ३ सय ३० मेगावाट गरी ११ सय ७६ मेगावाट बिजुली उत्पादन भएको ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बिजुलीको माग १५ सय ६७ मेगावाट रहेकाले अपुग ३ सय ९१ मेगावाट बिजुली भारतबाट आयात गरिएको छ ।

हिउँदमा पानीको बहाउ घटेकाले बिजुली उत्पादन आधाजस्तो घटेको नेपाल विद्युत् प्राधिकरण, प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टले बताउनुभयो । उहाँका अनुसार गत शनिबारको जडित क्षमता २ हजार ६० पुगेको भए तापनि दुईवटा जेनेरेटरबाट हाल उत्पादन नभएकाले कुल क्षमता २ हजार २ मेगावाट मात्र रहेको छ । दुईवटा जेनेरेटरमध्ये ३६ मेगावाट क्षमताको जेनेरेटर बिग्रिएको छ भने अर्को १५ मेगावाट क्षमताको जेनेरेट डिजलबाट चलाउन महँगो पर्ने भएकाले सञ्चालनमा ल्याइएको छैन् ।

अन्तरदेशीय बिजुली व्यापारका लागि उपायोगी ठानिएको ढल्केकर–मुजफ्फरपुर ४ सय केभिए प्रशारणलाइनको क्षमता हालसालै ६ सय ५० केभिएमा स्तरोन्नति गरिएको जानकारी ऊर्जा सचिव कार्कीले दिनुभयो । अन्तरदेशीय प्रशारण लाइनको स्तरोन्नतिबाट दुई देशबीच बिजुली व्यापार सहज हुने उहाँको दाबी छ । उक्त क्षमतालाई १ हजार केभिएसम्म पुर्याउने गरी भारतसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा भारतीय अनुदानमा निर्मित देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट बिजुली भारततर्फ निर्यात गरेको कारण निर्यातको ढोका खोलिएको उहाँको बुझाई थियो । तर, अघिल्लो वर्ष नेपालको आफ्नै लगानीमा निर्मित आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्दा ५ सय मेगावाट बराबर बिजुली खेर गई नेपाल विद्युत् प्राधिकरणले ५ अर्ब गुमाएको थियो । सचिव कार्कीका अनुसार नेपालको बिजुली भारतीय खुला बजारमा त्यो दिन चलेका दररेटमा बिक्री हुने गर्दछ भने खरिदको हकमा हाल प्रतियुनिट ८ रुपियाँ ४० पैसाका दरमा खरिद गर्ने गरिएको छ ।

हालसम्म ६० मेगावाट क्षमताको कुलेखानी प्रथम, ३२ मेगावाट क्षमताको कुलेखानी दोस्रो र १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो गरी कुल १ सय ६ मेगावाट मात्र जलाशययुक्त आयोजना निर्माण भएको छ । जबकि, १२ सय मेगावाट क्षमताको बुढीगण्डकी, ७ सय ६२ मेगावाट क्षमताको तमोर, ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती, ३ सय मेगावाट क्षमताको दूधकोशी, ४ सय मेगावाट क्षमताको नलसिंहगढ, १ सय५६ मेगावाट क्षमताको माडी जलविद्युत् आयोजना जलाशययुक्त आयोजनाको रूपमा पहिचान भइसकेका छन् ।
सरकारी लगानी रहेको हाईड्रो इलेक्टसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ सय ५६ मेगावाट क्षमताको माडी जलाशययुक्त आयोजना र ७ सय ६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना निर्माणको प्रारम्भिक कार्य मात्र अगाडि बढाएको छ ।

चिनियाँ कम्पनी थ्री–गर्जेजले निर्माण गर्ने भनिएको ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना अहिले पनि अनिर्णयको बन्दी छ । त्यस्तै, १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त आयोजना चिनियाँ कम्पनी गेजुवाले निर्माण गर्ने वा नगर्ने टुंगो लागेको छैन । राष्ट्रिय गौरवको आयोजनमा समेत सूचीकृत बुढीगण्डकी आयोजना नेपाल आफैंले निर्माण गर्ने बताउँदै आए पनि निर्माण मोडालिटी र वित्तीय व्यवस्थापनको टुंगो लाग्न सकेको छैन । मुआब्जा वितरण कार्यमा अल्झिएको छ । निजी क्षेत्र भने लामो निर्माण अवधि, ठूलो रकम लागत, र अपेक्षाकृत न्यून प्रतिफलका कारण जलाशययुक्त आयोजना निर्माणमा पछि हटेको छ ।

प्रतिक्रिया दिनुहोस्