नाम र राजधानीप्रति बारा – पर्सावासी आक्रोशित



वीरगन्ज ।

मधेस आन्दोलनको केन्द्रबिन्दु रहेको वीरगन्जलाई अपमान गर्दै जनकपुरलाई राजधानी र कुनै एक भूगोल विशेषको नाम राखेको भन्दै पर्सा तथा बारा क्षेत्रका बासिन्दाले विरोध जनाएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेशसभा स्थापना भएको करिब–करिब अन्तिम समयमा आएर प्रदेश–२ को नाम र राजधानी टुंगो लगाएको थियो ।

जनकपुर र मधेस प्रदेश नाममाथि नै राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन् । मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहेका लालबाबु राउतको भूमिकामाथि समेत प्रश्न उठाउँदै उहाँमाथि समेत विभिन्न टीकाटिप्पणी पार्टीहरूबाट भइरहेको छ । मधेस प्रदेशकी सांसदसमेत रहेकी करिना बेगमले आफू मुख्यमन्त्रीका विरुद्धमा बोल्ने पक्षमा नभए पनि जनकपुर राजधानी स्वीकार्न नसकिने बताउनुभयो । उहाँले यसको विकल्पको खोजी हुने बताउनुभयो । प्रदेशसभाको निर्णयकै विरुद्धमा आन्दोलन हुने र आफूहरु मधेस प्रदेशबाट अलग रही वागमती प्रदेशमा समाहित हुन चाहेको उहाँको भनाइ छ ।

‘जनकपपुर राजधानी र मधेस प्रदेश नाम राखिनु नै वीरगन्जमाथि ठूलो अन्याय भएका छ’, नेकपा एकीकृत समाजवादी पार्टीका नेतासमेत रहनुभएका मनोज चौधरीले भन्नुभयो– ‘अब विद्रोहको विकल्प छैन ।’ उहाँले प्रदेशसभाका संसादहरुको कमी–कमजोरी र हिजो मधेस विद्रोह गराउने नेताहरुको बद्मासीका कारण यो अवस्था भएको बताउनुभयो ।

वीरगन्जमा मुख्यमन्त्री राउतकै विरुद्धमा सोमबार साँझ विरोध प्रदर्शन हुनुका साथै उहाँको पुतला दहन भएको थियो । कांग्रेस लगायतका दलहरु विरोधका कार्यक्रमहरु सार्वजनिक नै गरेका छन् ।

किन अस्वीकार्य जनकपुर
बारा र पर्सा भौगोलिक रूपबाट नेपालको सुन्दर भूमिका रूपमा रहँदै आएको छ । राजनीतिक परिवर्तनमा वीरगन्जले आजसम्म धेरै ठूलो भूमिका निर्वाह गरेको धेरैले महुुुसस गरेका छन् । करिब ६ वर्षअघि नारायणी अञ्चलको व्यवस्था रहँदासम्म वीरगन्ज र यस क्षेत्रका सबै नागरिकको केन्द्र हेटौंडा थियो ।

वीरगन्जबाट हेटौंडाको दुरी जम्मा ५५ किलोमिटर रहेको छ र यो भनेको बिहान खाना खाएर आएन दिनभर काम गरेर वीरगन्ज फर्कने सक्ने अवस्था बारा र पर्साका नागरिकका लागि छ । अझै बाराको पथलैया क्षेत्रका नागरिरका लागि त हेटौंडा धेरै नजिक छ । जम्मा २८ किलोमिटर । तर, जनकपुर १ सय किमिभन्दा बढी टाढा भएकाले पनि जनकपुर स्वीकार्य नहुने तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले बताउनुभयो । पहाडी समुदायका व्यक्तिभन्दा कयौं गुना खराब नियत भएका जनकपुर क्षेत्रका व्यक्ति भएकाले जनकपुर भन्दा हेटौंडा उपयुक्त हुने उहाँको कथन छ ।

शहीद परिवारलाई ३ लाख दिँदै मधेस प्रदेश
मधेस प्रदेश सरकारले बुधबार मनाउन लागेको बलिदानी दिवस अर्थात् मधेस आन्दोलन स्मृति दिवसमा शहीद परिवारलाई ३–३ लाखका दरले उपलब्ध गराइने भएको छ । मधेस आन्दोलनका घाइतेहरुकालाई पनि अवस्था हेरी २५ हजारदेखि ३ लाखसम्म प्रदान गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।

सप्तरीको राजविराजमा आयोजना गर्न लागेको कार्यक्रममा मधेस आन्दोलनका ५७ शहीद परिवारलाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सो रकम उपलब्ध गराइने निर्णय भएको सरकारका प्रवक्ता समेत रहनुभएको अर्थमन्त्री शैलेन्द्र साहले बताउनुभयो ।

२०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेस आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ । मंगलबार पनि मधेस प्रदेशले प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ कायम भएको खुसीयालीमा सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्