पदमबहादुरले फलाए १४ केजीको मुला



दोलखा ।

दोलखाको शैलुङ गाउँपालिका–१ ठेकल घिउका कृषक पदमबहादुर तामाङ (घिसिङ) ले १४ केजीको मुला फलाएर तरकारी खेतीमा नयाँ रेर्कड बनाएका छन् । उनको यो मेहेनतको कदर गर्दै शैलुङ गाउँपालिकाले ७ हजार नगद पुरस्कारसमेत दिएको छ । व्यावसायीकरूपमा तरकारी खेती गर्न थालेको दुई वर्षको अवधिमा पहिलोपटक सबैतिरबाट प्रशंसा पाएको उल्लेख गर्दै यसले आफूलाई व्यावसायीक तरकारी खेतीमा थप हौसला मिलेको तामाङबताउनुहुन्छ ।

ठेकल घिउका पदमबहादुर तमाङले झण्डै दुई रोपनी जमिनमा मुला, काउली, गाँजर, केराउ, आलु, रातो मुला जस्ता तरकारीको खेती गर्दै आउनुभएको छ । तमाङले यो वर्षमात्र झण्डै ३ लाखको तरकारी बिक्री गर्नुभएको छ । मुलामात्रै ४० हजार जतिको बेचेको उहाँको कथन छ । ठेकल घिउको रातो मुला र आलु काठमाडौं लगायत देशको अन्यत्र पनि विशेष मानिने तमाङको भनाइ छ ।

सडकको पहँच भए पनि सहज पहुँच नभएको र बोलेरोलगायतका साधनमा महँगो भाडा तिर्नुपर्ने समस्याले उत्पादित तरकारी अन्यत्र बजार क्षेत्रमा पुर्याउन कठिन भएको तमाङको गुनासो छ । ‘यातायातको सहज पहुँच भए यो बर्ष १ लाखको मुला बेच्न सकिन्थ्यो ।’ –तमाङले भन्नुहुन्छ ।

शैलुङ–१ ताम्चेत दुधपोखरी ठेकल घिउका अधिकांश कृषक अहिले तरकारीखेतीमा सक्रिय छन् । उनीहरुले समूह नै बनाएर तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीका लागि शैलुङ गाँउपालिका, वागमती प्रदेश सरकार र गैरसरकारी संस्था आरआरएनले सहयोग गर्दै आएको छ । व्यवसायीक तरकारी खेती शुरु गरेपछि ठेकल घिउका वासिन्दाको जीवनस्तरमा समेत सुधार भएको स्थानीयको भनाइ छ । एउटा परिवारले आलु तथा अन्य तरकारी खेतीबाट सामान्यततया वर्षमा २/३ लाखसम्म कमाइ गर्ने उनीहरु बताउँछन् ।

शैलुङ गाउँपालिकाले तरकारी खेती गर्ने किसानलाई पकेट क्षेत्र निर्धारण गरी आलु, मुला, काउली, बन्दा जस्ता तरकारी खेतीका लागि सहयोग गर्नुपर्ने र सडकको सहज पहुँचको व्यवस्था गर्नुपर्ने पदमबहादुर तमाङको भनाइ छ । शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल गाउँपालिकामा कृषि उत्पादनका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुहुन्छ । मेहेनती कृषकलाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीतिअनुसार पदमबहादुरलाई नगदसहित पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्