फिल्ममा अभिनय गर्न चाहनेलाई नाटकमा नअलमलिन विपिनको सुझाब



अभिनेता विपिन कार्कीले फिल्ममा अभिनय गर्न चाहनेहरूलाई थिएटर (नाटक) तिर नअल्मलिन सुझाव दिएका छन्। उनले अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजको १६औँ ब्याचका विद्यार्थीसँग अन्तक्र्रिया गर्ने क्रममा आफ्नो अनुभव सेयर गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहनेलाई फिल्मकै माध्यम पक्रन सुझाएका छन्।

‘हामीलाई पनि शुरूमा यी दुई विधामा यति विधि भिन्नता होला जस्तो लागेको थिएन। तर, दुवैमा व्यापक भिन्नता रहेछ। अहिले छड्के फिल्मको विन्दु (विपिनले अभिनय गरेको पात्र) हेर्दा त्यसमा मैले कति धेरै लाउड एक्टिङ गरेछु भन्ने महसुस हुन्छ’ अन्तक्र्रियामा विपिनले भने।

गुरुकुल नाटकघरमा नाटकको प्रशिक्षण लिएका विपिनले आचार्य फिल्ममा सानो भूमिकामा अभिनय गरी फिल्मी अभिनय यात्रा शुरू गरेका थिए। लुटमा पनि सानो भूमिकामा मै देखिएका विपिनले छड्केमा गरेको विन्दु नामको भूमिकाले धेरैको मन जितेका थिए। तर, पछि रिलिज भएको पशुपतिप्रसादमा गरेको भष्मे डनको भूमिकाले भने विपिनले आफूलाई बहुआयामिक कलाकारको रूपमा स्थापित गर्न सफल भएका थिए।

आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नुहुन्छ? भन्ने विद्यार्थीको प्रश्नमा विपिनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आ–आफ्नै तरिका हुन्छ। मचाहिँ स्क्रिप्ट कण्ठ गरेर यसको शुरुवात गर्छु। यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ। त्यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर सोच्छु।’

उनले फिल्ममा करियर बनाउन जिन्दगी नै यही भनेर लाग्नुपर्ने पनि विद्यार्थीलाई सुझाउँदै फिल्ममा सफल हुन साना साना लक्ष्य लिन र ती पूरा भएपछि अर्को लक्ष्य लिनुपर्ने सुझाव दिएका थिए। ‘शुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो। तर सौगात (सौगात मल्ल) दाइ फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो। फिल्ममा पनि मैले सानो भूमिकाबाट शुरू गरेँ र त्यसमा पनि खुसी थिएँ। मेरो तपाईंहरूलाई यही सुझाव छ, सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्’ फिल्मका विद्यार्थीलाई उनको सुझाव थियो।

कलेजका एकेडेमिक कोअर्डिनेटर मनोजबाबु पन्तले नयाँ विद्यार्थीलाई भविष्यमा उनीहरूले काम गर्ने उद्योगको विषयमा पर्याप्त जानकारी होस् भन्ने उद्देश्यले आफ्नो विधामा स्थापित फिल्मकर्मीलाई निम्त्याउने क्रममा विपीनलाई अन्तक्र्रियामा निम्त्याएको बताए। ‘विद्यार्थीले किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान पनि हासिल गरुन् भनेर हामीले उद्योगका प्रोफेसनल पर्सनलाई विद्यार्थीसँग साक्षात्कार गराएका हौँ। यो अवसर भोलिका दिनमा एक अर्कालाई जोड्न सेतुका रूपमा काम गर्छ कि भन्ने हाम्रो विश्वास छ’ पन्तले भने।

प्रतिक्रिया दिनुहोस्