सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

राजधानीमा ह्वात्तै बढे संक्रमित



काठमाडौं ।

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ । तर, खोप कार्ड बोक्न भने अनिवार्य गरिएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार मोबाइलमा खोप कार्डको फोटो मात्रै देखाए पनि पुग्छ । कोरोना संक्रमितहरूको संख्या बढ्दै गएकोलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका तीनैवटा प्रशासन कार्यालयले यस्तो निर्देशन जारी गरेको हो ।

तीनवटै प्रशासन कार्यालयको मंगलबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन ‘स्मार्ट लकडाउन’ अवधारणामा संयुक्त आदेश जारी गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै आर्थिक गतिविधि नरोकिने गरी निर्देशन जारी गरेको जिकिर गर्नुभयो ।

सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमार्फत संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको थियो । सोही आदेशानुसार प्रशासनले निर्देशन जारी गरेको हो । आदेशअनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ । सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि निर्देशन दिइएको छ । प्रशासनले राजनीतिक भेला तथा महोत्सवमा रोक लगाएको छ । अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने प्रशासनले भनेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कार्यक्रम नगर्न समेत निर्देशन दिएको छ ।

त्यसै गरी सार्वजनिक सवारीसाधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ । प्रशासनले जारी गरेको निर्देशनअनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, सवारीसाधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने तथा दैनिक रूपमा सवारी साधनलाई सेनिटाइज गर्नुपर्ने निर्देशनमा उल्लेख छ । संक्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि निषेधाज्ञा लगाइने हो कि भन्ने चिन्ता आमसर्वसाधारणमा देखिन थालेको छ ।

राजधानीमा ह्वात्तै बढे संक्रमित
कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने आँकलन गरिरहँदा पछिल्लो २४ घण्टमा काठमाडौंमा झन्डै एक हजार संक्रमित थपिएका छन् । एक सातायता करिब २ सयको हाराहारीमा थपिएका संक्रमित मंगलबार ९ सय ८० पुगेको छ । तथ्यांकअनुसार मंगलबार ललितपुरमा २ सय २१ र भक्तपुरमा ८५ जना गरी उपत्यकामा १ हजार २ सय ८६ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मुस्ताङ र मुुगु गरी दुई जिल्लाबाहेक ७५ जिल्लामै संक्रमण फैलिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय संक्रमित संख्या ५ सयभन्दा माथि छ । सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २ सयभन्दा माथि छ ।

मन्त्रालयले सोमबार गरेको प्रेस ब्रिफिङअनुसार २४ घण्टामा देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३ सय १३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९ सय ८१ र ४ हजार ३ सय ८५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ६३ जनाको जनाको पोजेटिभ आएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ छ । जसमध्ये संस्थागत आइसोलेसनमा ६ सय ५५ र होम आइसोलेसनमा ८ हजार ८ सय ६७ जना छन् । मन्त्रालयका अनुसार आईसीयूमा ९३ जना भेन्टिलेटरमा १९ जना संक्रमति उपचाररत छन् । मंगलबार कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित बढे पनि मृतकको संख्या न्यून देखिएको छ । विश्वका करिब सयभन्दा बढी मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । भारतसँग खुला सिमाना रहेको कारण नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

मन्त्रालयका अनुसार बढी संक्रमित हुने उमेर समूहमा २१ देखि ३० वर्षका ६ सय ३६ जना, ३१ देखि ४० वर्षका ४ सय ९९ जना छन् । १० वर्षसम्मका बालबालिका ४० जना र ११ देखि २० वर्ष उमेरका बालबालिका १ सय ७५ जना छन् ।

प्रतिक्रिया दिनुहोस्