दूरसञ्चार उद्योगमा दुई ठूला सेवा प्रदायकको एक छत्र राज



काठमाडौं ।

नेपालको दूरसञ्चार उद्योगका ठूला ५ सेवा प्रदायकमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मात्र लामो समय एक छत्र बजार ओगटेका छन् । युनाइटेड टेलिकम लिमिटेड, नेपाल स्याटलाइट प्राइभेट लिमिटेड र स्मार्ट टेलिकम प्राइभेट लिमिटेडको हिस्सा नगन्य रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा सार्वजनिक पछिल्लो प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेका प्रतिवेदनअनुसार २०७८ कार्तिक महिनासम्ममा भ्वाइस सेवातर्फ कुल ४ करोड १५ लाख लाइन वितरण भएकोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २ करोड २५ लाख, एनसेल आजियाटा लिमिटेडको १ करोड ६६ लाख, स्मार्ट टेलिकम प्राइभेट लिमिटेडको २३ लाख ५७ हजार र अन्य सेवा प्रदायकको ३ लाइनमात्र रहेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५४ प्रतिशत र एनसेल आजियाटा लिमिटेडको ४० प्रतिशत गरी दुईवटा सेवा प्रदायकको हिस्सा मात्र ९४ प्रतिशत रहेको छ ।

सोही अवधिमा डाटा सेवातर्फ कुल ३ करोड ५३ लाख लाइन वितरण भएकोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १ करोड ९२ लाख, एनसेल आजियाटा लिमिटेडको ८४ लाख ३२ हजार, स्मार्ट टेलिकम प्राइभेट लिमिटेडको १ लाख ५३ हजार र आइएसपीको ७४ लाख ५८ हजार लाइन रहेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५४ प्रतिशत र ऐनसेल आजियाटा लिमिटेडको २४ गरी दुईवटा सेवा प्रदायकको हिस्सा मात्र ७८ प्रतिशत रहेको छ ।

यी दुईवटा कम्पनीले मात्र सिंगो बजार ओगट्दा दूरसञ्चार उद्योगमा के कस्तो नकारात्मक प्रभाव पर्न सक्छ भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा नेपाल दूरसञ्चार प्राधिकरण्का डिपुटी डाइरेक्टर सूर्यप्रसाद लामिछाने धेरै सेवा प्रदायबीच प्रतिस्पर्धा हुनु राम्रो हुने धारणा राख्नुभयो । ‘थोरै सेवा प्रदायकको हातमा बजार सीमित हुँदा स्वभाविकरूपमै फरक पर्न सक्छ । सेवा प्रदायकहरूले मिलोमतो गर्न सक्ने सम्भावना रहन्छ, जति धेरै सेवा भयो त्यतिकै बढी मूल्य प्रतिस्पर्धा हुनसक्छ ।’, डिपुटी डाइरेक्टर लामिछानेले भन्नुभयो ।

ल्यान्डलाइन, जीएसएम, सीडीएमए, वाईम्याक्स, डाटा सेवा (थ्रीजी, फोरजी/एलटीई) र भ्यालुएडेड सेवा उपलब्ध गराइरहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एसएम(फोरजी/एलटीई) र डाटा सेवा उपलब्ध गराइरहेको ऐनसेल आजियाटा लिमिटेडले शुरूदेखि नाफामा रहेको प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोषकुमार पौडलले जानकारी दिनुभयो । ठूला सेवा प्रदायकहरूमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, ऐनसेल आजियाटाले मात्र प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुर, रोयल्टी दस्तुर, ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर नियमितरूपमा बुझाउँदै आएका र बाँकीको लामो समयदेखि बक्यौता रहेको बताउनुभयो ।

प्रवक्ता पौडलले युनाइटेड टेलिकम घाटामा गई हाल सबै सेवाहरू बन्द अवस्थामा रहेको, उक्त कम्पनीले बुझाउनुपर्ने ११ अर्ब २५ करोड राजस्व अझै बाँकी रहेको र मुद्दा सर्वोच्च अदालतवाट टुंगो भई नसकेकाले अशुल उपर गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार स्मार्ट टेलिकम प्राइभेट लिमिटेड हाल घाटामा रहेको र फ्रिक्वेन्सी दस्तुर, रोयल्टी दस्तुर र ग्रामीण दूरसञ्चार विकास कोष दस्तुर वापतको ४ अर्ब ८१ करोड बाँकी रहेकाले मन्त्रिपरिषद्को निर्णयअनुसार सम्पत्ति र सेयर बिक्री तथा हस्तान्तरण रोक्का गरिएको छ ।

युनाइटेड टेलिकम र स्मार्ट टेलिकमले सबै सेवाहरू सञ्चाल नगर्न पाउने गरी एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) लिएकोमा स्मार्ट टेलिकमले मात्र सञ्चालनमा ल्याएको डिपुटी डाइरेक्टर लामिछानेले जानकारी दिनुभयो । ऐनसेल आजियाटाले भने अझै यस्तो लाइसेन्स लिएको छैन । नेपाल स्याटलाइट प्राइभेट लिमिटेड घाटामा गई लामो समयदेखि बन्द रहेकोमा फ्रिक्वेन्सी दस्तुरवापतको बक्यौता १ अर्ब १७ करोड २३ नतिरकोले २०७८ मंसिर महिनामा लाइसेन्स खारेज गरिएको प्राधिकरणका डिपुटी डाइरेक्टर अच्युतनन्द मिश्रले समाचारपत्रलाई जाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्