खोलाकै कारण सुकुम्बासी बने लोनिया

आठ वर्षमा तीन ठाउँमा घर



बाँके ।

गत भदौ ११ गते दिउँसोसम्म सुन्दर लोनियाको घर आफ्नै जग्गामा थियो । राति परेको पानीले बिहान दश बजेतिर डुडुवा खोलामा बाढी आयो । खोलाले कटान शुरू ग¥यो । तीन बज्दा नबज्दै लोनियाको फुसको घर ढल्यो । लोनियाले तेस्रोपटक सारेर त्यो घर बनाएका थिए । दश धुरजतिमा रहेको घर कटानमा परेर भत्किएपछि लोनिया पूर्णरूपमा विस्थापित मात्रै होइन, सुकुम्बासी नै बनेका छन् । सुन्दरको दुई कठ्ठा दश धुर जग्गामा अहिले डुडुवा खोला बगिरहेको छ ।

पहिला सुन्दरको घर राप्ती नदी नजिक थियो । २०७१ सालमा आएको ठूलो बाढी पछि राप्ती नदी धार परिवर्तन गरेर टाढा पुग्यो । डुडुवा खोला घर नजिकै आइपुग्यो । यो आठ वर्षमा उनले तीन ठाउँमा घर बनाए । अन्तिममा गत भदौमा आएको बाढीले सुन्दरको आफ्नो जग्गाबाट नै उठीबास लगायो । सुन्दर भन्नुहुन्छ– ‘डुडुवा खोला फैलिँदै आउँछ । म घर सार्दै जान्छु । अहिले त खोलाले उठीबास नै लगायो ।’

डुडुवा गाउँपालिका कधैपुरुवाका लोनियाले अहिले गाउँछेउकै अधियाँ (बटैया) जग्गामा झुपडी बनाएका छन् । राप्ती नदी र पछिको डुडुवा खोलाको कटानलाई नियन्त्रण गर्न नसक्दा सुन्दरका परिवार गाउँबाट विस्थापित भएका छन् । अधियाँ जग्गामा अलि पर खोला छेउमै सुन्दरले झुपडी बनाएका छन् । एकान्त ठाउँमा रहेकाले राति परेपछि परिवारका सदस्यहरू बाहिर निस्किन डराउँछन् । पुसको यो चिसोमा सुन्दरका परिवारमा बिचल्ली नै छ ।

 

सुन्दरकी बुहारी सुनिता लोनियाले खोलाछेउमै एकान्तमा घर हुँदा राति परेपछि डर लाग्ने गरेको बताउनुभयो । राज्यले खोलामा बलियो तटबन्ध नबनाइदिँदा सुन्दर विस्थापित हुन पुगेका हुन् । ‘यो अधिया जग्गामा घर बनाएका छौं । कहिले उठाइदिन्छन्, थाहा छैन’, सुनिताले भन्नुभयो– ‘हाम्रो जग्गा खोलामा परेको छ । के गर्नु जति बेलासम्म हुन्छ । यहीँ बस्छौं ।’

भदौ ११ गते कधैपुरुवामा जाँदा लोनिया खाद्यान्न, लत्ताकपडा, दाउरा ओसार्दै हुनुहुन्थ्यो । दिउँसो १ बजेतिर सुन्दरले घरको डिलमा बसेर रोटी खानुभयो । अहिले त्यहाँ डुडुवा बगिरहेको छ । स्थानीय सरकारले बाँसको तटबन्ध बनाएको छ । त्यो आँखामा छारो हाल्ने मात्रै छ । बाढी आएमा कटान रोक्न सक्दैन । राप्ती नदी र डुडुवा खोलाको चपेटामा पर्दै आएको छ, डुडुवा गाउँपालिकाका धेरै गाउँ । नदीले बेलाबेलामा धार परिवर्तन गरिरहने भएकाले कहिले कुन गाउँ डुबानमा पर्छ त कहिले कुन गाउँ । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँध निर्माण गरेपछि डुडुवा गाउँपालिकाका बासिन्दाले ३०औं वर्षदेखि डुबान, कटान र पटानको समस्या भोग्दै आएका छन् ।

राप्ती नदीको दुवैतिर भारतको सहयोगमा पक्की तटबन्ध बनाउने तयारी भइरहे पनि त्यो पूरा हुन सकेको छैन । सरकारले न त भारतलाई छिटो तटबन्ध बनाइदेऊ भन्न सकेको छ न त आफैंले छिटो बनाउन सकेको छ । जसको मार सुन्दर लोनियाजस्ताले व्यहोरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्