पशु पूर्णखोप कार्यक्रम शुरू



लमजुङ ।

लमजुङका आठ स्थानीय तहमध्ये पशुपालनका लागि सम्भावना भएका तीनवटा स्थानीय तहका पशुमा पूर्ण खोप कार्यक्रम शुरू भएको छ । बेंसीशहर, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि यो कार्यक्रम गरिएको हो ।

यस वर्ष जिल्लाका तीन स्थानीय तहमा पशुमा संक्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने गरी गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार पशु पूर्णखोप कार्यक्रम शुरू भएको छ । प्रदेश सरकारको मातहतमा रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थानीय तहका पशु शाखासँगको सहकार्यमा पशुमा पूर्ण खोप कार्यक्रम शुरु गरेको हो । पशु पूर्ण खोप कार्यक्रमअन्तर्गत प्राविधिक कर्मचारी कृषकका पशु फर्म तथा गोठमा पुगेर गाई, भैंसी, बाख्रा तथा भेडाको तथ्यांक संकलन गर्ने र खोप लगाउने गरेको विज्ञ केन्द्रका प्रमुख डा. रूपेश श्रेष्ठले बताउनुभयो । डा. श्रेष्ठका अनुसार जिल्लाका तीनवटै पालिकामा गणक पुगेर पशुबस्तुको तथ्यांक संकलन गर्ने काम सम्पन्न गरी मध्यनेपालमा पनि खोप लागाउने कार्य शुरु गरिएको बताउनुभयो ।

गण्डकी प्रदेशका सबै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गर्ने योजनाअनुसार लमजुङका दुई स्थानीय तह बेंसीशहर र मध्यनेपाल नगरपालिकामा गत आर्थिक वर्षमा उक्त कार्यक्रम कार्यन्वयनमा ल्याएको थियो । दुई स्थानीय तहमा उक्त कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्षबाट थप सुन्दरबजार नगरपालिमा उक्त कार्यक्रम कार्यान्वयमा ल्याएको केन्द्रले जनाएको छ ।

श्रेष्ठका अनुसार गत आर्थिक वर्ष दुई स्थानीय तहका ८७ प्रतिशत पशुपक्षीलाई खोप लगाइएको छ । गत वर्ष पशु र पक्षी दुवैमा खोप कार्यक्रम सञ्चालन भएकोमा यस वर्ष तीनवटा स्थानीय तहका पशुमा मात्र खोप लगाइने छ ।

खोप कार्यक्रमका लागि मध्यनेपाल नगरपालिकामा १४ जना ‘भ्याक्सिनेटर’ परिचालन गरिएको छ । सबै पालिकाभित्रका पशुमा खोप लगाउने कार्यक्रम सम्पन्न भएपछि सम्बन्धित पालिकालाई पशु पूर्णखोप पालिका घोषणा गरिने विज्ञ केन्द्रले जनाएको छ । पशु पूर्ण खोप पालिका घोषणाका लागि कुल पुश सख्यामा ८० प्रतिशतलाई सम्बन्धित खोप लगाएको हुनुपर्ने डा. श्रेष्ठले वताउनुभयो । चालू आर्थिक वर्ष तीन स्थानीय तहमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि १ करोड १० लाख रुपियाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्