राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका सबै स्थानीय तहबाट सेवा प्रवाह



काठमाडौं ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज आइतबारदेखि काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको छ ।

तत्काल विद्युतीय राहदानी (ई–पासपोर्ट) आवश्यक नभएका सेवाग्राहीले क्रमिक रूपमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन भनी स्टेसन थप गर्ने निर्णय गरेको हो । अनलाइन सेवाका लागि दर्ता स्टेसन थप गरी काठमाडौंका सबै इलाका र स्थानीय तहबाट परिचयपत्रका लागि नाम दर्ता गराउन सक्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

विद्युतीय राहदानी तत्काल आवश्यक नभएका नागरिकलाई भीडभाड नहुने गरी क्रमिक रूपमा आफ्नो विवरण प्रविष्ट गर्न आग्रह गर्दै निर्देेशक बस्नेतले भन्नुभयो– ‘अत्यावश्यक भएका नागरिकले आफ्नै जिल्लामा विवरण प्रविष्ट गरी परिचयपत्र लिन आग्रह गर्दछौं । यो पनि सम्भव नभएमा मात्र विशेष व्यवस्था गरिएका काठमाडौंका सबै इलाका र स्थानीय तहबाट सेवा लिन अनुरोध गर्दछौं ।’

विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) तत्काल आवश्यक भएका सेवाग्राहीका लागि भने राष्ट्रिय परिचयपत्रको नम्बर लिन काठमाडौंका विभिन्न स्थानबाट सेवा प्रवाह गर्दै आएको पाइएको छ । सबै जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानीका लागि अनलाइन आवदेन दर्ता गराउन सकिने व्यवस्था भइनसकेको स्थितिमा राहदानी तत्काल आवश्यक भई काठमाडौं आउने सेवाग्राहीका लागि सो व्यवस्था मिलाइएको हो । राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो ।

तत्काल राहदानी आवश्यक नभएका सेवाग्राहीले समेत राष्ट्रिय परिचयपत्र नम्बर लिन खोज्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतका ठाउँमा ठूलो भीड लाग्ने गरेको छ । काठमाडौं आउने नागरिकको हित र सुविधालाई मध्यनजर गरी तत्कालका लागि वागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्लामा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइएको निर्देशक ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

निर्देशक बस्नेतका अनुसार प्रदेश २ का अत्यावश्यक सेवाग्राहीका लागि भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्ट गर्ने व्यवस्था मिलाइएको छ । त्यसै गरी ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर (साविकको राहदानी विभाग) मा व्यवस्था गरिएको पनि विभागले जनाएको छ । यस विषयमा राहदानी विभाग र पञ्जीकरण विभागले सेवामा अन्तर आबद्धताको सम्झौता गरी कार्य गर्र्दै आएको छ ।

७७ जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र नारायणहिटी दरबारमा रहेको स्टेसनबाट विवरण दिएर राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने व्यवस्था गरिएको छ । हालसम्म करिब ५२ लाख नागरिकको विवरण संकलन भइसकेको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्