विपन्नलाई छानी–छानी लत्ताकपडा !



पर्वत ।

पर्वतको कुस्मा नगरपालिका–१ पाङस्थित मालढुंगा हुँदै बगिरहेको कालीगण्डकी नदीकिनारमा रहेको माझी बस्ती प्रायः सुनसान हुन्छ । आर्थिक समस्या र दीर्घ रोगबाट प्रताडित यो बस्तीमा उत्तिकै छन् । छाक टार्नका लागि कालीगण्डकीबाट बालुवा निकालेर बेच्नु माझीको बाध्यता हो । जाडो होस् वा गर्मी सधैंको एउटै बास ब्लकले बनाएका एकतले छाप्रामा अस्थायीरूपमा राखिएका जस्तापाता गर्मीमा जस्ता तातेर सुत्नै नसकिने त जाडोमा जस्ताबाट शीतका थोपा खसेर नपाइने विपन्न माझीका गुनासो छ ।

शनिबार बिहान त्यही अभाव र समस्यामा रहेको माझी बस्तीमा महोत्सव नै लागेको थियो । कालीगण्डकीको किनारसँगै त्रिपालमा सबै कपडा देखिने गरी मिलाएर राखिएको थियो । विद्यालय जाने उमेरका बालबालिकादेखि वृद्ध अवस्थामा रहेकाहरू पनि त्रिपालमा राखिएका कपडा एक–एकवटा लिँदै आफ्नो शरीरमा टाँस्दै नाप्दै गरिरहेका थिए । नापो मिलेमा निःशुल्क घरमा लैजान पाउने, नमिलेमा छानी–छानी अर्को नापोको कपडा लिन पाइने । कठारिने जाडोमा टिनको छानामुनि एकसरो कपडाको भरमा दैनिकी धानिरहेका उनीहरूलाई निःशुल्क कपडा पाएपछि त्यहाँ भन्दा खुसीको क्षण थिएन ।

उनीहरूका लागि यो मौका भने लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, कुस्मा नगरपालिका–७ र नमुना स्काउट ट्रुपले मिलाएका हुन् । पछिल्ला दुई सातायता यी तीन संस्थाले आर्थिक समस्यामा रहेका परिवारका लागि न्यानो कपडा संकलन र वितरणको अभियान थालेका छन् । अभियानका क्रममा इच्छा लागेकाहरूले अभियानका लागि कपडा उपलब्ध गराउँछन् । कपडा पसलमा रहेका नयाँ तथा दाग लागेर बिक्री नहुने अवस्थामा रहेको वा आम नागरिकले फेसन गएर वा आकार नमिलेर नलगाई थन्क्याएका कपडालाई सफा गरेर अभियानलाई उपलब्ध गराइन्छ । हरेक शुक्रबार ‘सेकेन्ड ह्यान्ड’ कपडा संकलनका लागि ‘माइकिङ’ गर्दै गाडी नै बजारमा डुलाइन्छ अनि शनिबार समस्यामा रहेकाहरूलाई कपडा लिन आउन आह्वान गरिन्छ ।

सोही अभियानअन्तर्गत शनिबार माझी बस्तीमा रहेका परिवारका लागि कपडा बाँडिएको हो । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल ‘निर्जन’ का अनुसार दुई साताको अवधिमा झन्डै ४ सय परिवारले कपडा पाएका छन् । चिसो बढ्दै जाँदा गरिब तथा विपन्न परिवारलाई न्यानो कपडाको पीर हुन्छ । दुई छाक गर्जो टार्न मुस्किल भएकाहरूले न्यानोका लागि ज्याकेट, स्विटर, ट्राउजर, मोजा, टोपी, गलबन्दीलगायतका लत्ताकपडा खरिद गर्न मुस्किल हुँदा चिसोबाट हुने असरहरू जानी–जानी भोग्नुपर्ने बाध्यता छ । यही अवस्थाको अन्त्य गर्न र अन्यत्र पनि सिकाइ होस् भनेर नै फरक खालको काम आफूहरूले गरेको उनको भनाइ छ ।

‘पैसा भएको मान्छेले फेसन र न्यानोपनको आधारमा कपडाहरू रोजेर किनिरहेका हुन्छन् । गत वर्ष लगाएका तथा फेसन गएका कपडा नलगाई नयाँ किन्नेले घरमा थन्क्याएर राखेका हुन्छन् । ती कपडाले किन्न नसक्नेहरूको जीवन बचाउन सक्छन् भनेर यो अभियान थालिएको हो’, उनले भने– ‘हरेक दिनजसो संकलनको काम भइरहेको हुन्छ । हप्ताभर संकलन भएका न्यानो लुगा शनिबार कुनै ठाउँमा राखेर समस्यामा भएकाहरूलाई लिन आउनका लागि अनुरोध गरेर सकेसम्म धेरैलाई वितरण गरिन्छ ।’

गरिब, विपन्न, अल्पसंख्यक, दलित समुदायलगायत आर्थिक समस्यामा रहेकाहरूलाई चिसोबाट जोगाउनका लागि परोपकारी काम थालिएको हो । बजारका उद्योगी, व्यवसायी तथा अन्य बासिन्दाहरूसँग पुराना र सफा कपडा संकलन गर्ने र कुनै एक चोकमा ती कपडा राखेर विपन्न तथा असहाय नागरिकलाई बोलाएर वितरण गर्ने गरिन्छ । अभियानका क्रममा सिरक, डसना, स्विटर, ज्याकेट, ब्लाङकेट, कुर्थासुरुवाल, टोपी, ट्राउजर, ट्रयाकसुट, जुत्ता, मोजालगायत लगाउने, ओढ्ने र ओछ्याने कपडा अभियानका लागि प्राप्त भएका कुस्मा नगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले बताए ।

‘जाडो महिना शुरु भएसँगै विपन्न, दलित, मजदुरलगायत आर्थिक संकटमा रहेका परिवारहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । उनीहरूलाई नै मध्यनजर गरेर यो कार्यक्रम चलाइएको हो’, उनले भने– ‘आर्थिक संकटमा रहेकाहरू नै चिसोबाट हुने विभिन्न संक्रमणको उच्च शिकारमा रहेको अस्पताल तथा क्लिनिकहरूको तथ्यांकले देखाएकाले पनि अभियान सञ्चालन गर्नु आवश्यक रहेको देखिएको छ ।’

सदरमुकाम र त्यसपछि पालिकास्तरमा पुगेर संकलन तथा वितरण गर्ने योजनामा रहेको अभियानमा सहभागी भएकाहरू बताउँछन् । अभियानमा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, बजारवासी, सामाजिक सेवामा सक्रिय रहँदै आएका अन्य संघ–संस्थाहरू पनि सहभागी भएकाले आशातीतरूपमा न्यानो कपडा संकलन भइरहेको लायन्स क्लबका अध्यक्ष ‘निर्जन’ ले बताउनुभयो । नागरिकले यो अभियानमा साथ दिँदै स्वतःस्फूर्तरूपमा पुराना तथा सफा र पुनः प्रयोग गर्न सकिने कपडा सहयोग गरेकाले सामाजिक सेवाका लागि गरिएको अभियानले सार्थकता पाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्