व्यावसायिक सुन्तला बगैंचा ‘उजाड’



काभ्रे ।

धुलिखेल नगरपालिका वडा नम्वर १० र १२ का ६ सय १३ घर परिवारको प्रमुख आयस्रोत रहेको सुन्तला उत्पादन केही वर्षदेखि हुन छाडेको छ । धुलिखेलकै अन्य वडा तथा जिल्लाका विभिन्न स्थानमा व्यावसायिकरूपमा गरिएको सुन्तला खेती धरमराएको हो ।

धुलिखेल नगरपालिका–१० शारदा बतासेमा २ सय ५ जना कृषकले सुन्तलाको व्यावसायिक खेती गरेका थिए भने वडा नम्वर १२ शंखुमा ४ सय ८ जना कृषकको बारीमा सुन्तला खेती थियो । २०७२ सालको भूकम्पपछि कम फल्न थालेको सुन्तला गत वर्षदेखि शून्यमा परिणत हुन थालेको कृषक प्रधुम्न लामिछानेले बताउनुभयो । ‘हरेक वर्ष वार्षिक २ लाख रुपियाँसम्म सुन्तलाबाट आम्दानी हुने गरेको थियो’, उहाँ भन्नुहुन्छ– ‘२०७२ सालबाट उत्पादन कम हुँदै गएको सुन्तला गत वर्षदेखि शून्य जस्तै भयो ।’

प्रधुम्न जस्तै २ सय बोट सुन्तलाबाट वार्षिक आम्दानी गर्ने राजनप्रसाद लामिछानेको पीडा पनि उस्तै छ । बारीमा भएका सुन्तलाका रुख काट्न पनि डर छ, फल्ने आस पनि छैन । ‘एकैपटक काट्दा दाउरा पनि नहुने भयो, विस्तारै काट्दै नयाँ लगाउँदै जान थालेका छौं’, उहाँले भन्नुभयो– ‘सुन्तलाको बिरुवा किन मर्यो थाहा पाउन सकेनौं ।’ राजन लामिछानेको बगैंचामा २०३८ सालमा लगाएका रुखहरु पनि छन् ।

शंखु र शारदा बतासेमा मात्रै वार्षिक १० करोड भन्दा धेरैको सुन्तला बिक्री हुँदै आएको थियो । केही वर्षदेखि सुन्तलाको उत्पादन हुन नसक्दा स्थानीयको प्रमुख स्रोत गुम्न पुगेको कृषक पुरुषोतम लामिछानेले बताउनुभयो । उक्त क्षेत्रमा सुन्तला मात्रै नभई अमिलो जातका ज्यामिर, जुनार, चाक्सी, निबुवालगायतका बिरुवा पनि धमाधम सुक्न थालेका छन् । हिउँदमा पहेंलो देखिने बगैंचा उजाड बन्न पुगेको कृषक राधाकृष्ण फैजुले बताउनुभयो । औषधि, गोडमेल नभएका कारण भूकम्पपछि चाहेजस्तो स्याहार गर्न नसकेकै कारण सुन्तलाको बिरुवा सुकेको हुन सक्ने कृषक पुरुषोतम लामिछानेले बताउनुहुन्छ । प्राविधिकहरुले पनि भूकम्पपछि जमिन हल्लँदा सुन्तलाको जरासमेत हल्लिएकाले बिरुवाहरु सुक्न थालेको बताएका उहाँको कथन छ ।

धुलिखेल नगरपालिकाले कृषकहरुको गुनासो आएलगत्तै केही वर्षअघि सुन्तलाको बिरुवाको तथ्यांक र अवस्थाका बारेमा अनुसन्धान गरेको छ । राष्ट्रिय सुन्तला जाँच तथा अनुसन्धान कार्यक्रमअन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद्का डा. उमेशकुमार आचार्यको टोलीले सुन्तलाको बोट र माटोको अध्ययन अनुसन्धान गरेको थियो । २४ वटा सुन्तला बिरुवाको जातीय परीक्षण गरेको उक्त टोलीले शंखु र शारदा बतासेमा सुन्तलाका बिरुवा सुक्दै जानुमा खाद्य तत्व कम भएको निष्कर्ष निकालेको थियो । ‘एक वर्षदेखि दश वर्ष अवधि माथिका सुन्तलाका बिरुवाहरुमा आवश्यक पर्ने खाद्य तत्वको प्रतिवेदन अध्ययन गरी नगरपालिकालाई उपलब्ध गराएको थियो’, धुलिखेल नगरपालिका कृषि शाखा प्रमुख मन्दिलकृष्ण श्रेष्ठले भन्नुभयो– ‘कृषकले प्रतिवेदनमा उल्लेख भए अनुसारको खाद्य तत्व अपुग भएको जानकारी गराउँदा समेत वास्ता गर्नुभएन । बरु उल्टै सुन्तलाको बगैंचाभित्र लहरे बाली लगाउँदै ट्रयाक्टरले जोत्न थाल्नुभयो । जसका कारण जरा खल्बलिने र अन्य जातका तरकारी बालीले सुन्तलाको बोटमा कीरा लागेर मर्न थाल्यो ।’

प्राविधिक मन्दिलकृष्ण श्रेष्ठका अनुसार
सुन्तला बगैचाभित्र कोसेबालीबाहेक अन्य खेती गर्न नहुने उहाँको भनाइ छ । कोसेबालीमा केराउ, भटमास जस्ता कोसेबाली लगाउँदा हुने भए पनि अदुवा, मकै, सिमी, बोडी, आलु लगाउँदा सुन्तलाको बिरुवालाई क्षति पुग्ने श्रेष्ठले बताउनुभयो ।

सुन्तलाको एक वर्षको बोटलाई १० केजी प्राङ्गारिक मल, ८८ ग्राम युरिया मल, ५२ ग्राम डीएपी मल, ५८ ग्राम पोटास मल हरेक वर्षको दुई पटक आवश्यक पर्छ । सुन्तलाको बोटको उमेर अनुसार खाद्य तत्व फरक फरक हिसावले उपलब्ध गराउनु पर्ने भए पनि कृषकहरुले त्यसो नगरेका कारण सुन्तला बगैचा उजाड बन्दै गएको मन्दिलकृष्ण श्रेष्ठले बताउनुभयो । नगरपालिकाले माटो परीक्षण, तालिम तथा सचेतनामूलक अभियान सञ्चालन गरेको भए पनि कृषकहरु सन्तुष्ट छैनन् ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले शंखु, शारदा बतासे क्षेत्रको सुन्तलामा देखिएको समस्याको समाधानका लागि पहिचान गरी अनुसन्धान गरिएको बताउनुभयो । सुन्तलालाई आवश्यक पर्ने खाद्य तत्वको अभाव देखिएकाले कृषकहरुलाई सचेत गराउने, नयाँ बिरुवा थप्दै पुराना बिरुवालाई विस्थापन गर्ने अभियान सञ्चालन गर्ने र त्यसका लागि नगरपालिकाको कृषि शाखाबाट आवश्यक कार्य भइरहेको नगर प्रमुख ब्याञ्जुले बताउनुभयो । जिल्लाका अन्य क्षेत्रमा पनि एकैखालको समस्या भएकाले कृषि ज्ञान केन्द्रमार्फत सुन्तला बगैंचा जोगाउने अभियान सञ्चालन गर्न स्थानीय कृषकहरुले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्