कागजजन्य फोहोरबाट अण्डा राख्ने क्रेट उत्पादन शुरू



रामेछाप ।

रामेछापमा कागजजन्य फोहोरबाट अण्डा राख्ने क्रेटको उत्पादन शुरु भएको छ । ग्रिन हाइलाइट नेपाल प्राइभेट लिमिटेड नामक कम्पनीले रामेछाप नगरपालिका–८ विटारमा कागजजन्य फोहोरलाई कच्चापदार्थका रूपमा प्रयोग गरी अण्डा राख्ने क्रेट उत्पादन गनृ थालेको हो ।

स्थानीय सात युवा मिली प्रतिव्यक्ति १० लाख रुपियाँ लगानी गरेर क्रेट उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका हुन् । फोहोरको उचित व्यवस्थापनको अभावले वातावरणलाई नै प्रदूषण पारिरहेका बेला यस्तो व्यवसाय सञ्चालन हुनाले फोहोर व्यवस्थापनमा सहज र मन्थली बजारको फोहोर नियन्त्रणमा सहयोग भएको स्थानीय व्यापारी बताउँछन् ।

उद्योगले अहिले प्रतिदिन ३ हजार थान क्रेट उत्पादन गरिरहेको छ । उत्पादित क्रेट १० प्रतिशत रामेछापमै बिक्री हुन्छ, बाँकी उत्पादन दोलखा, सिन्धुली, काठमाडौं र चितवनमा बिक्री हुने गरेको छ ।’ –सञ्चालकमध्येका एक जय मानन्धरले बताउनुभयो । ‘फोहोरका रूपमा फालिएका कागज, किताब, कापी, पत्रिका, कार्टुनलगायतलाई प्रशोधन गरी क्रेट बनाइन्छ’, उहाँ भन्नुहुन्छ– ‘पानी र कागजलाई मिलाएर मेसिनमा राखेपछि मेसिनले क्रेट तयार पार्दछ ।’

कम्पनीले कागजको गुणस्तर हेरी बजार क्षेत्रका व्यवसायी, कवाडी सामाग्री संकलकहरू र फोहोर उठाउने ठेकेदारसँग प्रतिकिलो ८ रुपियाँसम्ममा किन्ने गरिएको अर्का सञ्चालक विश्वास श्रेष्ठले बताउनुभयो । कागजजन्य फोहोर फाल्न फोहोरको गाडी कुर्नेहरू अहिले त्यही कागज बिक्री गर्न थालेका छन् । फालिने कागजबाट क्रेट उत्पादन गर्ने काम जिल्लामै पहिलोपटक भएको हो । चारवटा मेसिन चलाएर सञ्चालनमा आएको यो उद्योगले १७ जनालाई नियमित रोजगारी उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्