फोहोरको बेवास्ता गर्दै मतदाता नामावली भर्नेको भीड



बाँके ।

तल फोहोरको थुप्रो छ । दुर्गन्धले गर्दा नाक थुन्नुपर्ने अवस्था छ । ढक्कनमाथि मान्छेको खचाखच भीड छ । धेरैबेरदेखि लाइनमा बसेका केहीले त्यही समोसा, पकौडी खाइरहेका छन् । यो जिल्ला निर्वाचन कार्यालयको प्रवेशद्वारको तस्बिर हो । मतदाता नामावली भर्न आएका युवायुवती फोहोरको बेवास्ता गर्दै लाइनमा छन् । उनीहरूलाई फोहोरको होइन, लाइन कतिबेला सर्ला भन्ने चिन्ता थियो ।

केही दिनदेखि जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली भर्नेको ठूलो भीड छ । जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्जको भित्रदेखि बाहिर सडकसम्म लामो लाइन छ । जिल्ला प्रशासन कार्यालय, बाँकेबाट नागरिकता बनाएका सिधैं मतदाता नामावली भर्न जिल्ला निर्वाचन कार्यालयमा पुगिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयले पालिकाअनुसार मतदाता नामावली भरिरहेको छ । आइतबार राप्तीसोनारी, डुडुवा र जानकी गाउँपालिकाको नामावली भर्ने अन्तिम दिन भएकाले ठूलो भीड थियो । यसअघि खजुरा, नरैनापुर र बैजनाथ गाउँपालिकामा नामावली संकलन गरिएको थियो । तीन वटा गाउँपालिकाको आइतबार अन्तिम दिन भएकाले आज नभरेपछि छुटिहालिन्छ भन्ने लागेर गाउँगाउँबाट बिहानैदेखि मानिस आएका थिए । जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले केही दिनयता मतदाता नामावली भर्नेको संख्या बढेको जानकारी दिनुभयो । उहाँका अनुसार, साउनयता २० हजार मानिसले मतदाता नामावली भरेका छन् । त्यसमा ५ सयजति बाहिरी जिल्लाका छन् ।

सडकसम्म लामो भीड हेर्दा जिल्ला निर्वाचन कार्यालयले व्यवस्थापन गर्न नसकेको देखिन्थ्यो । धेरै मानिस आउँदा भएका जनशक्तिले थेग्न सकेको थिएन । जिल्ला निर्वाचन कार्यालयको दैनिक तीन सयदेखि तीन सय पचास जनाको मतदाता नामावली भर्न सक्ने जनशक्ति रहेको छ । कार्यालय प्रमुख सुवेदीले शुक्रबार राती नौ बजेसम्म बसेर ५ सय जनाको नामावली संकलन गरेको बताउनुभयो । आइतबार कार्यालय परिसरभित्र र बाहिर सडकमा गरेर एक हजार बढी मानिस थिए ।

सरकारले निर्वाचनको तयारी गरिरहँदा मतदाता नामावली भर्ने बढेका छन् । नेता तथा जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालय परिसरमा पुगेर सहजीकरण गरेको देखिन्थ्यो । चुनावमा होमिन तयारी गरेका नेताहरु आ–आफ्ना समर्थकको मतदाता नामावली भर्न व्यस्त देखिन्थे । केहीले लाइनमै पानी बाँडिरहेका थिए ।

केही दिनयता नागरिकता लिनेको संख्या पनि बढेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले अहिले दैनिक एक सय ३५ वटासम्म नागरिकता गइरहेको जानकारी दिनुभयो । ‘१५ दिनदेखि नागरिकता लिने बढेका छन्, प्रशासकीय अधिकृत सोनकरले भन्नुभयो, पहिला दैनिक ५०/६० वटा नागरिकता वितरण भइरहेको थियो भने अहिले एक सय ३० देखि ३५ वटासम्म वितरण भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्