सावधानीको खाँचो



अत्याधिक चिसोका कारण देशैभरको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । लगातार वर्षा र हिमपातको कारण बढेको चिसोबाट मानवीय क्षति हुन थालेको छ । चिसोबाट बच्न घरभित्र हिटर बालेर छाड्ने, कोइला ताप्ने, दाउरा बाल्ने काम सामान्य बनेको छ । यस्तो सामग्री प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । यस्तै सावधानी अपनाउन नसक्दा बुधबार राति नेपालगञ्जमा दुःखद घटना भयो । नेपालगञ्जस्थित कर्णाली स्वाथ्य निर्नेशनालयको मेडिकल स्टोरमा कार्यरत एक व्यक्तिको परिवारका साथ ज्यान गयो ।

नेपालमा मानवीय दुर्घटनाका कारण वर्षेनी करिब पाँच हजार व्यक्तिले ज्यान गुमाउनेगरेको देखिन्छ । गत वर्ष सन् २०२० मा विभिन्न घटनाबाट ४ हजार ५ सय ४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १ सय २ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएको तथ्यांकले देखाउँछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–१९ का कारण गत वर्ष एक हजार ८ सय ५६ को ज्यान गयो । पहिरोबाट ३ सय ३ ले ज्यान गुमाए, बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भए । यस्तै, सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनाका कारण ५४ जनाले ज्यान गुमाएको वार्षिक तथ्यांक छ । बन्द कोठामा कार्बनमनोअक्साइड धेरै भएर अक्सिजनको कमी भएका कारण अधिकांश यस्ता दुखद घटना हुनेगरेका छन् । नेपालगञ्जको घटना पनि त्यस्तै हो । ढोका थुनेर आगो बालेर सुत्न हुदैन भन्ने विषयमा जानकारी हुँदाहुँदै यस्तो घटना भएको छ । विशेषगरी तराईमा यस्तो घटना बढी हुनेगरेको देखिन्छ । न्यानो लुगाको अभावमा कोइला, घुर र अन्य विद्युतीय सामग्री बालेर सुत्ने बानीले सबैलाई दुर्घटनामा पुर्याउँछ । अझ जाडोमा नुहाउँदा वाथरुमको झ्याल ढोका बन्द गरी ग्यास–गिजरको प्रयोगले पनि यस्तो घटना हुनसक्छ । भर्खरै जन्मेको बच्चालाई सेकाउन होस वा बुढाबुढीलाई निमोनियाबाट जोगाउन होस्, रातभर हिटर र कोइला बाल्ने बानीले यस्ता दुर्घटना निम्तिन सक्छन् । आगो बाल्दा वा विद्युतीय सामग्री प्रयोग गर्दा झ्यालढोका खुला गर्नुपर्छ । आफू सुुत्ने बेलामा त्यस्ता सामग्री बन्द गर्नुपर्छ । सकभर न्यानो लुगा लगाउने र राति सुत्दा सिरक ओढ्ने बानी बसाल्नु उचित हुन्छ । आगोबाट हुने अप्रिय घटनाबाट बच्न सावधानी अपनाउनुपर्छ ।

जाडो याममा अक्सिजनको कमीले हुने यस्ता घटनाका समाचारले मिडिया भरिएका हुन्छनन् । आगलागीका घटनाबाट वर्षेनी जर्दनौंको ज्यान गैरहेको छ । जाडोमा कोइला, हिटर वा अन्य सामग्री प्रयोग गर्दा पर्नसक्ने असरको विषयमा स्थानीय सरकारले जनचेतनाका कार्यक्रम सञ्चालन गर्नसकेको देखिन्न । स्थानीय र सञ्चार माध्यमले यस विषयमा जनचेतनामुखी कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसो भएमा आगलागीबाट हुनसक्ने अप्रिय घटनाबाट जोगिन सकिन्छ । त्यसको लागि जनता आफै सचेत हुनुपर्छ । त्यसो भए मात्र अप्रिय घटनाबाट बच्न सकिन्छ । यस विषयमा सावधानी अपनाउनुको विकल्प छैन ।

 

प्रतिक्रिया दिनुहोस्