मिति सारिएका खेलकुदको वर्ष २०२१



काठमाडौं ।

विश्व समुदाय अहिले अंग्रेजी क्यालेन्डर अनुसार नयाँ वर्ष २०२२ लाई स्वागत गर्ने तरखरमा छन् । अन्य क्षेत्रझैं खेल जगत पनि वर्ष २०२१ लाई बिदा गर्ने संघार उभिएको छ । कोराना महामारीका कारण गत वर्ष रोकिएका विश्वकै केही प्रतिष्ठित अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरू यसै वर्ष सम्पन्न भए ।

कोरोनाका कारण वर्ष २०२० मा हुन नसकेका थुप्रै प्रतियोगिताहरू यस वर्ष सम्पन्न भए पनि स्तरीयता र लोकप्रियताको आधारमा भने ओलम्पिक, युरो कप, कोपा अमेरिका, टी–२० विश्वकप जस्ता केही प्रतिष्ठित प्रतियोगिताहरूले भने अधिकांश खेलप्रेमीको ध्यान तान्न सफल भए । ती प्रतियोगिताहरूको सफल आयोजनाले कोरोना महामारीको त्रासबाट तंग्रिदै गरेको अन्तर्राष्ट्रिय खेलमञ्चलाई पुनः चलायमान बनाएको छ । तिनै प्रतियोगिताको संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

टोकियो ओलम्पिक
कोरोना भाइरस (कोभिड–१९) को त्रासका बाबजुद सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेलाबाट परिचित ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद यस वर्ष जापानको टोकियोमा सम्पन्न भयो । ओलम्पिक जापानको टोकियो शहरमा २३ जुलाईदेखि ८ अगस्टसम्म भएको थियो ।

प्रत्येक चार वर्षको अन्तरालमा हुँदै आएको ओलम्पिक गत वर्ष कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो । कोरोनाका कारण एक वर्षपछि सारिदा कोरोनाको त्रास नहटे पनि विभिन्न सतर्कता अपनाउँदै एक भव्य कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक २०२०’ को भव्य समापन भयो । टोकियो ओलम्पिकमा २ सय ६ राष्ट्र र शरणार्थी टोलीका गरी कुल ११ हजार ६ सय ५६ एथ्लिटले ३३ खेलमा विभिन्न ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालसहित १ सय १२ राष्ट्र भने पदकविहीन बने ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, सदा झैं टोकियो ओलम्पिकमा पनि नेपालको चुनौती सहभागितामै सीमित बन्यो । सहभागी पाँचै खेलाडीले दोस्रो चरणको यात्रा तय गर्न सकेनन् । तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउनु टोकियो ओलम्पिकमा नेपालको उपलब्धि रह्यो । पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका थिए । जुडोकी सोनिया भट्ट र एथलेटिक्सकी सरस्वती चौधरीको फितलो प्रदर्शन रह्यो । ओलम्पिकको उद्घाटनमा नेपालबाट पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोकेका थिए । समापनमा नेपालको झण्डा स्वयंसेवकले बोकेका थिए । ओलम्पिकमा ३ सय ४० स्वर्ण ३ सय ३८ रजत र ४ सय दुई काँस्य गरी कुल १ हजार ८० पदकको छिनोफानो भएको थियो । टोकियो ओलम्पिकमा २ सय ५ राष्ट्र र शरणार्थी टोलीमध्ये ६५ राष्ट्रले स्वर्ण जित्दा ९३ राष्ट्रले पदक जित्न सफल भए ।

अमेरिका यसपटक पदक तालिकामा शीर्षस्थानमा रह्यो । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ काँस्य गरी कुल १ सय १३ पदक जित्न सफल भयो । ओलम्पिकको अन्तिम दिन स्वर्ण जित्न नसकेपछि चीन दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काँस्य गरी ८८ पदक जित्न सफल भयो । आयोजक जापान २७, स्वर्ण १४ रजत र १७ काँस्य गरी कुल ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । दक्षिण एसियाली राष्ट्रबाट भारतले एक स्वर्णसहित कुल सात पदक जित्यो । अब ३३औं संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा सन् २०२४ मा हुनेछ ।

इटालीलाई युरो कपको उपाधि
फिफा विश्वकपपछि सर्वाधिक चर्चित फुटबल प्रतियोगिताबाट परिचित छ युरोकप । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन नसकेको युरो कप फुटबल प्रतियोगिता यस वर्ष सम्पन्न भयो । यसअघि, यो प्रतियोगिता २०२० को जुन १२ देखि जुलाई १२ सम्म आयोजना गर्ने मिति तोकिएको थियो । युरो कप शुरुवात भएको ६० वर्षको अवसर पारेर पहिलोपटक युरोपका १३ देश (बेल्जियम, डेनमार्क, हंगेरी, आयरल्यान्ड, नेडरल्यान्ड्स, रोमानिया, स्कटल्यान्ड, स्पेन, अजरबैजान, जर्मनी, इटाली, रसिया र इंग्ल्यान्ड) मा संयुक्तरूपमा आयोजना गर्ने तय भएको थियो । तर, एक वर्ष सरेपछि संयुक्त रूपमा आयोजना गर्ने सूचीमा रहेका देशमध्ये आयरल्यान्ड र बेल्जियमले आयोजक सूचीबाट नाम फिर्ता लिएको थियो ।

एक वर्षपछि धकेलिएसँगै २०२१ को जुन–जुलाईमा भएको युरोपकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि इटालीले दोस्रोपटक जित्न सफल भयो । यसअघि, सन् १९६८ मा पहिलोपटक युरो च्याम्पियन बनेका इटालीले यसपटक फाइनलमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो । निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी र थप ३० मिनेटमा पनि कुनै गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार तीन प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी बन्न सफल भयो ।

अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेसीको पहिलो उपाधि
वर्ष २०२१ मा फुटबलका महान् हस्ती लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भयो । सन् २००५ देखि नै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा अटाएका उनलाई पहिलो प्रतिष्ठित उपाधि उचाल्न १६ वर्ष कुर्नुप¥यो । अर्जेन्टिनाको कप्तानी गरेका मेसीले वर्ष २०२१ को जुन–जुलाईमा सम्पन्न विश्वकै पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि उचालेका हुन् । प्रतियोगिताको फाइनलमा बलियो प्रतिद्वन्दी ब्राजिललाई उसैको घरेलु मैदानमा १–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले उक्त उपाधि जितेका हुन् । अर्जेन्टिनाले यसपटक २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले गरेको गोल नै निर्णायक सावित बनेको थियो ।

ल्याटिन अमेरिकाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करणको मिति २०२० मा तोकिएको थियो । तर, कोरोनाका कारण २०२१ मा सारियो । जसअनुसार प्रतियोगिता गत १३ जुनदेखि १० जुलाईसम्म भएको थियो । त्यति मात्र होइन, कोपाको खेलस्थल पनि परिवर्तन गरियो । २०२० मा अर्जेन्टिना र कोलम्बियाले संयुक्तरूपमा आयोजना गर्ने भनिएको प्रतियोगिता अन्ततः ब्राजिलले आयोजना गरेको थियो । विगतमा दक्षिण अमेरिकी १० राष्ट्रसहित अन्य दुई टिमलाई पनि पाहुना टोलीका रूपमा निमन्त्रणा गरिँदै आए पनि यसपटक कोरोनाका कारण पाहुना टोलीका रूपमा पहिले डाकिएका अस्ट्रेलिया र कतारलाई अन्तिममा सहभागी नगराउने निर्णय भएको थियो । यसपटक कन्मेबोलले प्रत्येक टिममा २८ जना खेलाडी राख्न पाउने नयाँ व्यवस्था समेत लागू गरेको थियो । कोरोनाको असरलाई ध्यान दिँदै महासंघले सहभागी देशका खेलाडीहरूको फिटनेसमा समस्या नपरोस् भनेर २८ जना खेलाडी राख्ने सुविधा दिएको थियो । यसअघि कोपामा एक देशले जम्मा २३ जना मात्रै खेलाडी राख्न पाउने व्यवस्था थियो ।

साफमा नेपाल पहिलोपटक उपविजेता
वर्ष २०२१ मा मिति र खेलस्थल परिवर्तनमा हुने प्रतियोगितामध्ये साउथ एसियन फुटबल फेडरेसन (साफ) च्याम्पियनशिप पनि हो । दक्षिण एसियाको फिफा विश्वकपसरह मानिने यो प्रतियोगताको १३औं संस्करण सुरुमा बंगलादेशमा हुने तय भएको थियो । तर, कोरानाको प्रकोपका कारण दुई पटकसम्म सारियो । अन्ततः प्रतियोगिताबाट बंगलादेशले हात झिकेपछि माल्दिभ्सले आयोजनाको जिम्मा पायो । गत अक्टुबरमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनशिपमा नेपाल पहिलोपटक उपविजेता बन्यो । पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको थियो । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै भारतले आठौंपटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो ।

फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आक्रामक शुरुवात गरेको भारतले शुरुवातमै दुई गोल गर्दै खेलमा पकड जमाएको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले खेलको अन्त्यतिर थप एक गोल बेहोरपछि भारतले आठौंपटक उपाधि पक्का गरेको थियो ।

अस्ट्रेलिया पहिलोपटक टी–२० विश्वकप च्याम्पियन
वर्ष २०२१ को अक्टुबर–नोभेम्बर महिनामा भएको आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि उचाल्दै अस्ट्रेलिया पहिलोपटक टि–ट्वेन्टी विश्वकप च्याम्पियन बन्यो । अस्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलोपटक उपाधि जितेको हो । शीर्षक्रमका ब्याटर मिचेल मार्सको उत्कृष्ट ब्याटिङको सहयोगमा अस्ट्रेलियाले पहिलोपटक आईसिसी टि–२० विश्वकपको उपाधि जित्न सफल भएको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले १८.५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेका थिए ।

उपाधिसँगै अस्ट्रेलियाले १.६ मिलियन डलर पुरस्कार पनि प्राप्त गरेको थियो । उपविजेता न्युजिल्यान्डले भने ८ लाख डलर प्राप्त गरेका थिए । सेमिफाइनलमा पराजित हुने दुई टोली इंग्ल्यान्ड र पाकिस्तानले पनि चार–चार लाख डलर प्राप्त गरेका थिए । यसअघि, सन् २०१० मा भएको टी–२० विश्वकपको फाइनल पुगेका अस्ट्रेलिया इंग्ल्यान्डसँग ७ विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । १७ अक्टुबरदेखि १४ नोभेम्बर सम्म यूएई र ओमानमा भएको यो प्रतियोगिता दुईपटक मिति र स्थान परिवर्तन गरेर खेलाइएको थियो । शुरूमा २०२० को अक्टुबर र नोभेम्बरबीच भारतमा हुने तय भएको यस प्रतियोगिता कोभिडका कारण एक वर्षपछि सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्