हिमाली भेगमा बाक्लो हिमपात, जनजीवन प्रभावित



सिमकोट, हुम्ला, लमजुङ ।

आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ । बिहान मौसम सफा भएर घाम लागेको भए पनि बेलुकीबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको हो ।

हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको थियो । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रमा तापक्रम माइनसमा झरेको छ । हिमपात भएसँगै जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का, बरगाउँ, सिमकोटलगायतका गाउँमा चिसो अत्यधिक बढेको छ ।

लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिका वडाध्यक्ष पाल्जोर तामाङ बताउनुभयो । उहाँका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्किन समेत समस्या भएको हो ।
हिउँले लिमिकोे तापक्रम माइनस १३ पुगेको तामाङको कथन छ । हिउँसँगैको हावाहुरी चलेकाले घरबाट बाहिर निस्कन नपाएपछि जनजीवन प्रभावित भएको छ । बस्तुुभाउलाई समेत घरमै घाँस हालेर राखिएको उहाँको कथन छ ।

मनाङमा पनि हिमपात
हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामेमा पनि हिमपात भएको छ । शनिबार साँझबाट हल्का हिमपात भएको थियो भने आइतबारबाट बढी पर्न थालेको थियो । हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार यसअघि गत शुक्रबार सदमुकाम चामे बजार र आसपासका क्षेत्रमा हिउँ परेको थियो । आइतबार चामेबजार र आसपासका क्षेत्र, नासों गाउँपालिकाको तिल्चे क्षेत्रमा हिमपात भएको छ । हिपपात भएपछि अत्यधिक मात्रमा चिसो बढेको मनाङ प्रशासनले जनाएको छ । अत्याधिक चिसोका कारण खोला खोल्सा र पिउनका लागि ल्याइएको पानी पाइपभित्रै जम्न थालेको मनाङका स्थानीयले बताएका छन् ।

माथिल्लो क्षेत्रमा हिउँ पर्न शुरु भएपछि अत्यधिक चिसो हुने भएका कारण नागरिकलाई घरबाहिर निस्कन कठिन भएको छ । केही मनाङे भने घर कुरुवा राखेर लमजुङ, काठमाडौं, पोखरा, चितवन लगायतका जिल्लामा झरी सकेका छन् । स्थानीयवासीसँगै सरकारी कार्यालयका कर्मचारीसमेत जाडो छल्नका लागि जिल्ला छोडी बिदामा अन्यत्र जाने गर्दछन् । चिसो मौषममा माथिल्लो मनाङमा तापक्रम माइनस २० डिग्री सेन्टिग्रेटभन्दा तल हुने प्रजिअ आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्