मालढुंगा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने



पर्वत ।

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने पर्वतको मालढुंगादेखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाको बैठकले यही पुस १५ गतेदेखि २०७८ माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत–जावत बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले पुस १५ देखि माघ १४ गतेसम्म प्रत्येक दिन बिहान १०:३० देखि दिउँसो ३:३० सम्म मालढुंगा–बेनी सडकमा यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मालढुंगा–बेनी सडक निर्माणको कामलाई सहज रूपमा गति दिन यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको कथन छ । पर्वतको कुस्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए । १३ किमि सडक प्रभावित क्षेत्रमा पर्ने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, वडा नम्बर ४ का अध्यक्ष भीष्म मल्ललगायत सरोकारवाला र सुरक्षा अधिकारीको उपस्थितिमा बैठक बसेको थियो ।

बैठकले सवारी आवत–जावत बन्द गरिएको अवधिमा सवारीसाधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यवश्यक सवारीसाधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ । मालढुंगा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओम कारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको अनुकूल मौसम भएको समयमा सडक निर्माणलाई तीव्रता दिन सवारीसाधन रोकेर काम गर्न समय मागिएको बताउनुभयो ।

मालढुंगा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ । हाल कालोपत्रेसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर १ मिटरको नाली र २ लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्