खबरदार, थुक्नुहोला नि !



बीबीसी न्युज ।

तस्वीरमा जथाभावी थुक्ने बानीविरुद्ध जनचेतना बढाउने उद्देश्यले बनाइएको प्रचार सामग्रीका अगाडि एक महिला हिँडिरहेकी छन् । भारतको व्यापारिक शहर मुम्बईको यस दृश्यले मुलुकभर चलाइएको थुकाईविरुद्धको अभियानको प्रतिनिधित्व गर्दछ ।

कोभिडको संक्रमण बढिरहेका बेला स्वास्थ्य–सफाइ अभियन्ताहरुले सार्वजनिक स्थानमा थुक्दा हुने जोखिमका बारेमा जनचेतना बढाइरहेका छन् । सन् २०२१ को सुरुमा राजा र प्रीति नरसिंहनले ‘सार्वजनिक स्थानमा नथुकौं’ भन्दै शुरु गरेको अभियान अहिले भारतभर जारी छ । यी दम्पतीले कारमा बसेर छतमा बाँधेको माइक बजाउँदै यो सन्देश दिँदै शहर–बजार डुलेर जनचेतना फैलाउन शुरु गरेका थिए ।

भारतका विभिन्न स्मारक तथा ऐतिहासिक सार्वजनिक स्थलमा जथाभावी थुकेकै कारण विरूप देखिन्छ । कोलकाताको हाउडा पुल त्यो क्षेत्रको ऐतिहासिक भौतिक सम्पत्ति हो । तर पान, गुड्खा र खकारयुक्त थुकका कारण त्यो विरूप भएको छ । सडकका गल्ली र भवनका भित्ताहरु सबैभन्दा बढी थुकिने ठाउँ हुन् । त्यसो त नरसिंहन दम्पती पुणे शहरमा बस्छन्, तर उनीहरु प्रचार गर्दै मुलुकभर घुमिरहेका छन् । विगत १० वर्ष अघिदेखि नै थुकाईविरुद्धको प्रचारमा लागेका उनीहरुले कोरोनाको विस्तार देखेपछि त्यसको प्रचारमा माइक बोकेरै अभियान शुरु गरेका छन् । पहिला कार्यशाला गोष्ठी चलाउने, अनलाइन र अफलाइन प्रचार गर्ने, स्थानीय नगरपालिकासँग मिलेर सफाइ कार्यमा लाग्ने सबै काम उनीहरुले गरिसकेका छन् । नरसिंहनका अनुसार उनीहरुले पानको पातको चिह्न बनाएर रेल्बे स्टेसनको पर्खालमा ‘जथाभावी सार्वजनिक स्थानमा नथुकौं’ भन्ने सन्देश लेखे । तर, मान्छेहरुले त्यसैमाथि थुकिरहे । उहाँ भन्नुहुन्छ– ‘सुन्दर भित्ताको के दोष छ र थुकेर सजाय दिने !’

उहाँका अनुसार भारतीयमा जथाभावी थुक्ने यति जबरजस्त बाँनी देखियो कि, जहाँ नथुक भन्यो त्यही थुक्ने । नथुक भनेकोमा मान्छेलाई रिस उठ्दोरहेछ । एक जना मानिसले भित्तामा ‘नथुकौं’ भनेर सन्देश दिने पेन्ट गरिरहेका नरसिंहनलाई यसो भन्दै गाली गरे रे– ‘थुकेकोमा तँलाई आपत्ति किन ? के यो तेरो बाबुको सम्पत्ति हो ?’

नरसिंहन दम्पती प्रचार गरिरहने, मान्छेहरू निरन्तर जथाभावी थुकिरहने क्रम चलिरह्यो । तर, जब कोरोना फैलियो, मान्छे थुक्न र थुकको सम्पर्कमा आउन सतर्क हुन थाले, श्रीमती नरसिंहनले अनुभव सुनाइन्– ‘मान्छेले मुलुकभर थुकाईविरुद्धको अभियानलाई अर्ध–आलश्यको विषयका रूपमा हेरेको देखिन्छ । तर, मुलुकलाई नै विश्वले थुकुवाहरुको देश भनेर फोहोरीको संज्ञा दिएको सन्दर्भलाई आलश्यका रूपमा हेर्नु हुँदैन । सार्वजनिक स्थानमा फोहोर फाल्दा वा पिशाब फेर्दा आपत्ति जनाइए पनि थुकाईलाई राज्यले नै सामान्य रूपमा लिएका कारण पनि नागरिकमा चेतना नआएको उहाँको धारणा छ ।

नरसिंहन दम्पतीको अभियानबाट प्रभावित भएर अहिले कतिपय शहरमा युवाहरू स्वयंसेवकका रूपमा संगठित भएर थुकाईविरुद्धको कार्यलाई सघाइरहेका छन् । कसले थुक्छ भनेर पर्खेर बस्ने र थुक्नासाथ कपडाको टालोले पुछिहाल्ने पनि गर्न थालेका छन् ।

कोभिड शुरु भएपछि थुकका छिट्टामा कोरोना भाइरस हुने र त्यसले आम व्यक्तिलाई संक्रमित बनाउने भएपछि राज्यले नै थुकुवाहरुलाई कारबाही गर्न थाल्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले नै जथाभावी सार्वजनिक स्थानमा नथुकौं भनेर देशव्यापी आह्वान नै गरे । त्यसो त सन् २०१६ मै स्वास्थ्यमन्त्रीले संसद्मा बोल्दै सभामुखको ध्यान यसरी आकर्षित गरेका थिए– ‘श्रीमान्, भारत थुकुवाहरुको देश भयो । कुनै कारणले दिक्क लाग्यो भने प्याच्च थुक्यो, रिस उठे पनि थुकेकै छ । जहाँसुकै हरेक ठाउँमा जुनसुकै बेला हामी थुकिरहेका छौं ।’
‘कोरोनाले भारतीयको थुक्ने बानीमा सुधार ल्याउन सघायो भने यसलाई सकारात्मक रूपमै लिनुपर्छ ।’ –नरसिंहन भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्