जब पहिलो मन्त्री जन्मगाउँ पुगे…



हेटौंडा ।

मकवानपुरको अतिदुर्गम गाउँ, सोही गाउँका पहिलो मन्त्री, त्यसमा पनि सीमान्तकृत समुदायका । मन्त्री बनेपछि जनमस्थल विकट राक्सिराङ गाउँपालिका–७ धिराङमा पुग्नुभएका वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङलाई स्थानीयले निकै स्वागत गरे ।

उहाँ राज्यमन्त्री नियुक्त भएको तेस्रो दिन जन्मगाउँ पुग्नुभएको हो । जहाँ उहाँलाई स्थानीय र आफन्तजनले आफ्नै ढंगले भव्य स्वागत गरेको दृश्यले साक्षीले निकै रमाइलो महसुस गरे । त्यहाँ उहाँले स्थानीयसँग फोटो खिचाउनुभयो, दिनभर सँगै बस्नुभयो । र, भन्नुभयो– ‘आज सरकारी झण्डावाला गाडी लिएर गाउँ आउने अवस्था बनाउन हाम्रो समुदाय सक्षम भएको छ । चितवनको भण्डारा हुँदै मलेखु पुग्ने सडकखण्ड भएर धिराङ पुग्ने सडकको परिकल्पनाकारसमेत रहनुभएका राज्यमन्त्री चेपाङ सरकारी गाडी चढेर गाउँ पुग्दा स्थानीयको हर्षको सीमा रहेन । थाकलटार हुँदै चितवनको भू–भाग भएर अघि बढ्ने उक्त सडकको ट्रयाक खुलेपछि हिउँदमा सजिलै सवारी सञ्चालन हुन सक्ने अवस्था छ । तर, उहाँ सोमबार चितवनको लोथर बजार भएर करिब ८ घण्टा लगाएर धिराङ पुग्नुभएको थियो ।

धिराङ पुग्दा उहाँलाई वृद्ध, बालबालिका, युवाले स्वागत र सम्मान गरे । सडक, शिक्षा र स्वास्थ्य सेवा सुधारका लागि गाउँलेले उहाँसँग माग गरेका थिए । राज्यमन्त्री चेपाङले बाटोमा भेटिएका स्थानीयका कुरा सुन्दै अगाडि बढ्नुभएको थियो । उहाँले धिराङमा अब ४ बेडको अस्पताल निर्माण कार्य पनि अघि बढ्ने बताउनुभयो । चेपाङ जातिको बाक्लो बसोबास रहेको धिराङ आर्थिक विपन्नता र अभाव खेपिरहेको चेपाङ बस्ती हो ।

आफ्नै गाउँका एक साधारण मानिस सन्तबहादुर राज्यमन्त्री बनेको खबर सुनेपछि आफूहरु उहाँलाई भेट्न निकै लालायित भएको स्थानीय रामबहादुर चेपाङले बताउनुभयो । उहाँले मन्त्रीलाई भेटेर खादा, माला लगाउँदै विभिन्न टोलमा मन्त्री आएको खबर गरी स्वागत र सम्मानको व्यवस्था मिलाउनुभएको थियो । पहिलोपटक चेपाङ समुदायबाट प्रदेश सरकारमा मकवानपुरका चेपाङ राज्यमन्त्री बन्नुभएको हो । मकवानपुरको अतिविकट गाउँका चेपाङले शपथपश्चात् सिंगो चेपाङ समुदायका निम्ति आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । करिब ४६ वर्षीय चेपाङ २०४८ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएको हो ।

उहाँले सरकारले घरभाडाबापत दिने पैसाबाट चेपाङहरुको स्वास्थ्य बीमा गर्ने उद्घोष गर्नुभयो । चेपाङ समुदायमा बालविवाह नियन्त्रण गर्न पहल गर्ने प्रतिवद्धता पनि उहाँले स्थानीयमाझ व्यक्त गर्नुभयो । उक्त विकट गाउँका विपन्न चेपाङ समुदायमा १२ वर्षदेखि विवाह हुने गर्दछ । राज्यमन्त्री चेपाङले भन्नुभयो– ‘गाउँमा थप भौतिक विकासका लागि उहाँहरुको ठूलो अपेक्षा छ । म उहाँहरुको अपेक्षा पूरा गर्न लागिपर्नेछु ।’

पहिलो संविधानसभा सदस्य एमालेबाट मकवानपुरका गोविन्दराम चेपाङ र माओवादीबाट गोरखाकी राममाया चेपाङ बन्न सफल हुनुभएको थियो । दोस्रो संविधानसभामा चेपाङको उपस्थिति नै रहेन ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका ५९ जनजातिमध्ये चेपाङ एक हो । २०६८ को जनगणनाअनुसार चेपाङको जनसंख्या ६८ हजार जति छ । यिनीहरु मकवानपुर, धादिङ, चितवन, गोरखा, लमजुङ र तनहुँमा छरिएका बसेको पाइन्छ । चेपाङको जीवन वन–जंगल र जमिनसँग अति नजिकसँग जोडिएको छ । त्यसैले उनीहरुको बसोबास वन–जंगलनजिक, भिरालो परेको जमिन, खोलानजिक छरिएर रहेको पाइन्छ । उनीहरुको पुख्र्यौली पेसा खोरिया खेती हो । हाल आएर आधुनिक जीविकोपार्जनका माध्यम कृषि, तरकारी खेती, पशुपालन र व्यापार/व्यावसायतर्फ पनि उक्त समुदाय उन्मुख छ ।

चेपाङको मुख्य बसोबास क्षेत्रमा च्युरीको रुख पाइन्छ । यसले उनीहरुको पहिचान बोकेको पाइन्छ । २०३४ सालको तत्कालीन राजाको भ्रमणपछि उनीहरुले आफ्नो जातीय नाम चेपाङबाट ‘प्रजा’ बनाए । जुन बेला राजा वीरेन्द्रले अति गरिबीको कारण ‘प्रजा भन्नू’ भनी आदेश गरे । २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागू गरियो । चेपाङको आफ्नै मातृभाषा छ । यिनीहरुको भाषा भोट–बर्मेली परिवारसँग मिल्दोजिल्दो छ । चेपाङको परम्परागत धर्म प्राकृतिक धर्म हो, जसअनुरूप चेपाङले रुखलाई पूजा गर्छन् ।

प्रतिक्रिया दिनुहोस्