प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह निर्माण



काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेसँगै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह निर्माण गरिएको छ । देशभरबाट सहभागी झन्डै १७ सय प्रतिनिधिमध्येबाट निर्माण गरिएको २५ समूहमा छलफलका लागि टोली नेता पनि चयन गरिएको छ ।

त्यस्तै, बन्द सत्रका लागि कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल पनि चयन गरिएको छ । अध्यक्ष मण्डलमा गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रूपा महर्जन रहनुभएको छ । बन्द सत्रमा पार्टी अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको थियो ।

स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको पार्टीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय रहने र अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । मस्यौदामा केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुस्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्षमुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको मस्यौदामा पदाधिकारी र सबै तहका कमिटीमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।

प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता गुरुङले प्रस्तुत गर्नुभएको विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिलाई २५ वटा समूहमा विभाजन गरिएको कार्यालय सचिव श्रीराम ढुंगेलले बताउनुभयो । प्रज्ञा भवनमा स्थान अभावको कारण माओवादीको समूहगत छलफल भने फरक–फरक स्थानमा हुने भएको छ । समूहगत छलफल प्रज्ञा भवनसँगै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा हुने भएको छ । ज्येष्ठ कम्युनिस्ट मञ्च समन्वयको जिम्मेवारी एनके प्रसाईंलाई दिइएको छ भने छलफल प्रज्ञा भवनको सभाहलको मुख्य भागमा हुनेछ ।

सल्लाहकारहरूको समूहगत छलफल प्रज्ञा भवनको दायाँबायाँ हलमा हुनेछ । समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ को छलफल प्रज्ञा भवनको भानुभक्त हलमा हुनेछ र त्यसको समन्वयको जिम्मेवारी हर्क नेम्वाङले पाउनुभएको छ । समूह ६ र ७ को छलफल प्रज्ञा भवनको पारिजात हलमा हुनेछ भने समन्वयको जिम्मेवारी गणेश साहलाई दिइएको छ । समूह ८ र ९ को छलफल प्रज्ञा भवनकै सिद्धिचरण हलमा हुनेछ । उक्त छलफल समन्वयको जिम्मेवारी चक्रपाणि खनाललाई दिइएको छ । समूह १० र ११ को छलफल भने पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा हुनेछ । उक्त समूहको समन्वय गायत्री गुरुङले गर्नुहुनेछ ।

पेरिसडाँडामा तोकिएको समूह १२ को छलफलको समन्वय लक्ष्मण पन्तले गर्नुहुनेछ । समूह १३ र १४ को छलफल भने विमला केसीको समन्वयमा ए–वान पार्टी प्यालेसमा हुनेछ । समूह १५ र १६ छलफल पनि ए–वान पार्टी प्यालेसमै खगराज भट्टको समन्वयमा हुनेछ । समूह १७ र १८ को छलफल क्वालिटी बैंकेट बुद्धनगरमा हुनेछ भने समन्वयको जिम्मेवारी मायाप्रसाद शर्मालाई दिइएको छ । समूह १९ को छलफल पनि क्वालिटी बैंकेट बुद्धनगरमै जगत सिंखडाको समन्वयमा हुनेछ । समूह २० र २१ को छलफल क्रिस्टल पार्टी प्यालेस बिजुली बजारमा हुनेछ भने समन्वय गर्ने जिम्मेवारी कृष्ण अधिकारीलाई दिइएको छ । समूह २२ र २३ को छलफल सरल सहयात्रीको समन्वयमा काठमाडौंको बैंकेट थापागाउँमा हुनेछ । सोही बैंकटमा विष्णुपुकार श्रेष्ठको समन्वयमा समूह २४ को छलफल हुनेछ । सोही बैंकेटमा समूह २५ को पनि छलफल हुनेछ । जसको समन्वय गर्ने जिम्मेवारी अमृता थापामगरलाई दिइएको छ ।

केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने कार्यक्रम तय भएको छ । सम्बन्धित समूहको बैठकले समूह प्रमुख चयन गर्नेछ । मंगलबार दिनभर समूहगत छलफल हुनेछ भने बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्