सीमित स्रोत–साधनले सेवा प्रवाहमा चुनौती



जनतालाई सहज तरिकाले सरकारी सेवा पुर्याउने तथा जवाफदेही भएका प्रशासकका रूपमा चिनिनुहुन्छ स्याङ्जाको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख नवराज बराल । इलाका प्रशासनलाई जनउत्तरदायी बनाई जनतालाई सेवा–सुविधा दिन लागिपरेका प्रमुख बरालसँग नेपाल समाचारपत्र दैनिकका लागि स्याङ्जा संवाददाता अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंशः

इलाका प्रशासन कार्यालय वालिङमा प्रमुखको जिम्मेवारी लिएर आउँदा यहाँको वातावरण कस्तो लाग्यो ?
नेपाल सरकार गुह मन्त्रालयको मिति २०७७ माघ २५ गतेको निर्णयबाट यस कार्यालयमा प्रमुखको जिम्मेवारीमा पदस्थापन भएको हुँ । यसअघि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा करिब एक वर्ष सेवा गरेकाले यस इलाका क्षेत्रका कतिपय विषयमा जानकारी भएको कारण समग्र वातावरणलाई बुझ्न असहज भएन । इलाका क्षेत्रभित्र शासन, विकास र सेवा प्रवाहका लागि स्थापित संरचना, संस्थाको जनमुखी कार्यशैली, सवल, सक्षम नेतृत्व, औपचारिक तथा अनौपचारिक गैरसरकारी संस्था, नागरिक समाजको सकारात्मक भूमिका, विशिष्ट भौगोलिक अवस्था एवं पारस्पारिक सामाजिक सांस्कृतिक परिवेशका कारण समग्र वातावरणीय परिवेश अनुकूल र गतिशील रहेको अनुभव गरें ।

कार्यालयको प्रशासन, सेवा प्रवाह र जनजीविकाका सवालमा तपाईंको योजना के छ ?
इलाका क्षेत्रभित्र भयरहित सुरक्षा प्रबन्ध र अपराध नियन्त्रण गर्न सरोकारवाला निकायसँग प्रभावकारी समन्वय तथा सहकार्य गर्ने, प्रचलित कानुन तथा जिम्मेवारी तोकिएका सेवा प्रवाहलाई बढीभन्दा बढी नागरिकमैत्री, प्रविधिमैत्री बनाई जनविश्वास हासिल गर्ने, इलाका क्षेत्रभित्रका सरकारी कार्यालय तथा सेवा प्रवाह गर्ने अन्य गैरसरकारी संघ–संस्थाको कार्य प्रणालीलाई गुनासोरहित बनाई प्रभावकारी समन्वय, सहकार्य र अनुगमन गर्ने, यसै आर्थिक वर्ष २०७८/०७९ सम्ममा यस कार्यालयको आफ्नै भवन निर्माण कार्यलाई सम्पन्न गरी सेवा प्रवाह व्यवस्था मिलाउने योजना रहेको छ ।

परम्परागत सेवा प्रवाहको शैलीबाट नागरिक सन्तुष्टि हासिल गर्न नसकिने हुँदा प्रशासन र सेवाग्राही बीच असल सम्बन्ध स्थापित हुन सक्दैन भन्ने विषयलाई कार्यालयले राम्रोसँग बुझेको छ । यसअघि सेवामैत्री वातावरण सिर्जना गर्न चालिएका रणनीतिलाई उच्च प्राथमिकता दिँदै सेवा–प्रवाहलाई छिटो–छरितो र सेवामैत्री बनाउन नवीन शैली, व्यवहार प्रक्रियाको अनुशरण गरिएको छ ।

कार्यालय प्रमुखहरुको सरुवाले प्राथमिकतामा राखिका कामको कार्यान्वयनमा असर परेको देखिन्छ, किन होला ?
कर्मचारी सरुवाको विषय नियमित प्रक्रिया नै हो । प्रमुखको सरुवा हुँदैमा प्राथमिकता परिवर्तन हुने वा निरन्तरता नपाउने विषयसँग आंशिकरूपमा सहमति जनाउन सकिन्छ तर यस विषयलाई हल गर्न व्यक्तिगत दृष्टिकोणबाट निर्धारित भएका प्राथमिकतालाई संस्थाको प्राथमिकताका रूपमा आन्तरीकरण गरी कार्यान्वयन गर्दा कर्मचारीको सरुवापछि पनि प्राथमिकताका एजेन्डाहरुले निरन्तरता र दिगोपना हासिल गर्दछन् भन्ने मलाई लाग्छ ।

यस कार्यालय मातहतका कतिपय कार्यालयमा कर्मचारी व्यवस्थापन फितलो देखिन्छ, यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
सीमित स्रोत साधन र बढ्दो कार्यबोझका कारण इलाका क्षेत्रका प्रशासन, मालपोत, नापी जस्ता कार्यालयमा सेवा–प्रवाह चुनौतीपूर्ण भएको विषयसँग सहमत छु । खास गरी, दरबन्दीबमोजिम कर्मचारी नहुँदा समस्या सिर्जना भएकै हो । समय नपुग्दै कर्मचारी सरुवा हुने, नयाँ कर्मचारी समयमै नआउने अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायमा जानकारी गराउने, रिक्त दरबन्दीअनुसार लोकसेवा आयोगमा माग फारम पठाउने कार्य गरी यसको समाधान गर्नेछु ।

पछिल्लो समय स्थानीय प्रशासनले प्रवाह गर्ने सेवा र अन्य भूमिकाका विषयमा पनि केही भनिदिनुस् न ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, विकास गतिविधिको समन्वय तथा सहजीकरण, सेवा प्रवाहमा सुशासन कायम, विपद व्यवस्थापन जस्ता विषय नै स्थानीय प्रशासनका प्रमुख जिम्मेवारीका कार्य हुन् । साथै संघीय सरकारका केही अधिकार क्षेत्रभित्रका सार्वजनिक सेवा प्रवाह (नागरिकता, पासपोर्ट, दलित, जनजाति प्रमाणित, संघ–संस्था, दर्ता नवीकरण हात–हतियार नवीकरण र दर्ता जस्ता कार्य जिम्मेवारी पनि स्थानीय प्रशासन कै जिम्मेवारीका विषय नै हुन् । यसबाहेक नेपाल सरकार कार्य विभाजन नियमावली–२०७४ बमोजिम अन्य निकायमा नतोकिएका विषयसमेत स्थानीय प्रशासनअन्तर्गत पर्ने हुँदा आफैंमा संवेदनशील सहजकर्ता, समन्वयकर्ता, परिचालक, कार्यान्वयनकर्ता जस्ता भूमिका निर्वाह गर्दै आएको छु ।

इलाका प्रहरी कार्यालय र स्थानीय तह बीचको सम्बन्धलाई कसरी अगाडि बढाइरहनुभएको छ ?
यस इलाका प्रशासनको कार्य क्षेत्र वालिङ, गल्याङ र चापाकोट नगरपालिका पूर्ण, कालीगण्डकी गाउँपालिका पूर्ण तथा भीरकोट बिरुवा र हरिनासका केही वडाहरु पर्दछन् । उल्लेखित स्थानीय तह र इलाका प्रशासन कार्यालय बीच सोझो र रेखीय सम्बन्ध नै रहेको हुन्छ । दुवै निकायको उद्देश्य नागरिकमैत्री शासन, विकास र सेवा प्रवाह भएका कारण उद्देश्य प्राप्ति गर्न नियमित रूपमा छलफल, संवाद, चुनौती जस्ता विषयमा समन्वयात्मक ढंगबाट कार्य भइरहेको छ । हामी अहिले संघीय सरकारको प्रतिनिधिका रूपमा छौं । धेरैजसो काम स्थानीय तहले गर्ने गर्दछ । यद्दपि संघीय सरकारका काम पनि धेरै छन् । हामीसँग स्थानीय, प्रदेश र संघीय गरी ३ वटा सरकार छ । एकले अर्कोको सहयोगबिना प्रगति गर्नै सक्दैनौं । यसर्थ, हामी आ–आफ्नो तहबाट एक–अर्कोमा ‘कनेक्टेड’ छौं ।

अन्त्यमा नेपाल समाचारपत्रमार्फत आम नागरिकलाई केही भन्नु छ कि ?
सार्वजनिक सेवा प्रदान गर्ने सरकारी निकायको कर्तव्य हो भने सरल, सहज तरिकाबाट सेवा प्राप्त गर्नु नागरिकको अधिकार हो । सेवा प्रवाहलाई प्रभावकारी बनाउन दुवै पक्षको साझा जिम्मेवारी रहन्छ । त्यस कारण इलाका क्षेत्रबाट प्रवाह हुने सबै सार्वजनिक सरोकारको विषयमा ज्ञान लिने, रचनात्मक सुझाव दिने र संलग्न हुने जस्ता विषयमा ध्यान पुर्याउन अनुरोध गर्दछु । यस क्षेत्रको विकासके निम्ति सबै पक्ष एक भएर अघि बढ्नु जरुरी छ । एकले अर्काको कुरा काटेर जिल्लाको विकास हुँदैन । हामी एक भएर हिँडेमात्र समग्र विकास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्