एमसीसी र सत्ताको चटक



यतिखेर कोरोनाको ‘ओमिक्रेन्ट’ नामक तेस्रो भेरिएन्टले अमेरिका, बेलायत, युरोप र अफ्रिकालगायत संसारभरका ७७ भन्दा बढी देश तबातबा भैरहेका बेला हाम्रो देशमा भने राजनीतिका कुम्भमेलाहरू आयोजना गरेर जनतालाई भेडारूपमा एकत्रित गर्ने महानाटकहरू मञ्चन भैरहेका छन् ।

अझ खासगरी एमाले, राप्रापा र कांग्रेसको महाधिवेशनका कारण राष्ट्रिय राजनीति विनाबिच्चामा तातेको अवस्था छ । कोही कसैसँग राम्रो र अनुकरणीय कुराहरू लिने मानसिकतामा पटक्कै छैनन् । सबैलाई आफ्नो पद सुरक्षित गरेर महान् लोकतन्त्रवादी भएको जो देखाउनु छ, त्यसैमा लागलाठी गरी नेपाली राजनीतिक दलका नेताहरू आत्मप्रवञ्चना गरिरहेका छन् । यो कतिको व्यावहारिक हुन्छ या हुँदैन, परख गर्नचाहिँ अबका लगालगी हुने केन्द्रीय, प्रादेशिक र स्थानीय तहकै चुनावी परिणामलाई व्यग्रतापूर्वक प्रतीक्षा गर्नुको विकल्प नै छैन ।

नेपाली राजनीति जहिल्यै वृत्तमा घुम्छ । यो यसरी घुमिरहेको छ– सात सालदेखि । कहिले संविधानसभा, कहिले लोकतन्त्र, कहिले समावेशी प्रजातन्त्र त कहिले नयाँ–नयाँ फर्मुला जोडेर उन्नत प्रजातन्त्रका नाममा । जनताको अझ भुइँ–जनताको वास्तविकता विकराल छ । कोरोनाले थिल्थिलो भएको अर्थतन्त्रले टाउको उठाउन पाएको छैन, फेरि तेस्रो भेरिएन्टको कुरा बजारभर छ्याप्पै भैसकेको छ ।

उसो त बजार यतिखेर एमसीसी संसद्बाट पास गराउनका लागि कांग्रेसले प्रतिपक्षी दल नेकपा एमालेलाई मन्त्रणा गरिरहेको देखिन्छ भने यी दुई दलबाहेक सम्पूर्ण साना दलहरू एन्टी एमसीसी मेन्टालिटीमा छन् । यो भनेको संसद्बाट पास गरे पनि बाहिर चुनावका यज्ञमा एमसीसीको निराजन (आरती) बालेर र भोट बैंक उकास्ने र दुई अर्थी कुरा बोलेर सकेजति भोट आफूतिर तान्ने मनसाय हो । जानकारहरूका अनुसार एमालेले अहिले यही चाल चलिरहेको छ । यही माहोल, समय र परिस्थिति रहिरहेमा ८/१० लाख मतको सुक्रीविक्री आउँदो चुनावमा सजिलै गर्न सकिने एमाले धोको रहेको छ । समयको रफ्तार कसरी बग्दछ, त्यो अहिले यसै भन्न सकिन्न । कारण पूरै जनताले एमसीसी नकारेको अवस्था छ भने सबै पार्टीका नेताहरूलाई यो वा त्यो बहानामा कसैगरी एमसीसी नभई भएको छैन ।

कांग्रेसको महाधिवेशनको पूरै परिणाम लगभग आइसक्यो तर यो हिउँदमा सम्पन्न भएका एमाले र राप्रपाका अधिवेशनलाई तुलना गर्दा हारिजिती राप्रपाले युवा पुस्तामा आफ्नो नेतृत्व हस्तान्तरण गरेर समाजमा नयाँ सन्देश दिन सफल भएको छ भने एमाले र कांग्रेसचाहिँ पुरानै ढर्रामा देखिए । यद्यपि महामन्त्रीमा विजय हासिल गरेका दुई युवा गगन थापा र विश्वप्रकाश शर्माको शानदार विजयलाई हेर्दा केही शान्तिको श्वास लिन सक्ने कुरा तमाम काग्रेसका कार्यकर्ताहरूले गरेका छन् ।

यति हुँदाहुँदै नेपाली कांग्रेसमा डा. शेखर कोइरालाले नजितेको थकथकी अझै देशैभरि कार्यकर्ताहरूले गरेका छन् । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताको राप र तापको प्रयोग, सदुपयोग र केही दुरुपयोगसमेत गरेर चुनाव जित्न सफल भएका हुन् भन्न अब कुनै ‘ग्लुमी सन्डे’ कुरिरहनु पर्र्दैन । त्यसो त पहिलो चरणको सभापतिको चुनावमा विरोधी खेमामा भएजस्ता देखिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले आ–आफ्ना बाबुदेखि नै विरासत प्राप्त गरेर आफ्नो उँचो बनाएको व्यक्तित्वलाई समेत त्यो चुनावमा पोलेर खाए । दोस्रो चरणमा उनीहरूले देउवाप्रति देखाएको नकारात्मक आशक्तिमा केही भित्री ‘गिभ एन्ड टेक’ भएको हुनसक्छ भन्दै आम कांग्रेसी कार्यकर्ताहरू नै आशंका गरिरहेका छन् ।

जे होस्, विश्व र गगनको जितले तमाम युवाहरूलाई सान्त्वना दिलाएको छ भने सभापतिमा देउवाको पुनरागमनले नेतृत्व हस्तान्तरणको चाहना राखी देशैभरिबाट छनोट भएर आएका प्रतिनिधिहरूको रहरलाई निर्वाचन परिणामले नदेखाएकाले निराश भए । अबको पाँच वर्ष देउवाको निर्णयलाई नै स्वीकार्नुको यी दुई युवा महामन्त्रीहरूको विकल्पसमेत देखिएन तर यिनीहरूले नै भोलिका दिनमा कांग्रेसलाई देखिने, सुनिने र अनुभव गरिने पार्टीका रूपमा विकास गर्छु भनेर जनताका सामु वाचाकसम नै खाएकाले उनीहरूको वास्तविक परीक्षाको घडी बल्ल शुरु भयो ।

मानिसहरू अक्सर झुक्किन्छन्– शेरबहादुर र केपी ओली दुई विपरीत ध्रुवका प्राणी हुन् भनेर, तर कुरो त्यसो होइन । यिनीहरूमा रूपमा राजनीतिक विरोधाभासजस्तो देखिए पनि या एउटा सेन्टर राइट र अर्का सेन्टर लेफ्ट भए पनि सारमा कुरोको चुरो मिल्यो । अहिले यी दुवैलाई सभापति र अध्यक्षमा जिताउन देशभित्रका लाखौंलाख कार्यकर्ताहरूले बेजोड भूमिका खेलेजस्तो देखिन्छ । एक मानेमा त्यो हो पनि र अर्को मानेमा त्यो होइन पनि । अहिले नेपालमा संसद्बाट पास हुन लागेको एमसीसी नामक राष्ट्रघाती सन्धि पारित गराउनका लागि अदृश्य विदेशी तत्वहरूले विरोध र विग्रहका बाबजुद यी दुवैलाई एलेभेन्थ आवरमा रोजेकै हुन् । यो कुरा बाहिरफेर पो कहिरनमा आउँदैनन् तर भित्र–भित्र सेटिङ मिलाएर भएकै यही कुरा हो ।

ओलीले कहिल्यै एमसीसीको विरोध गरेका छैनन् । मात्र उनी के भन्छन् भने, एमसीसीका बारे सरकारको मुख्य धारणा के हो त्यो पहिले बाहिर आउनुपर्छ । हामी यतिखेर प्रतिपक्षी भूमिकामा छौं । प्रतिपक्षी भएपछि हामीले जनताको भाव र भाषा बोल्नै पर्छ । यसरी अङ्ग्रेजीको नाइन (९) लाई आफूतिरबाट हेर्दा नाइन र अर्कोतिरबाट हेर्दा सिक्स देखाइदिएर जनताको आँखामा छारो हाल्ने रणनीतिमा रहेको छ– प्रतिपक्षी नेकपा एमाले ।

बाद–बाँकी सत्ताका गठबन्धन दलहरूको आफ्नो कुनै सपाट एउटा दृष्टिकोण नै बनेको देखिँदैन । यो मामलामा नेपाली कांग्रेसका बीचमा समेत व्यापक असन्तोष र अलमल रहेको छ । नेकपा माओवादी केन्द्रमा समेत एकातिर जनताको मन थुम्थुम्याउनुपर्ने आवश्यकता छ भने अर्कोतिर शक्ति राष्ट्रलाई पगारेर भोलि कथम् आफू सत्तामा गइहालियो भने त्यो बेलाका लागि अहिले नै लगानी गरेर बस्नुपरेको अवस्था छ । यो मानेमा कांग्रेस र नेकपा एमाले पटरीको बीचमा छाडिएका रेलका इन्जिनझैँ भाँतीमा छन्, ती कुनै बेला आवश्यकता परेमा अगाडि र कुनै बेला खाँचो भएमा पछाडिसमेत जान सक्ने गरिरहेका छन् । किन यसो भएको हो ? यसको जवाफ जनता पर्खिरहेका छन् ।

यसो हुनुको एउटा गुह्य कारण छ । यिनीहरू बहुदल आएको यो तीन दशकभन्दा बढी अवधिमा सबैभन्दा धेरैपटक सत्ता सुन्दरीको भोग गर्ने पार्टीमा पर्दछन् । यिनीहरूकै पालामा सबैभन्दा धेरै संस्थागत घोटालाहरू भए । सुन काण्ड त सामान्य घटना नै भैगए, राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई टाट पल्टाउनका लागि यिनका कार्यकर्ताहरूलाई पालैपालो दाइँ गर्ने सुविधा दिइएको छ । मुलुकमा पर्यटनको दिगो रणनीति बनाएर कुनै ठालु राजनीतिक पार्टीका नेता र कार्यकर्ताहरूले नेपालको पहिलो र अहिलेसम्मकै एकमात्र राष्ट्रिय ध्वजावाहक हवाई कम्पनीलाई नसाको रोग भएको बूढो जर्सी गाई बनाएर काम नलाग्ने र मात्र मृत्यु कुर्न बाध्य बनाए ।

नढाँटी र जिब्रो नचपाईकन भन्दा अहिले नेपालमा जे–जति विकृति तथा विसङ्गतिहरू राज्यका औपचारिक संवैधानिक अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा हाकाहाकी भएका छन्, तिनीहरूमा प्रमुख साझेदार भनेकै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको चरम ब्रह्मलुट भएको देखिन्छ ।

पञ्चायतले बचाएर राखेका करिब साना–ठूला गरी २९ सय उद्योग धन्दाहरू नेपाली कांग्रेसको खुला अर्थनीतिको व्यावहारिक कोपभाजनको सिकार बने । त्यसपछि पटक–पटक आउने कहिले नेकपा एमाले र कहिले नेकपाका सरकारहरूले वर्गीय हिसाबले समेत दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक र अपाङ्गता भएका वर्गलाई यो–त्यो सुविधा दिने या माथि ल्याउने भनेर मौखिक कोरसहरू मात्र मिठासयुक्त स्वरमा गाए तर कुनै पार्टीहरूले गरिब माथि आउने कार्यक्रमहरू कङ्क्रिट भिजन देखाएर ल्याउन सकेनन् या ल्याउन नचाहेका हुन् ।

धेरै टाढा जानै पर्दैन । गएको निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता गरी चुनावमा सँगै गएर जुन दुई तिहाइनजिकको मत प्राप्त गरेका थिए, त्यो बेलामा नेपालका सर्वहाराहरू अधिक खुसी भएका पाइन्थे तर जब जति–जति दिन बित्दै गए अनि नेकपाका सरकारले गरेका जनघाती र अलोकप्रिय निर्णयहरूले गर्दा जनताले आँखा चिम्लेर गरेको लोकप्रियताको भूत एक्कासी घटेको पाइयो । विनाबिच्चामा अयोध्यामा मग्न भएर बसेका रामलाई ओलीको ठुटे विद्वताले चितवनको अयोध्यापुरीमा ल्याएर राजनीतिक सेल्टर खोली राख्ने काम गर्यो ।

यसले भोलिका दिनमा राजनीतिक फाइदा पुर्याउला या नपुर्याउला तर जनताको सेन्टिमेन्टसँग बेमौसमको बाजा बजाउँदै खेल्ने काम गरियो । त्यो नकाम हो । साथै पशुपतिमा हालिएको २०० तोलाको जलहरी र पूँजीवादी शक्ति/भक्तिका मतियारहरूबाट चोराइएको भनिएको ११ तोला कम भएको जलाहारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले शङ्काको घेरामा राखेर भ्रष्टाचार विषयमा अनुसन्धान गर्दै कारबाही चलाइरहेको छ ।

नेकपा एक हुँदैका अवस्थामा ओली र माधव नेपालले सार्वजनिक मञ्चमै खाएका होलीवाइन र नेकपाको फुटपश्चात् जब यिनीहरू बाक्लो दाल खान एक–र्कालाई तल्लो स्तरमा ओर्लेर पाँडे गालीको भाँतीमा आएका थिए, त्यस बेला प्रचण्ड र ओलीले जनताका हृदयका अन्तरकुन्तरमा जगेर्ना गरेर राखिराखेका सद्भावलाई समेत राजनीतिक भुत्भुते (खरानी) मा पोलेर खानेसिबाय अरू केही कङ्क्रिट कुरा देशलाई दिन सकेनन् ।

यो एमसीसीको जालो पनि सत्ताको चटकका लागि बिछ्याएको हो । नत्र नेपालजस्तो देशका लागि विद्युतीकरण र यसका बजारीकरणका लागि अहिले शिलान्यास भएका, मध्यसमयमा पुगेका र अन्तिम चरणमा पुगेका विद्युत् आयोजनाहरूलाई संरक्षण मात्र गरेर लैजाने हो भने नेपालमा अब आगामी बीस/पच्चीस वर्षमा उत्पादन हुने विद्युत्ले दक्षिण एसियालाई झलमल्ल बनाउन सक्छ । यो कुरा अहिले क्रियाशील सबै राजनीतिक पार्टीहरू अझ ठूला दलहरूलाई त घामजत्तिकै छर्लङ्ग छ । मात्र तेरो या मेरो भन्ने भावले सत्तामा जान र अकण्टक सत्ता सुन्दरीसँग भोग गर्न पाउने कुरामा बाहेक चाहे एमसीसी होस् या चाहे बीआरआई होस्, यी सन्धिहरूले केही पनि ख्याँस्तैनन् ।

मात्र विदेशी प्रभुको गीत गाएर आफ्नो देशलाई प्रकारान्तरणले कङ्गाल बनाउने हुन् र कालान्तरमा विदेशी हस्तक्षेप लगाउनका लागि पृष्ठभूमि तयार पारिदिने हुन् । यति बोल्नका लागि एमसीसीका धाराधाराहरू रौं चिरा गरेर पढिरहनुपर्दैन कि मात्र त्यसको आशय बुझिदिए हुन्छ । कि कसो ?

प्रतिक्रिया दिनुहोस्