त्रिविका उच्च कर्मचारी नै माओवादीका नेता

राजनीतिमा लाग्ने शिक्षक र कर्मचारीलाई तनाब



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका महत्वपूर्ण महाशखाका प्रमुख नेकपा माओवादी उपत्यका विशेष केन्द्रको प्रदेश कमिटीको सदस्य भएको खुलेको छ । त्रिवि समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारीमा रहनुभएका दीपक तिवारी पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहनुभएको छ । त्रिविका शिक्षक र कर्मचारीको अध्ययन वा कुनै बिदा बस्दा स्वीकृत गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका निमित्त प्रमुख तिवारीलाई प्रदेश कमिटीको सदस्य भएपछि फेसबुकमै बधाई दिइएको छ ।

दलका कार्यकर्ता भएका शिक्षक र कर्मचारीलाई कारबाही गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि राजनीतिमा लागेका शिक्षक र कर्मचारीले दुईमध्ये एक क्षेत्रबाट राजीनामा दिनुपर्ने हुन्छ । महाशाखा प्रमुख तिवारीले आफूले पार्टीबाट असोज मै राजीनामा दिएको बताउनुभएको थियो ।

 

तर, उहाँलाई मंसिरमा बधाई दिएका थिए । तिवारीले नेपाल समाचारपत्रसँग भन्नुभयो – ‘मैले त प्रदेश कमिटीको निर्वाचन हुनुअघि नै राजीनामा दिइसकेको छु । म त्रिविको कर्मचारी हुँ पार्टीमा आबद्ध छैन । उहाँले पार्टीलाई दिएको राजीनामाबारे जानकारी गराउने बताउनुभएको थियो ।

नेपाल समाचारपत्रसँग कुराकानी गर्दै महाशाखा प्रमुख तिवारीले मैले मोबाइलमा राजीनामा दिएको फोटो खिचेको थिएँ । अहिले रहेनछ पछि देखाउनेछु उहाँले भन्नुभयो ।

स्रोतका अनुसार पार्टीको जिम्मेवारीबाट उहाँले राजीनामा दिनुभएको छैन । यसअघि सरस्वती बहुमसखी क्याम्पसका उपप्रध्यापक प्रमोदहरी गुरागाईंले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्विटर ट्विट गर्दै ‘रोटी इमानकै खान्छु, छोडें त्रिविको प्राध्यापन कर्म’ लेख्नुभएको छ । उहाँले ट्विटरमै राजीनामा पत्र पेस गर्नुभएको छ । सञ्चार माध्यममा समाचार आएपछि उहाँले राजीनामा दिनभएको हो । गुरागाईले नेपाली काँग्रेसको १४ औँ महाअधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी दिनुभएको थियो ।

 

त्रिविमा जागिरे भएर राजनीति गर्ने सयभन्दा बढी भएपछि एकले अर्कालाई सिध्याउन धमाधम सूचना दिन थालेका छन् । पछिल्लो उदाहरणको रूपमा दुई जना देखिएका छन् । गुरागाईंले राजीनामा दिए पनि तिवारीले हालसम्म त्रिविको पदबाट राजीनामा दिनुभएको छैन । त्रिभुवन विश्वविद्यालयमा भागबण्डामै उपकुलपति, रजिस्टार र रेक्टरसहितका पदाधिकारी पदाधिकारी, डीन, विभाग, महाशाखा र शाखा प्रमुख, क्याम्पस प्रमुख नियुक्ति भएका छन् । उनीहरूले आफूले पार्टीमा जिम्मेवारी लिएको भए तत्काल छाड्नुपर्ने माग कर्मचारीले राख्न थालेका छन् ।

 

त्रिविका अधिकांश प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापकलगायत शिक्षक र कर्मचारी राजनीतिमा आबद्ध छन् । त्रिविको यो सूचनापछि जागिर वा पार्टीबाट राजीनामा दिने भन्ने विषयमा संकट देखिएको छ । त्रिवि कर्मचारी प्रशासन महाशाखाले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ । त्रिवि कर्मचारी महाशाखाले बिहीबार सार्वजनिक सूचना जारी गरी चेतावनी दिएको थियो ।

त्रिविका प्राध्यापक संघ, संगठन, कर्मचारी संघ, संगठनलगायत राजनीतिक दलका भ्रातृ संगठनमा नेतृत्व तहका कर्मचारी र शिक्षकले राजनीतिक दलको महाधिवेशन लगायतका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेको सूचनाका आधारमा सो चेतावनी दिएको हो । सूचनामा विश्वविद्यालयका शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेद्वार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

सो सूचनामा कुनै पनि दलको सदस्यता लिई वा नलिई उम्मेदवार बन्न बन्देज लगाइएको छ । कुनै दलबाट उम्मेद्वार बन्न चाहेमा मनोनयन दर्ताको दिनुभन्दा १५ दिनअघि नै राजीनामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ । सो नियमको बर्खिलाफमा त्रिविका शिक्षक र कर्मचारीले महाधिवेशन प्रतिनिधि भएको र निर्वाचनमा समेत भाग लिएको पाएपछि त्रिविले सूचना जारी गरेको हो ।

सूचना जारी भएपछि दलमा लागेका शिक्षक र कर्मचारीले कर्मचारी प्रशासन महाशाखामा तत्काल स्पष्टिकरण दिनुपर्ने छ । त्रिवि कर्मचारी संगठनका अध्यक्ष हेम न्यौपानेले केही शिक्षक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएर महाधिवेशनमा भाग लिएको जानकारी पाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्