३० वर्षदेखि एकछत्र नेतृत्व

प्रचण्ड पुनः अध्यक्ष बन्दै



काठमाडौं ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ ।

तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक पहिलो पटक निर्वाचिन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको छ ।
प्रदेश कमिटीको नेतृत्व चयनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आलोचना भएपछि पार्टीले निर्वाचनमार्फत् नै नेतृत्व चयन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको थियो । राष्ट्रिय सम्मेलनलाई माओवादीले नयाँ नेतृत्व चयन, विचार र आगामी भावी कार्यदिशा चयनमा केन्द्रित हुने बताएको छ । सोहीअनुरूप अध्यक्ष प्रचण्डले सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा प्रस्तुत गरिसक्नुभएको छ ।

आगामी नेतृत्व चयनको विषयलाई लिएर माओवादीभित्र बहस शुरू भएको छ । अध्यक्ष प्रचण्डलाई चुनौती दिने गरी अध्यक्षमा कुनै पनि नेताले दाबी नगर्ने भएपछि प्रचण्ड पुनः अध्यक्ष हुनुहुने भएको छ ।

२०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बन्नुभएका उहाँ २०५१ सालमा आएर माओवादी बनाएयता हालसम्म अध्यक्षको भूमिकामा रहनुभएको छ । प्रचण्डकै चाहानामा पार्टी अगाडि बढ्दै आएको छ । पार्टीभित्र एकछत्र राज गर्दै आउनुभएका प्रचण्डपछि पार्टीको नेतृत्व कसले लिने भन्नेमा धेरै नेताहरूको दौडधुप चलेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापालगायतका नेताहरूले साथ छोडेका छन् । प्रचण्डलाई सर्वसम्मतरूपमा अध्यक्ष बनाउने विषयमा पार्टीभित्र विवाद नरहेको नेता हरिबोल गजुरेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–प्रचण्ड सर्वसम्मत रूपमा पुनःपार्टी अध्यक्ष बन्नुहुन्छ, उहाँकोको विकल्प अहिले छैन । पार्टीभित्र प्रचण्डको नेतृत्व सबै नेताहरुले स्वीकार गरेका छन् । प्रचण्ड पुनः अध्यक्ष बन्ने भएसँगै अन्य पदाधिकारीमा पनि प्रचण्डकै चाहनाअनुसार चयन हुनेछन् ।

प्रचण्डपछिको भावी नेताको रूपमा नेताहरूको दौडधुप शुरू भएको छ । विशेषगरी अध्यक्षपछि महासचिव पदमा नेताहरूको आँखा परेको छ । कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेललगायतका नेताहरू महासचिव बन्ने दौडमा आन्तरिक गृहकार्यमा जुटेका छन् महासचिवमा प्रत्यासीले अध्यक्ष प्रचण्डसँग लविङ तीव्र बनाएका छन् ।

राष्ट्रिय सम्मेलनमार्फत माओवादीले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेस गर्ने दाबी गरेको छ । शान्ति प्रक्रियामा आएसँगै २०६४ साल माओवादी देशकै ठूलो पार्टी बनेको थियो । तर, २०६४ यताको १६ वर्षको अवधिमा लामै विभाजनको शृंखला चलेको छ । माओवादीले कमजोर अवस्थामा रहेको पार्टीलाई पुनः विचारमा नयाँपन ल्याएर थप बलियो बनाउने नीति लिएको छ ।

खुला राजनीतिमा आएपछि माओवादी केन्द्रले २०६४, २०७० र २०७४ सालमा तीनपटक लोकतान्त्रिक निर्वाचन लडिसकेको छ । खुला राजनीतिमा आएपछि एक पटकमात्र महाधिवेशन सम्पन्न गरेको माओवादीले पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

माओवादीले २०६९ माघ २० देखि २६ गतेसम्म हेटौंडामा पहिलोपटक महाधिवेशन र त्यसपछि २०७१ वैशाख १८ देखि २३ गतेसम्म विराटनगरमा राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो ।

उक्त महाधिवेशन र सम्मेलनले सर्वसम्मत रूपमा प्रचण्डलाई अध्यक्षमा चयन गरेको थियो । पार्टी विभाजित हुने शृंखलालाई एकीकृत गर्न प्रचण्डले २०७२ सालमा १० वटा कम्युनिस्ट पार्टीसँग एकता गरेर पार्टीलाई ठूलो बनाउने कोसिस गर्नुभएको थियो ।

त्योसँगै २०७३ जेठमा मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीमा रहेका रामबहादुर थापा लगायतका नेताहरू पुनः पार्टीमै फर्किएका थिए । पार्टी खुल्ला राजनीतिमा आउँदा नेतृत्वको दाबी गर्ने मोहन वैद्य, बाबुराम भट्टराई, सिपी गजुरेल, रामबहादुर थापालगायतका नेताहरू अहिले पार्टीबाट अलग भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्