क्लाउड कम्पुटिङमा लर्ड बुद्ध तथा जेनिसको सहकार्य



काठमाडौं, (नेस) ।

क्लाउड कम्पुटिङको प्रयोग अहिले व्यावसायिक प्रतिष्ठानहरुमा बढ्दो रहेको छ । सन् २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलियन डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सुचना प्रविधिको प्रयोगले क्लाउड कम्पुटिङमा दक्ष जनशक्तिको ठूलो माग रहेको छ । यस क्षेत्रमा विश्वव्यापीरुपमा रोजगारीका नयाँ अवसरहरु सिर्जना भएका छन् । व्यवसायीहरुले सफ्टवेयर, इन्फ्रास्ट्रकचर र प्लेटफर्मलाई सेवाको रुपमा ग्रहण गर्दै जाँदा अग्रणी क्लाउड सेवा प्रदायकहरु बढी प्रतिस्पर्धी हुँदै गइरहेका छन् । पछिल्ला ३ वर्षमा यस क्षेत्रमा २२३ प्रतिशतले रोजगार वृद्धि भएको देखिन्छ ।

यस्तो अपार रोजगारीको सम्भावना रहेको क्षेत्र (क्लाउड कम्पुटिङ) मा दक्ष जनशक्ति उत्पादन गर्नको लागि लर्ड बुद्ध एजुकेसन फाउन्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ । यस साझेदारी कार्यक्रमअन्तरगतविद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने छन् ।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले एसिया प्यासिफिक युनिभर्सिटी,मलेसियासँग शैक्षिक सहकार्य गरी नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरमा अध्यापन गराउँदैं आएको छ । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ । कलेजका अध्यक्ष पंकज जलानले यस सहकार्यले उद्योग र औपचारिक शिक्षाबीचको दूरीलाई कम गर्ने विश्वास लिएका छौं । साथै यस कार्यको लागि जेनेस क्लाउड एकेडेमीजस्तो सहयात्री पाउँदा हर्षित भएको बताउनुभयो ।

जेनेस क्लाउड एकेडेमी जेनेस सोलुसनको पहलमा क्लाउड कम्पुटिङमा विद्यार्थीलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो । जेनेस क्लाउड एकेडेमीले सुचना प्रविधि र प्रबन्धनका विद्यार्थीहरुलाई विभिन्न किसिमका उपकरण तथा स्रोतहरु प्रदान गर्ने लक्ष्य राख्दछ जुन उनीहरुले क्लाउड कम्पुटिङको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुको साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वन गर्न सक्ने छन् । जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुयाँलले यस्तो सहकार्यको आवश्यकतामाथि जोड दिँदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जीसीए र जीसीएका सहयात्री संस्थामा इन्टर्नसीप गर्न पाउने बताउनुभयो । कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्