वरीयतामा नेपाल यथावत



काठमाडौं, (नेस) ।

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल यथास्थानमै रहेको छ । बिहीबार जारी गरेको नयाँ वरीयताअनुसार नेपाल १ सय ६९औं स्थानमा अडिग रहेको हो । गत महिना जारी गरेको वरीयतामा पनि १ सय ६९औं स्थानमा नै रहेको थियो । नेपाल दक्षिण एसियाको फिफा वरियतामा तेस्रो स्थानमा छ । त्यस्तै, १ सय चार स्थानमा रहेको भारत दक्षिण एसियाको शीर्षस्थानमा छ । त्यसैगरी, १ सय ५७औं स्थानमा रहेको माल्दिभ्स दोस्रो, १ सय ८५औं स्थानमा भुटान चौथो, १ सय ८६औं स्थानको बंगलादेश पाँचौ, १ सय ९८औं पाकिस्तान छैटौँ र २ सय ४ स्थानको श्रीलंका दक्षिण एसियाको सातौं स्थानमा छ ।

फिफाले वर्ष २०२१ को अन्तिम वरीयता सार्वजनिक गरेको हो । सार्वजनिक वरियताक्रम अनुसार विश्व वरियताको सदाबहादर बेल्जियमले यसपटक पनि नम्बर एकमा आफ्नो पकड यथावत् राखेको छ । बेल्जियम लगातार चौथो वर्ष पनि वरीयताको शीर्ष स्थानमा रहन सफल भएको हो ।

त्यसैगरी, यस वर्ष फिफा वरियतामा सबैभन्दा धेरै प्रगति गर्ने अर्थात् वरीयतामा सुधार गर्ने देश क्यानाडा बनेको छ । क्यानाडाले यस वर्षको अन्तिम वरियता सार्वजनिक हुँदा अघिल्लो वर्षको भन्दा १३०.३२ अंक जोडेर ४०औं स्थानमा चढेको छ । त्यत्ति मात्रै हैन, क्यानाडा २१औं शताब्दीमा सबैभन्दा बढी स्थितिमा सुधार गर्ने देश बनेको फिफाले जनाएको छ । फिफाका अनुसार यस वर्ष २०२१ मा सबैखाले प्रतियोगिताबाट कुल १ हजार १ सय १६ खेल भए, जुन कीर्तिमानी हो ।

यस वर्षको युरो कप विजेता इटालीले नयाँ वरीयताको छैटौं स्थानमा रहेको छ भने कोपा अमेरिका विजेता अर्जेन्टिना पाँचौं स्थानमा रहेको छ । त्यसैगरी, अमेरिका र इंग्ल्यान्डले पनि आफ्नो अवस्थामा सुधार गरेका छन् । तर, यसपटक टप–१० मा कोही पनि नयाँ टिमले प्रवेश पाएन भने टप–१० मा भएको कुनै पनि देशको वरीयता खस्केन ।

यस वर्ष सर्वाधिक म्याच खेल्ने देशहरू अल्जेरिया, कतार, इजिप्ट र ट्युनिसिया हुन् । यी सबैले १६ म्याच खेले । यस वर्ष युरो कप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको बेल्जियम पहिलो स्थानमा रहेको छ । टप–१० मा रहेका देशको वरियता अघिल्लोपटक वरीयता हुँदा जहाँ थियो, डिसेम्बर महिनाको वरीयता आउँदा पनि कुनै परिवर्तन भएको छैन । २०२२ को विश्वकप आयोजक देश कतार नयाँ वरीयताको ५१औं स्थानमा छ ।

दोस्रो स्थानमा ब्राजिल, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड, पाँचौंमा अर्जेन्टिना, छैटौंमा इटाली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा डेनमार्क र १०औं नेदरल्यान्ड्स रहेको छ । जर्मनी भने ११औं स्थानमा मात्रै रहँदा १२औंमा अमेरिका रहेको छ । १३औं स्थानमा स्विट्जरल्यान्ड रहँदा १४औं मेक्सिको तथा १५औं मा क्रोएसिया रहेको छ । त्यसैगरी, १६औं मा कोलम्बिया, १७औं मा उरुग्वे, १८औं मा स्वीडेन, १९औं मा वेल्स र २०औं स्थानमा सेनेगल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्