कतारमा आप्रवासी कामदारको ज्याला वृद्धि



काठमाडौं ।

न्यूनतम ज्यालामा वृद्धि भएयता कतारमा ३ लाखभन्दा बढी आप्रवासी कामदारको ज्यालामा १ हजार रियालभन्दा बढीले बढेको छ । प्रतिमहिना १ हजारभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल पुर्याइएको छ ।

खाना बस्नको राम्रो व्यवस्था भएमा कम्पनीले महिनावारी १ हजार तलब दिने नत्र १ हजार ८ सय तलब दिनैपर्ने व्यवस्था लागू भएको छ । कतारको श्रम मन्त्रालयले निकालेको एक रिपोर्टका अनुसार यो व्यवस्था लागू भएपछि १ हजार रियालभन्दा कम तलब पाइरहेका ३ लाख ८ हजार १ सय ४६ जनाले १ हजार ८ सय रियाल तलब पाउन थालेका थिए ।

कोरोना महामारीको समयमा कामदारलाई काम तथा आम्दानीमा कमी नआओस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार पारेको थियो । जसमार्फत २ लाख ४२ हजार ८ सय ७० जनाले कम्पनी परिवर्तन गरी काम सुचारू गरेका थिए ।

मन्त्रालयद्वारा जारी रिपोर्टमा भनिएको छ– ‘कामदारको सहुलियतका लागि कम्पनीले कन्ट्याक्ट समाप्त भएको सूचनादेखि नयाँ भर्तीसम्मका सबै सूचना अनलाइनमार्फत नै दिइएको थियो । अनलाइन फर्म भरेर कम्पनी परिवर्तन गर्न चाहने ९९ हजार जनाको अनुरोध भने विविध कारणले अस्वीकृत भएको थियो ।’

आगामी वर्ष २०२२ को नोभेम्बर डिसेम्बरमा फुटबल खेलको महामेला आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै आईएलओको अफिस राजधानी दोहामा राख्न दिएर सँगै काम गर्न थालेको हो । हुन त आईएलओको अफिस खुल्नुअघि नै कतारले आप्रवासी कामदारसम्बन्धी नीति नियममा परिमार्जन गर्न थालिसकेको थियो । आईएलओसँगको सहकार्य पछि भने कतार सरकार आप्रवासी कामदारको हकमा गल्फ राज्यमध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ ।

कतार सरकारले घरेलु कामदारको हकमा गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्ट भन्छ– ‘कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ ।’ उनीहरूका लागि मानक रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ ।

घरेलु कामदारलाई अन्य कामदारझैं व्यवहार गर्ने, सेवा सुविधा प्रदान गर्ने, आराम तथा बसोवासको व्यवश्था गर्नेलगायत उनीहरूलाई काम चित्त नबुझेको खण्डमा रोजगारदाता परिवर्तन गर्न सक्ने अधिकार कतार सरकारले प्रदान गरेको छ ।

कतारी श्रम कानुनले तय गरेका अधिकार प्रयोग गरेर श्रम मन्त्रालयले गुनासो टिपाउनका लागि छुट्टै हटलाइनको व्यवस्था गरेको छ भने काम नै गर्न नसक्ने अवस्थामा रहेकाहरूका लागि सेल्टरको व्यवस्था गरिएको छ ।

कतार सरकार पछिल्लो समय नेपालबाट घरेलु श्रमिक लैजाने योजनामा छ । कतारमै झन्डै ४ लाख नेपाली घरेलु कामदारसहित विभिन्न क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्