शहीद सभागृह भत्काएर बहुउद्देश्यीय भवन निश्चित

प्रदेश राजधानीमा पहिलो १३ तले भवन



हेटौंडा ।

करोडौं सकेर पनि पूर्णरुपमा निर्माण सम्पन्न नगरिएको शहीदको नामको सभागृहको नामोनिशान मेटिने गरी वागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो १३ तले भवन निर्माण हुने निश्चित भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, हुप्रचौरमा १३ तले बहुउद्देश्यीय भवन निर्माणका लागि सम्झौता गरिएको हो ।

उपमहानगर मेयर हरिबहादुर महतको रोहवरमा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागार्इं र लामा, रसुवा, बानियाँ जेभी सञ्चालक ऋषि बानियाँबीच सम्झौतामा हस्ताक्षर गरिएको छ । कुल ७७ करोड ९३ लाख ७२ हजार रुपियाँ लागत अनुमान गरेर ठेक्का आह्वान गरिएकोमा ४७ करोड ९३ लाख रुपियाँ ७२ हजार रुपियाँ लागतमा जेभीले ठेक्का सकार गरेर सम्झौता गरिएको छ ।

भवनमा दुई तलाको अन्डरग्राउन्ड, चार लिफ्ट, दुई भर्याङ, सबभन्दा माथि भ्युटावर निर्माण गरिने उपमहानगर प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताउनुभयो । व्यापारिक भवनको सबभन्दामाथि रहने भ्युटावरबाट हेटौंडा र आसपास क्षेत्र सहजरूपमा हेर्न सकिने बताइएको छ ।

तीन वर्षमा काम सक्ने गरी ठेक्का दिइएको उपमहानगर योजना महाशाखा प्रमुख सत्यनारायण साहले बताउनुभयो । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमा सकाइने जेभी सञ्चालक बानियाँले बताउनुभयो ।

लामो समयदेखि निर्माणाधीन शहीद वासुदेव सभागृहपरिसरमा नै उक्त टावर निर्माण गर्न लागिएको हो । तर, उक्त स्थानमा भ्युटावर बनाउने भन्दै हेटौंडा उपमहानगरपालिकाले निर्णय गरेको थियो । करिब १ बिगाहा क्षेत्रमा बन्ने भ्युटावरका लागि उपमहानगरले २ करोड छुट्याएको थियो ।

सभागृहलाई प्रदेशसभा भवनका रूपमा निर्माण गर्न प्रदेश सरकारले पनि अग्रसरता देखाएको थियो । प्रदेशको राजधानी भएपछि उपयुक्त प्रदेशसभा भवन नहुँदा समस्या भएको सन्दर्भमा प्रदेश सरकारले पनि अग्रसरता देखाएको हो । प्रदेश सरकारले यसका लागि २ करोड रुपियाँ विनियोजन गरेको छ ।

सभागृहका लागि २०६३ मा निर्माण सुरु भएर ३ वर्षसम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडाकोषको १ करोड ३० लाख खर्च गरिएको थियो । त्यसपछि सभागृह निर्माणको काम अघि बढ्न सकेन । त्यसैले सभागृहलाई सुधारसाथ अघि बढाउन तत्कालीन समयमा करिब ४ करोड ३५ लाख लाग्ने नगरपालिकाले अनुमान गरिएको थियो ।

‘हाल भएका संरचनामा जति खर्च गरे पनि प्रयोग गर्न नसकिने देखिएका कारण भत्काएर वहुवर्षे योजनाअन्तर्गत कमर्सियल भ्युटावर निर्माण गर्न लागिएको हो ।’ हेटौंडा उपमहानगर मेयर महतले उपमहानगरपालिकालाई आन्तरिक आयस्रोतको विकास गर्न परियोजना अगाडि बढाउन लागिएको बताउनुभयो ।

स्थानीय विकास मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति र हेटौंडा नगरपालिकाको संयुक्त लगानीले सभागृह निर्माण थालिएको थियो । सभागृह प्रयोगमा नआउँदै हेटौंडा नगर कार्यपालिका बैठकले भत्काउने निर्णय गर्दै उक्त स्थानमा कमर्सियल भ्युटावर बनाउने योजना ल्याएको थियो ।

सभागृहमा नगरपालिकामार्फत् पहिलो चरण २०६३ सालमा ५० लाख, २०६४ सालमा ५० लाख र २०६५ लाखमा ३० लाख लगानी गरिएको थियो । नगरपालिकाले प्रस्तावित योजनामा सभागृह बाहिर सुन्दर बगैंचा, पानीका फोहरा, व्यवस्थित पार्किङस्थल र शौचालय रहने बताएको छ । भवनको बाहिरी भाग पनि आकर्षक रंगरोगन, बुट्टा कुँदेर सुन्दर बनाउने योजना छ ।

२०६३ सालमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको पहलमा निर्माण सुरु भएको सभागृहको नाम ‘ज्ञानेन्द्र सभागृह’ राखिएको थियो । जनआन्दोलनपछि मकवानपुरका शहीद वासुदेव घिमिरेको नाममा नामकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्