अज्ञात रोगका कारण सयौं पशुचौपाया मरे



विद्यानन्द राम, राजविराज ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ ललापट्टी टोलमा फैलिएको अज्ञात रोगले धमाधम पशुचौपाया मर्न थालेको छन् । दुई सातादेखि फैलिएको सो रोगको संक्रमणबाट सयौं चौपाया मरिसकेका छन् ।

मर्ने क्रम अझै नरोकिएको स्थानीय बताउँछन् । दर्जनौं पशु चौपायामा रोगले ग्रसित देखिएको छ । ‘दुई साताअघि नै चौपायामा रोग देखिएको थियो’, स्थानीय विनोदकुमार यादव भन्नुहुन्छ–‘चौपायाको मुखबाट र्याल आउने, काप्ने, छट्पटाउने, घाँस र पानी नखाने, गोडा सुनिने, खुट्टा र मुखमा घाउ हुने, पेट फुल्ने, झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेको र पछि चौपाया मर्ने गरेको छ ।’ अहिले पनि एक सय जति चौपाया सो रोगबाट ग्रसित रहेको उहाँले बताउनुभयो ।

‘शुरु–शुरुमा चौपायामा खुट्टा र मुखमा घाउ आउने समस्या देखियो, समान्य कुरा भनेर हामीले घरेलु औषधि उपचार शुरु गर्यौं’, स्थानीय कृषक रवीन्द्रनाथ यादवको कथन छ– ‘घरेलु दबाइले पनि केही चौपाया निको भयो तर अन्य चौपायामा पनि फरक–फरक लक्षण देखिन थाल्यो, पछि गाउँभरि फैलियो ।’

अहिले जे–जति उपचार गराउँदै आए तापनि पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिएर चौपाया मर्न थालेको उहाँको भनाइ छ ।‘ भन्नुभयो । अहिले धान भित्र्याउने कि चौपायाको उपचार गराउने भनने दोधारमा हामी छौं’, यादवको दुःखेसो छ–‘गाउँभरिका अधिकांश चौपायामा लक्षणहरु देखिए तापनि गाउँपालिकाबाट कुनै ठोस पहल भएको छैन ।’

त्यस्तै, अर्का कृषक रामसागर यादवले गाई, भैंसी, बाख्रासहितका सयौं चौपाया मरिसकेको र सोही संख्यामा चौपाया बिरामी देखिए पनि सरोकारवाला सरकारी निकायले गम्भीरता नदेखाए भन्दै आक्रोश पोख्नुभयो । ‘हाम्रा लागि सरकार नै छैनजस्तो भयो’, उहाँ भननुहुन्छ– ‘हाम्रो जीविकोपार्जन गर्ने आधार नै पशुपालन हो । तर, पशुलाई नै जोगाउन सकिरहेका छैनौं ।’ उहाँले तत्काल रोग पत्ता लगाएर उपचारतर्फ ध्यान केन्द्रित गर्न पालिकालाई आग्रहसमेत गर्नुभयो ।

यता, छिन्नमस्ता गाउँपालिकाका पशु शाखाका प्रमुख चन्द्रनारायण पण्डितले लक्षणको आधारमा केही समान्य औषधि चलाइएको बताउनुभएको छ । ‘गंगटा रोगको जस्तो लक्षण देखिएको छ र सोही लक्षणअनुसार हामीले समान्य औषधि चलाइरहेका छौं’, उहाँले भन्नुभयो– ‘अहिले हामीसँग पनि औषधि सकिएको अवस्था छ, सम्बन्धित निकायमा जानकारी गराइसकेका छौं र त्यहाँबाट टोली पठाउने आश्वासन पाएका छौं ।’

औषधिका लागि पनि गाउँपालिकामा जानकारी गराए पनि अझैं औषधि उपलब्ध नगराउँदा रोग नियन्त्रण गर्न समस्या भइरहेको प्रमुख पण्डितको कथन छ ।

प्रतिक्रिया दिनुहोस्