गलत राजनीतिले मुलुक नै बरबाद हुनसक्छ



  • कृष्ण प्रजापति 

भनिन्छ, साइकल चालक दुर्घटनामा प-यो भने एकजनालाई मात्रै क्षति पुग्छ । बस चालकले गल्ती ग¥यो भने बसमा बस्ने सबैलाई खतरा हुन्छ । तर देश चलाउने राजनीतिक नेताहरुले गल्ती गरेको खण्डमा देश र जनता सबैलाई हविगत हुनसक्छ ।

त्यसैले राजनीतिमा लाग्ने व्यक्तिहरु त्यत्तिकै इमानदार, कर्तव्यनिष्ठ र निःस्वार्थपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने क्षमता भएको हुनुपर्दछ । वास्तवमा हामीकहाँ प्रजातन्त्र र गणतन्त्र आएदेखि झन्–झन् कमजोर शासकहरुको हातमा देश पर्न गएको देखिन्छ । शासन सत्ता भनेको बलियो, बुद्धिवान्, निडर र अदम्य साहस भएका शासकको हातमा नै पर्नुपर्ने रहेछ । आज देश बरबाद भइरहेको घटनाको पछाडि स्वार्थी नेताहरुको हातमा देश पर्न गएकाले पनि हो । त्यसो नभईकन निःस्वार्थी नेताहरुको हातमा देश रहेको भए छिमेकी मुलुक चीनजस्तै हाम्रो मुलुक पनि विश्वको नम्बर १ देश हुन पुग्ने थियो ।

हिजो २०६२।६३ सालको जनआन्दोलन सफल भएसँगै न्युरोडमा पुगेर ट्याक्सीमा बस् भनी आफ्नो कमान्डरले अराउँदा, पहिलोपल्ट ट्याक्सी देखेका लडाकूले ट्याक्सीभित्र जान खापा खोल्न नजानेर खुट्टा उचाली झ्यालबाट भित्र जान लाग्दा, तानेर ढोका खोली हुत्याउने कमान्डरहरु आज डेढ करोड मूल्य पर्ने गाडी लिएर राजधानी घुमिरहेको देख्दा भ्रष्टाचार कसले कति ग¥यो भनेर स्पष्ट भएको छ । त्यसैले पनि देश बरबादको मार्गतिर अगाडि बढेको हो ।

इमानदारीपूर्वक देश र जनताको सेवा गरी पञ्चायती व्यवस्थाको विरुद्ध ३० वर्षसम्म लड्ने अनि देश र जनताको पक्षमा विभिन्न खालका विचार एवं सिद्धान्तको प्रचार गरी हिँड्ने तथा जेलनेल भोग्ने व्यक्तिहरुको राय, सल्लाह र सुझाव अहिलेसम्म कदर हुन सकेको छैन । २०४६ सालको जनआन्दोलनका घाइते योद्धाहरु र जेलजीवन भोगेका थुप्रै युवाशक्ति हाल राजनीतिबाट टाढा हुने गरेका छन् ।

न उनीहरुलाई कसैले सम्मान गरेको छ, न त उनीहरुको धारणा, समर्पण र अदम्य साहस बोकेर त्यस बेला डम–डम नामक दोस्रो विश्वयुद्धमा समेत प्रतिबन्ध लगाएको गोलीको सामना गरेको कुराको कसैले कदर गरेका छन् । आफू सांसद, मेयर वा अन्य कुनै पद धारण गरेपछि आफूहरुसँगसँगै जेल परेका, दुःख भोगेका, परिवार छोडेर योगदान पु¥याएका योद्धाहरुलाई कहिल्यै पनि स्थान दिएको पाइँदैन । खाली धेरै पैसा भएका, तस्कर गरेर भए पनि पैसा कमाउन सक्ने तस्करी, भ्रष्टाचारी र घुसखोरीहरुको शरणमा राजनीतिक नेताहरु लालायित भइरहेका छन् ।

यो प्रवृत्ति देश र जनताको लागि भने अत्यन्तै घातक छ । आफ्नो स्वार्थका लागि देशलाई बरबाद गर्ने कार्य हाम्रा नेताहरुले गरिरहेका छन् । आफ्नो स्वार्थको लागि देशलाई आगो लगाएर खरानी गर्न तयार रहेका छन् ।हाल सदनबाट एमसीसी पारित गर्नको लागि कुटिल चाल खेलिरहेका छन् । इमानदार राजनीतिक पार्टीहरुद्वारा यिनीहरुले देश बरबाद गर्न लागे भन्दै घाँटी सुक्ने गरी कराउँदा पनि उनीहरुको आवाजलाई कदर गरिरहेको छैन । भित्रभित्रै रातारात महाकाली सन्धि व्यापक जनताको विरोधको बाबजुद पास गरेझैँ गर्न खोजिरहेका छन् । यो चालासँगै देश भोलि बरबाद हुने स्पष्ट देखिएको छ ।

यदि सयममै हामीले यो मामलालाई ध्यान दिन सकिएन भने हाम्रो देश भोलि रहला वा नरहलासमेत भन्न नसक्ने अवस्था सिर्जना हुनसक्छ । नेपाल नेपाल नै भएर रहने हो भने त्यस्तो गलत प्रवृत्तिको विरोध गर्न सक्नुपर्दछ । एमसीसीलगायत राष्ट्रघाती सम्झौता सबै गणतान्त्रिक सरकारले खारेज गर्ने पाइला अगाडि बढाउनुपर्दछ । यदि देश नयाँ परिवेशमा जाने हो भने हिजो अन्तर्राष्ट्रिय जगत्मा रहेका कुनै पनि खालका गलत छविलाई सच्याएर जान सक्नुपर्दछ । गल्तीवश पास भएका सन् १९५० को सन्धि, सुगौली सन्धि र महाकाली सन्धिलगायत थुप्रै राष्ट्रघाती सन्धि–सम्झौताहरुलाई पुनरवलोकन गर्न सक्नुपर्दछ ।

सरकारको भरमा मात्रै केही होला भनी बस्ने हो भने हामी निकै पछि पर्ने हुन्छ । आफ्नो क्षमता, योग्यता र बुद्धि विवेकलाई आ–आफ्नो स्थानबाट प्रयोग गर्नुपर्ने हुन्छ । सञ्चार क्षेत्रमा भएको प्रगतिलाई नियालेर हिजोभन्दा तीव्र ढंगमा देश विकासको मार्गमा हामी अगाडि जान सक्यौं भने मात्रै पछि परेको हाम्रो देशलाई अति गरिब देशबाट सामान्य स्थितिमा पु-याउन सक्छौं । होइन भने हिजोजस्तै राणा शासकहरुले एकातिर पछि पारे, पञ्चायती शासन व्यवस्थाले ३० वर्ष पछाडि धकेल्यो । हाल देशमा गणतन्त्र र संघीयता आएर पनि पछि परेको खण्डमा झन्–झन् देश रसातलभित्र पुग्नुबाहेक प्रगतिको मार्गतिर अगाडि बढ्नै सक्दैन ।

सरकारको पक्षपातपूर्ण नीति, बजेटमा असमानता र आफ्ना मानिसहरुलाई पालनपोषण गर्ने प्रवृत्तिको कारण पनि आज योग्य र सक्षम मानिसहरु सत्ता र सरकारभित्र मात्रै होइन कि राजनीतिका कुनै पनि निकायमा अगाडि आउन नसकिरहेको हो । न नेपाली कांग्रेसले नै इमानदार नेता–कार्यकर्ता अगाडि सार्न सकिरहेको छ, न वामपन्थी धरातलका नेताहरुले नै आफ्ना इमानदार कार्यकर्ताहरुलाई स्थान दिन सकिरहेका छन् ।श्रमलाई सम्मान गर्ने कार्य समाजवादी क्रान्तिमा हुने गर्दछ । तर आज आफ्नो खेत बाँझो राखी हामीले विदेशीको मरुभूमिमा हराभरा पार्न रगत–पसिना बगाउन जानेहरुलाई प्रोत्साहित गरिरहेका छौं ।

वैदेशिक रोजगारको नाममा जाने थुप्रै हाम्रा चेलीबेटीहरु विदेश गएर जीवन बर्बाद पारेर फर्किरहको अवस्था छ । कालान्तरमा यसबाट हाम्रो देशलाई कतिको पछि पार्ला भन्ने कुरा त केही वर्षअगाडिदेखि परिवार विचलन हुन पुगेका र लास हेरेर सम्पत्तिको भागवण्डामा विवाद गरिरहेका दृश्य र आफ्नो गोजीभित्र पर्नुपर्ने रकम अरु कसैको वा लोग्ने विदेश गएसँगै रकम अन्य कतै खन्याउनेजस्ता घटनाले पनि देखाइसकेको छ । विदेशमा काम गरेर हामी सन्तुष्ट हुन सक्दैनौं । आफ्नो रगत–पसिना आफ्नै देशमा लगाउन पाए कति राम्रो हुने थियो । हिजो पनि परनिर्भर हुन बाध्य भएकाले हामी पछि परेका हौं । अहिले पनि आत्मनिर्भर हुन खोजेनौं भने फेरि पनि हामी पछि पर्ने गर्दछौं । त्यसको लागि पनि पहिला राजनीतिक नेतृत्वले नै सही मार्ग पहिल्याउन सक्नुपर्दछ ।

युवा पुस्तालाई सही मार्ग निर्देशन गर्ने कार्य राजनीतिक नेतृत्वले गर्न सक्नुपर्दछ । उनीहरुलाई देश र जनताको हित हुने कार्यमा लगाउन सक्नुपर्दछ । यहाँ त्यस्तो भइरहेको छैन । गलत शिक्षा दिएर खाली वैदेशिक रोजगारलाई प्रोत्साहन गरिरहेको देखिन्छ । अध्ययनको विषय जस्तोसुकै भए पनि राजनीतिक चेतना सबैभन्दा महत्वपूर्ण विषय हो । पेसा जस्तो अङ्गाले पनि इमानदारपूर्वक काम गर्नुपर्दछ, आफ्नो राष्ट्रियताप्रति सचेत हुनुपर्दछ भनी राम्ररी सिकाउन सकिएन भने उनीहरुले उक्त पेसाबाट देश र जनताको सेवा गर्न सक्दैनन् । त्यसैले पनि राजनीतिक नेताहरु नै गलत बाटोतिर अग्रसर हुन पुगे भने देश बरबाद हुन पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्