जंगली हात्तीका कारण झापाका खेतीयोग्य जमिन मासिँदै



उत्तम नेपाल, भद्रपुर ।

जंगली हात्तीको उपद्रोले आजित भएका झापाका उत्तरी क्षेत्रका बासिन्दाले वैकल्पिक खेती लगाउन बाध्य भएका छन् । रैथाने जंगली हात्तीको बथानले वन–जंगल आसपासका खेतीयोग्य जमिनमा कृषकले लगाएको अन्नबालीसँगै जनधनको क्षति पुर्याउँदै आएपछि उनीहरु अन्य खेतीतर्फ लागेका हुन् ।

दशकौं अघिदेखि जंगली हात्तीको समस्या झेल्दै आएका भारतीय सीमावर्ती खुला नाकासँग जोडिएको साविक बाहुनडांगी गाविस हाल मेचीनगर नगरपालिका वडा नम्बर १, २, ३ र ४ का कृषकहरूको मुख्य आम्दानीको स्रोत नै धान, मकै, गहुँ, कोदोलगायतको अन्नबाली थियो । हात्तीले खेतमा लगाएको अन्नबाली खाएर तथा कुल्चेर सखाप पारिदिने क्रम नरोकिएपछि यहाँका किसान व्यक्तिगत तथा सामूहिक रूपमा चिया, सुपारी, मरिचलगायतका वाली लगाउन थालेका छन् ।

हात्तीका कारण पाकेको अन्नबालीसमेत घर भित्राउन यहाँका कृषकले समस्या झेलिरहेको स्थानीय कृषक हरि भट्टराईले बताउनुभयो । गाउँमै सहकारी चिया प्रशोधन कारखाना स्थापना भएपछि यहाँका चिया कृषकले हरियो पत्ती बिक्री गर्दा राम्रै आम्दानी पाइरहेको उहाँको भनाइ छ । ‘हात्तीले अन्नबाली खाने समस्या पनि छैन’, स्थानीय कृषक सविता पौडेल भन्नुहुन्छ–‘चियाखेतीले राम्रै आम्दानी पनि दिइरहेको छ ।’

हात्तीले अन्नबाली नष्ट गर्न थालेपछि २०५७ सालदेखि सहकारी र बैंकमार्फत कर्जा लिएर यहाँका कृषकहरूले चियाखेती गर्न थालेका हुन् । सरकारले हरियो चियापत्तीको उचित मूल्य कायम नगर्दा कृषकहरूको लगानी डुब्ने भएपछि बाध्य भएर चिया उद्योगीलाई हरियो पत्ती सस्तो मूल्यमा बेच्नुपरेको शुभ चिया किसान सहकारी संस्थाका अध्यक्ष शमशेरबहादुर खड्काले बताउनुभयो ।

सहकारी संस्थामार्फत ७८ जना कृषकले १० कट्ठादेखि ५ बिगाहासम्म जमिनमा चिया बगान लगाएर अहिले हरियो चियापत्ती बिक्री गरिरहेको उहाँले बताउनुभयो । धेरै मेहनत गरेर उत्पादन गरेको वस्तुले बजार र उचित मूल्य नपाउँदा यहाँका किसानहरू निरास बनिरहेको अवस्थामा अहिले सहकारीले हरियो पत्ती खरिद गर्न थालेपछि यहाँका चिया कृषकलाई सहज भएको उहाँको भनाइ छ ।

हात्तीको आक्रमणबाट झापामा ५० जनाको ज्यान गइसकेका छन् । २०६२ साल यता १३ वटा हात्ती विविध कारणले मरिसकेको छ । हात्तीका कारण सयौंको घर–गोठमा क्षति पुर्याएको छ भने करोडौं रुपियाँको नोक्सानी गरिसकेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्