मानवतावादी दर्शनको महत्वमा जोड



काठमाडौं । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल हिमवत् खण्डमा रहेको र यसको गरिमालाई विश्वका विद्वान्ले राम्ररी बुझेर लेखे पनि व्याख्याचाहिँ इन्डियन फिलसफी भनेर गरिने पाइएको बताउनुभएको छ । उहाँले सो कुरा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा आयोजित ‘वर्तमान सन्दर्भमा मानवतावादको महत्व’ विषयक विचार–गोष्ठी तथा कृति विमर्श कार्यक्रममा बोल्दै बताउनुभएको हो ।

उहाँले भन्नुभयो– ‘हाम्रो दर्शनसम्बधी पहिचान विश्वलाई चिनाउनका लागि हामी आफैँले केही नगरी हुन्न । अरूले त एसिया र साउथ एसिया मात्र भनिदिन्छ । हाम्रा आदिवासी पुर्खाहरूले प्रतिपादन गरेका, प्रवद्र्धन गरेका दर्शन नेपाल राष्ट्रसँग जोडिएका छन् । नेपाली दर्शनहरूको अध्ध्यन, अनुसन्धान, संरक्षण र प्रवर्धनका लागि प्रज्ञा–प्रतिष्ठानले दर्शनशास्त्र विभाग नै खडा गरेर काम गरिरहेको छ ।’कुलपति उप्रेतीले अगाडि भन्न्भयो– ‘नेपालका दर्शनहरू के–के हुन् ? तिनको खोज–अन्वेषण र प्रवर्धनका निम्ति दर्शनशास्त्र विभाग निरन्तर जारी छ । यसका विभिन्न विद्वान् संलग्न हुनुहुन्छ । नेपाली दर्शनको उद्गम स्थल नेपालमा नेपाली दर्शनको खोजी गर्ने धेरै महत्वपूर्ण कामहरू यस विभागबाट भइरहेका छन् । यी कार्यहरू नेपालकै गौरव हुन् ।’ उहाँले नेपाल मानवतावादी दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै वर्तमान सन्दर्भमा मानवतावादी दर्शनको महत्वमाथि केन्द्रित रहेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले सन् २००२ बाट युनेस्कोले अन्तर्राष्ट्रिय दर्शन दिवस मनाउने घोषणा गरेको र संयुक्त राष्ट्रसंघको महासभाले २००५ मा निर्णय गरेपछि यो दिवस मनाउन थालिएको जानकारी गराउनुभयो । उहाँले विश्वमा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान गरेका दार्शनिकहरूको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय दर्शन दिवस मनाउने परम्परा बसालिएको बताउनुभयो । उहाँले अहिलेको समाजमा धनको प्रभाव र धनको अभावमा रहेको उल्लेख गर्दै युद्ध, आन्तरिक द्वन्द्व, रंग विभेद र जाति विभेद कायमै रहेकाले मानवतावादी दर्शनको महत्व अझ धेरै रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘अहिलेको विश्वमा मानवतावादी दर्शनको विशिष्ट महत्व रहेको छ ।’‘वर्तमान सन्दर्भमा मानवतावादी दर्शनको महत्व’ विषयमा प्रज्ञा–प्रतिष्ठानका मानार्थ प्राज्ञ तथा वरिष्ठ दर्शनशास्त्री प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले प्रवचन दिनुभएको थियो ।

सभाका अध्यक्ष एवम् प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले वर्तमान परिप्रेक्षमा मानवतावादको विशेष महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले हाम्रा पितापुर्खाको विरासत थाम्नै मुस्किल भइरहेको उल्लेख गर्दै हाम्रा ग्रन्थहरूमा पनि मानवतावादका बिजहरू पाइने बताउनुभयो । ‘पूर्व मेचीदेखि कालीसम्म हाम्रो हो तर दर्शनको सीमा फराकिलो छ’, उहाँले भन्नुभयो– ‘हाम्रा चिजमा अरूले अधिकार जमाएका छन् । हाम्रो अध्ययन, अनुसन्धान कम भएकाले अरूको हात लम्किएको छ तर अब त्यसो गर्न दिनुहुन्न ।’

कार्यक्रममा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित तथा गोपीरमण उपाध्यायद्वारा लिखित ‘वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन’, समीर सिंहद्वारा लिखित ‘साङ्ख्य दर्शन र माक्र्सवाद’ तथा प्रा. जगत्प्रसाद उपाध्याय र विष्णु प्रभातद्वारा सम्पादित ‘दर्शनावली’ भाग–८ का साथै प्राज्ञ परिषद् सदस्य प्रा.डा. उषा ठाकुरद्वारा लिखित तथा डा. रामभक्त ठाकुरद्वारा प्रकाशित ‘नेपाली साहित्य सर्वेक्षण र समीक्षा’ नामक पुस्तकको लोकार्पण गरेका थिए । लोकार्पित पुस्तकमाथि विष्णु प्रभात र त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख वेदराज ज्ञवालीले बोलेका थिए । कार्यक्रम प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्