नेपरसिं देवताको कारबाही र भक्कुलाई राँगो



  • प्रेममान डंगोल

नेपालमा नेपरसिं नामक देवता पनि छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । वसन्तपुर दरबार परिसर कुमारी घरअगाडि नेपरसिं देवता छन् । यो नेपरसिं देवताले राजादेखि रंकसम्म कसैले पनि नेप्रे भनेमा उसलाई कारबाही गर्छन् भन्ने मान्यता छ । कोही पैसा, पद, धन, जन र विभिन्न किसिमका पावरले कसैलाई मान्छे नगनी मनपरी गरेर सबैलाई हेला गर्दै हिँड्यो भने त्यस्तालाई नेपरसिं देवताले यो मानिस त धेरै नेप्रेछ, सबक सिकाउनुप-यो भन्दै कारबाही गर्छन् रे !

गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं, भक्तपुर, कीर्तिपुरलगायतका मुलुक जित्न अनेकौं तिकडम, जालझेल गरेका र नेपालको राजा भइसकेपछि पनि घमण्डी भएर महाराज भनी आफूखुशी गर्न खोजेकोले नेपरसिं देवताले कारबाही गर्ने क्रममा उनलाई डरलाग्दो रोग लागेर मृत्युवरण गर्नुप-यो भन्ने सबैलाई थाहा भएकै कुरा हो भनिन्छ ।

स्मरण रहोस्, कीर्तिपुरसँगको युद्धमा पृथ्वीनारायण शाह युद्ध गर्दागर्दै एक्लो पर्न गएछन् । त्यति नै बेला कीर्तिपुरको एकजना सेनाले तरबारले हानेर मार्न लाग्दा अर्को सेनाले छेकेछ र राजालाई हामीले मार्नुहुँदैन, राजाले नै मार्नुपर्छ भनी बचाएर युद्ध मैदानबाट बाहिर पठाइदिएका थिए । त्यसरी हारेर गएका पृथ्वीनारायण शाहले अर्कोपटकको युद्धमा कीर्तिपुर जितेपछि त्यहाँका जनताको नाक–कान काटेकाले हालसम्म पनि पृथ्वीनारायण शाहलाई घृणा गर्ने गर्छन् ।

काठमाडौंका मल्लकालीन अन्तिम राजा जयप्रकाश मल्ललाई तलेजु भवानीले राज्य स्थिर गरेर राख्ने हो भने कुमारीको रथ तानेर जात्रा चलाउनू भनेकाले कुमारीको रथसँगै गणेश र भैरवको पनि रथ तान्ने जात्रा चलाए । तर जयप्रकाश भोगविलासमा लिप्त भए । स्वर्गका राजा इन्द्रले अप्सराहरु नचाई सुरापान गरेर बसेझैँ जयप्रकाशले पनि दिनहुँ युवतीहरु नचाएर सुरापान गरी समय बिताउन थाले ।

यसरी दिनहुँ रसरंग गरेर बसेका राजा जयप्रकाशले देशको राजकाजमा ध्यान नदिँदा राजकाजको सम्पूर्ण काम मन्त्री र भाइभारदारहरुले चलाउन थाले । राजा जयप्रकाश पनि यसरी नेप्रेर घमण्डी भएकाले नेपरसिंह देवताले कारबाही गर्ने क्रममा गोरखाका राजा पृथ्वीनारायण शाहले देश जितेर लिएका हुन् भनिन्छ ।

नेपरसिंह देवता पनि कम छैनन् । पहिला बिजुली बत्ती नभएको समयमा घरैपिच्छे मट्टीतेलको टुकी बालेर बस्नुपथ्र्यो, बाटोमा अँध्यारै हुन्थ्यो । कोही कतै गएर फर्कंदा वा कतै भोज खाएर फर्किंदा राति ढिलो हुन सक्थ्यो । राति कोही एक्लैदोक्लै आइरहेको देखेमा नेपरसिंह देवताले पुरुष हो भने पिटेर पठाउने अनि महिला भए जे मन लाग्यो त्यही गरी पठाउँथे अरे ।

बलिया महिला त फुत्केर आई भन्थे रे– बल्ल फुत्केर आएँ । कमजोर महिला भने नेपरसिं देवताको सिकार भएर आउनुपथ्र्यो रे ! यसरी नेपरसिं देवताको अत्याचार देखी तान्त्रिकले उनलाई सडकमै दबाएर त्यसमाथि चैत्य बनाएका हुन् भनिन्छ । तर यसरी सडकमै ढाकेर राखे पनि नेपरसिं देवताले नेप्रनेहरुलाई कारबाही गर्ने काम भने छोडेनन् भनिन्छ । जुन काम हालसम्म चल्दै आएको देखिन्छ भनी धेरैले भन्ने गरेका छन् ।

सुनिएअनुसार राणाहरुको समयमा कोही उत्ताउलो भएर आफूखुशी जे मन लाग्यो त्यही बोल्दै हिँड्यो वा राणाहरुको विरोधमा बोल्यो भने लौ यो मान्छेलाई त नेपरसिं देवता लागेछ भनी सिपाहीहरुले समाई लाने गर्दो रहेछन् । समाएर लगेकामध्ये कोही–कोही मात्र फर्केर आउने गर्दा रहेछन् । उनीहरुलाई के गरे होलान् भनी कसैले पनि थाहा नपाउने रहेछन् ।

त्यस समयमा सिपाहीहरुसँग सोध्ने कसको हिम्मत ? १०४ वर्ष श्री ३ महाराज बनेर, जहाँनिया शासन चलाएर, जनतालाई दुःख दिएर, नेप्रेर राज्य गरेकाले नेपरसिं देवताले सहन नसकी जनतालाई जगाई राणा शासनको अन्त्य गराएका हुन् भनिन्छ । पछि प्रजातन्त्र आइसकेपछि पनि जनतालाई दुःख दिएर नेप्रेका नेताहरुले समेत दुःख पाएको कुरा घामजस्तै छर्लंग छ ।

अर्को प्रसंग, भक्कुलाई राँगो दिने चलन पहिलादेखि चल्दै आएको हो । भक्कु भनेर सवः भक्कुलाई भनिने हो । सवः भक्कु भनेको सवः देवता हो । यसरी सवः भक्कु भनेर मान्दै आएको देवता हल्चोकका आकाश भैरव हुन् । हल्चोकको आकाश भैरव गुथीले सवः भक्कु देवता आकाश भैरव, चण्डी र कुमारी तीनवटा देवताको नाच इन्द्रजात्राको बेलामा प्रदर्शन गर्छ । यो हल्चोकको आकाश भेरवको नाच र जात्रा ने.सं. १०७ तिर राजा गुणकामदेवले चलाएका हुन् भनिन्छ ।

वंशावलीका अनुसार महालक्ष्मी देवीले राजा गुणकामदेवलाई आफ्नो राज्य शत्रुको भयबाट मुक्त गरेर स्थिर राख्न आकाश भैरवका साथै विभिन्न देवताहरु स्थापना गर्नू भन्ने आदेश दिएकी रहिछन् । त्यसैले राजा गुणकामदेवले देशको रक्षाका लागि चारैतिर अष्टमातृका देवी र विभिन्न स्थानमा भैरवहरु स्थापना गरेका हुन् भनिन्छ ।

वंशावलीका अनुसार हल्चोकको आकाश भैरवको बाह्रबर्से जात्रा भने राजा अमर मल्लले चलाएका हुन् । हरेक वर्ष इन्द्रजात्राको समयमा निस्कने आकाश भैरवले नीलो मुकुट, नीलो जामा लगाएको हुन्छ भने हातमा खड्ग धारण गरेको हुन्छ । आकाश भैरवका साथमा चण्डी र कुमारी पनि रातो मुकुट र रातो जामा लगाएर आउँछन् ।

बाह्रबर्से जात्रामा भने दशवटा देवताहरुको जात्रा गरिन्छ । हल्चोकका आकाश भैरव, चण्डी, कुमारी, पार्वती, गंगा, महादेव, बाराही, आकाश देवी, दक्षिणकाली र महाकालीको जात्रा बाह्र वर्षमा गरिने हो । यी देवताहरुमध्ये इन्द्रजात्राको बेलामा हरेक वर्ष निस्किने आकाश भैरव मुख्य देवता हुन्छन् भने बाह्र वर्षमा निस्किने समयमा भने आकाश देवी मूल देवी हुन्छिन् ।

आकाशमा हेरी बस्ने यी देवीको दृष्टि पार्नुहुँदैन भनिन्छ । देवीको माथि–माथि बसिरहेका र उडिरहेका पक्षीहरुसँग पनि यी देवीको दृष्टि पर्न गयो भने खसेर मर्ने रहेछन् । पहिला यस्ता घटना भइसकेका रहेछन् । त्यसैले आकाश देवीलाई माथि–माथि धेरै हेर्न नदिई जात्रा गरिँदै आइरहेको छ ।

हल्चोकका आकाश भैरवलाई वायु तत्वको रुपमा लिँदै आएकाले अहिले पनि कसैलाई वायु लागेर विभिन्न किसिमका रोग लागेमा वा पक्षघातजस्ता कडा रोग भएमा पूजा गर्न जाने चलन छ । पहिला हल्चोक आकाश भैरवलाई राजकीय सम्मानसहित राजाका तर्फबाट पूजा पठाउने गरिन्थ्यो । त्यस्तै आकाश भैरवको नाचलाई पनि राजकीय सम्मान दिँदै आइरहेको थियो । राजाहरुले आकाश भैरवलाई कूल देवताकै रुपमा पूजा गर्दै आइरहेका थिए ।

पहिला–पहिला हल्चोकका आकाश भैरवलाई हनुमानढोका दरबारको नासल चोकमा एउटा राँगो दिने गरिन्थ्यो र भक्कुलाई राँगो दिने भनेर व्यापक चर्चा गरिन्थ्यो । यसरी राँगो दिँदा नासल चोकभित्र चारैतिर बार बारेर बीचमा सवः भक्कु एकजना अनि राँगोलाई रातो कपडा देखाउने अर्को एकजना मात्र राखिन्छ । जाँडको कट मिसिएको खानेकुरा र रक्सी ख्वाएर अँध्यारो भुइँतलाको कोठामा थुनी राखेको राँगो ल्याएर बारभित्र छोडिन्छ ।

रक्सीले मात्तिएको त्यसमा पनि अँध्यारो ठाउँबाट एकैचोटि बाहिर ल्याउँदा तिर्मिराएको राँगोलाई मार्न सवः भक्कुले हेरिरहेको हुन्छ । यस्तो अवस्थामा पहिला त राँगो पर्सिएको जस्तै भएर यताउता हेर्छ अनि फुँफुँ गरी भक्कुलाई हाँन्न खोज्नु स्वाभाविक नै हुन्छ । त्यसमाथि रातो कपडा देखाउनेबित्तिकै दौडेर गई कपडा देखाउने व्यक्तिलाई हान्न खोज्छ । तर कपडा देखाउनेले स्वाट्ट कपडा झिकेर लुकाइदिन्छ ।

अनि दौडँदै आएको राँगोलाई खड्ग समाइरहेका सवः भक्कुले काट्न खोज्छन् तर काट्दा जता पनि लाग्न सक्छ । कहिले जीउमा, कहिले कमरमा पर्छ भने कहिले घाँटीमा र कहिले पछाडि पुच्छरमाथि पनि पर्छ । जथाभावी काटेर राँगोको शरीरभरि रगत बगिरहेको हुन्छ तर भक्कुले काटी नै रहन्छन् । यसरी बीभत्स ढंगले भक्कुले राँगोलाई मार्ने गर्छन् ।

पहिला–पहिला सवः भक्कुले घाँटीमा नै च्याट्ट एकैचोटि मार हानेर मार्ने गर्थे तर पछि गएर भक्कुको शक्ति नभएर हो वा भक्कु हुने व्यक्ति बलियो नभएकोले हो, जथाभावी काटेर राँगोलाई मार्ने गर्न थालियो । पहिला–पहिला भक्कु भैरवलाई राँगो दिएको हेर्न राजा, राजपरिवार र विदेशी राजदूतहरु पनि आउने गर्थे ।

तर वि.सं. २०४६ मा जात्रा हेरिरहेका मानिसहरुलाई समेत हान्न गएको र केही मानिस घाइते भएपछि राँगो दिने चलन नगरेको हो भनिन्छ । स्मरणयोग्य छ कि सोही समयमा सवः भक्कुलाई राँगो दिने भनी रंगशालामा टिकट शो पनि गरिएको थियो । विदेशी पर्यटकहरुलाई आकर्षित गरी पर्यटनको विकास गर्ने उद्देश्यले भक्कुलाई राँगो दिइएको हो । यसरी भक्कुलाई राँगो दिने दृश्य हेर्न सबैलाई अवसर प्राप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्