अधिवेशनमय वर्ष र दलहरुको अनिश्चित भविष्य



पेशल आचार्य

यो वर्ष राजनीतिक पार्टीहरूको जीवनमा अधिवेशनमय वर्ष हुँदै छ । मङ्सिरको दोस्रो साता एमालेको १० औं महाधिवेशन चितवनस्थित नारायणी नदीको तीरमा सम्पन्न हुँदै छ । उसले सौराहामा सहभागीहरूको बसोबासका लागि ३५ सय कोठा बुक गरिसकेको छ । लाग्छ, अहिले नेपालमा अन्तर्राष्ट्रिय स्तरको कुनै खेल या सभा-सम्मेलन हुँदै छ ।

जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई दाबा गर्ने एमाले अब धनीहरूको पार्टीमा रूपान्तरण भैसकेको कुरा जगजाहेर छ । करिब ५ लाख मानिस उद्घाटन सत्रमा उतार्ने उसले पूर्वघोषणा नै गरिसकेको छ, जुन कुरा आफैँमा साहसिक तथा रेकर्डेबलसमेत हो ।एमालेको दशौं महाधिवेशन विविध हिसाबले ‘न भूतो न भविष्यति’ शैलीमा हुँदै छ । तिनीहरूले विभिन्नरूपमा रेकर्ड ब्रेक गरिसकेका छन् ।एक, उसले यसपटक आफ्ना केन्द्रीय पदाधिकारीहरूको चयनमा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’को प्रयोग गर्ने भएको छ । जुन प्रविधिमा एमाले गयो त्यो प्रविधिलाई नेपालका कुनै पनि ‘ठालु’ र ‘खुजुरे’ पार्टीहरूले अहिलेसम्म प्रयोगमा ल्याउने आँट गरेका थिएनन् । त्यो हिसाबले पनि उसले प्रविधि प्रयोगलाई स्वागत ग-यो ।

चुनावमा सफलता पाइछाड्यो भने उसले नागरिकहरूबाट राम्रै स्याबासी पाउने निश्चित छ ।दुई, यतिखेरको उसको प्रचारमुखी डिजिटल शैली । जसको अहिले खुलेर प्रशंसा र विरोध शुरु भैसकेको छ । विख्यात संस्कृतिविद् सत्यमोहन जोशी, नेपाली पत्रकारिताका स्कुल भैसकेका शिखर व्यक्तित्व भैरव रिसाल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ, पुराना राजनीतिज्ञ भद्राकुमारी घले, कलाकार गौरी मल्लदेखि अन्य जानेमाने नामहरूलाई समेत डिजिटल मिडियामा राम्ररी क्यास गरेको छ । तर एउटा कुरा के हो भने, सत्यमोहन जोशीजस्ता देशकै लिजेन्ड भैसकेका धरोहर व्यक्तित्वलाई उसले यसरी आफ्नो पार्टीको महाधिवेशनको प्रचारमा ल्याउनु हुन्थेन ।

खैर ! यो उसको निजी प्रचार शैली हो । यसमा किन कसैले टाउको दुखाइरहनु ? तर राष्ट्रिय स्तरमा वाद, विवाद र प्रतिवादभन्दा माथि उठिसकेका धरोहरलाई त्यो पनि अधिवेशनका सन्दर्भमा पार्टीले प्रचार सामग्रीमा उभ्याएर सीमित पारिदिँदा पार्टीको लोकप्रियताको पारो मात्र घट्दैन न कि प्रचार संयन्त्र बन्ने धरोहरसमेतको ख्यातीको पारो तल झर्दछ । त्यो कुरा प्रचार गर्ने पार्टी र व्यक्तित्व दुवैले बुझ्ने कुरा भयो । खुला समाज भएकाले सुझाव मात्र दिइएको हो । आगे दुवैको विचार ।अब कुरा आयो चुनावको । प्रविधिमा ईभीएम याने इलेक्ट्रोनिक्स भोटिङ मेसिन प्रयोग गरे पनि एमालेमा यसपटक चुनावी रस्साकस्सी नहुने छाँटकाँट जो देखिएको छ, त्यो किनभने उसभित्र विमति राख्ने, विचारमा टकराव ल्याउने र चुनावमा बद्देबद्दे गरी भोट काटाकाट गर्ने विरोधी गुटका नेता माधव नेपालको समूह नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नामले सरक्क अर्को पार्टी खोलेर विभाजन भैसकेको छ ।

यस मानेमा अहिले एमालेको आन्तरिक पदहरूमा हुने भनिएको चुनाव भनेको नेतृत्वले उसको राप, ताप र दबाबले थिचेर बाहिरबाहिर सर्वसम्मत भित्रभित्रचाहिँ जनवादी केन्द्रीयताको भरपूर अभ्यास गरी कार्यकर्ताहरूको इच्छा–अकांक्षालाई बलात् शहीद बनाउने नै हो । यति कुरा गर्न अब महाधिवेशनको उद्घाटन मिति कुर्नु परोइन ।आम नागरिकमा जगजाहेर भैसकेको कुरा के भने, नेकपा एमाले भनेको पब्लिक मेन्टालिटी र सेन्टिमेन्टलाई तत्क्षण क्यास गर्न सक्ने चलाख पार्टी हो । उसले योभन्दा अघिका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमहरूमा त्यस्तै प्रवृत्तिको भलिभाँती प्रयोग गरिसकेको छ । यो उसको सुविधाको दर्शन पनि हो, जसलाई उसले आलोचनात्मक समर्थनको नाम दिन्छ । एमसीसीमा उसको अहिलेको मौनतासमेत रहस्यमय छ, जबकि उसको पालामा त्यो सम्झौता संसद्मा टेबुल भएको हो ।

यता लालबाबु पण्डितजस्ता एमालेभित्रका तेस्रो पुस्ताका नेतासमेतले ‘दशौं महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको, देश यतिखेर दुई कित्तामा विभाजन भएको, एउटा कित्ताको नेतृत्व ओली र अर्को कित्ताको नेतृत्व गठबन्धनका नेताहरूले गरेकाले समेत अपवित्र गठबन्धनलाई टुक्र्याउन पनि एमालेमा ओलीको विकल्प तत्काल नभएको’ बताउँछन् ।ओलीको विकल्पमा प्रस्तुत हुन सक्ने दोस्रो तहका नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र माओवादीबाट गएकाहरूमा रामबहादुर थापा बादललगायतका नेताहरूको आगामी राजनीतिक भविष्य के हुने भन्ने कुरा यतिखेर अन्यौल देखिएको छ ।उमेरमा सत्तरी कटेका नेताहरूलाई नेतृत्वको तहबाट क्रमशः विदाइ गर्दै एमालेजस्तो विधि, प्रविधि र सिद्धान्तमा चुस्तदुरुस्त हुन चाहने मुलुककै सबैभन्दा धेरै समर्थक, भोटर, कार्यकर्ता र नेता भएको पार्टीले टिके परम्परालाई बँचाइराख्ने हो भने लाखौं युवाहरूको जोश–जाँगर मर्ने र देशले अझ दश–बीस वर्ष कोल्टे नफेर्ने निश्चित छ । अहिले भनेको जुनसुकै साना–ठूला पार्टीमा समेत मेनेजरियल स्टायलका नेतृत्वको खाँचो देखिएको छ । यो कुरामा एमाले चुकेको देखियो ।

अर्को कुरा, एमालेमा अहिले ओलीबाहेक कुनै गुटहरू चलायमान छैनन् । दश बुँदेमा ङ्यारङुर गर्ने भीम रावल र घनश्याम भुसालजस्ता बौद्धिक नेताहरू यतिखेर महाधिवेशनमा आफ्नो वर्चश्व जोगाउनका लागि ओली नेतृत्वलाई ‘त्वं शरणम्’ गरेर जानुको विकल्प नभएको भन्ठान्दै कुनै वादविवाद नगरी चुप लागेर बसेका छन् । उनीहरूलाई भलिभाँती थाहा छ, यतिखेर ओलीको विरोध गर्नु भनेको उनको डिक्टेटरसिपमार्फत कोपभाजनको सिकार भैरहनु हो । त्यसैले एमालेको यो महाधिवेशनमा न त विचारको, न त कार्यक्रमको र न त नेतृत्वकै प्रतिस्पर्धा भई चुनाव हुन्छ । यो बेलालाई फुटविरुद्ध लिउन लगाउने समयका रूपमा लिने रणनीति बुझिएको छ । विधान अधिवेशन यसअघि भैसकेकाले त्यो कुरा पक्कापक्की देखिएको छ ।

अहिले देखिएको सबैभन्दा खतरनाक कुरा के हो भने, अब एमालेले वर्तमान अध्यक्ष या भावी अध्यक्ष ओली नै भए पनि उनकै नेतृत्वमा क्रमशः एमालेको भाजपाकरण हुनु हो । ओलीको ‘अयोध्यापुरी रामदर्शन’ होस् कि ‘पशुपतिनाथको जलहरी अर्पणशैली’ यी धार्मिक जडसूत्रवादले क्रमशः पार्टीलाई वैचारिकरूपमै क्षयीकरण गर्दै भाजपाकरण गर्दै लैजानुको कुनै विकल्प नरहेको उनकै पार्टीका बौद्धिक व्यक्तित्वहरू औंल्याउँछन् । यस मामलामा एमालेमा ओलीको यो धार्मिक जडताको जमेर विरोध गर्न सक्ने कुनै नेताहरू देखिएनन् । जति नेताहरू पद र निर्णायक तहमा जाने हैसियत राख्छन् तिनीहरूले ओलीलाई ‘एनी हाऊ खुशी बनाऊ’ शैली मात्र अख्तियार गरिरहेका छन् । अझ कतिपय त उनका वरिपरि गणेश शैलीमा फेरो मारेर न विरोध, न समर्थन, मात्रै टाउको हल्लाउने मन्त्र अनुशरण गर्दै छन् ।

राष्ट्रवादको बहस गरेर कहिल्यै नथाक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको पुग नपुग दुई तिहाइ बहुमतको सरकारले जारी गरेको नेपालको चुच्चे नक्साभित्र पारेको लिपुलेक र लिम्पियाधुरासहितका भूभागमा उसले वडा र पालिका अधिवेशन गर्न नसकेको खबरसमेत सञ्चारमाध्यममा आइसकेको छ । त्यसै गरी वर्तमान परमादेश सरकारले समेत जनगणनाका कार्यक्रममा खटाएका गणक र सुपरभाइजरहरूलाई ती स्थानहरूमा पुग्नका लागि बाटोको समस्या भएको भन्दै रोकेको छ । भनेपछि जनताको दिल र दिमागमा प्रभाव पार्न सक्ने यस्ता राष्ट्रवादका कुराहरूसमेत चुनावी र राजनीतिक मुद्दाहरूमा सीमित पार्ने विषयवस्तु हुन् त ? जनता यस्ता प्रश्नहरू गर्न थालेका छन् ।

अधिवेशनमा उसले गर्ने खर्च, तीनदिने खानपिनको रेसिपी शैली र अन्य तामझामलाई हेर्दा पाँचै दलको मुटु्मा ढ्याङ्ग्रो ठोक्ने काम भैसकेको छ । यही कुरालाई लिएर माओवादी अध्यक्ष प्रचण्डले त भन्न भ्याइसकेछन्– ‘मेरा शत्रुहरूले मलाई हराउनका लागि चितवनमा कार्यक्रम गर्ने निधो गरेका छन् ।’ यसो भन्नुभन्दा बरू माओवादीले आफ्नो आउँदो महाधिवेशन झापामा गरे त भैहाल्यो नि ! ओलीले प्रचण्डको यो तीतोपनाको जवाफ फर्काउँदै भनेछन्– ‘कतिन्जेल कांग्रेसको औंला समातेर हिँड्ने हो, ओ ! माधवजी र प्रचण्डजीहरू ! चुनावमा थाहा पाइहाल्नु हुनेछ ।’राष्ट्रिय स्तरका नेताहरूको यो स्तरमा ओर्लेर गरिएको दन्तबझानलाई तिनेरूका सामान्य कार्यकर्ता र भोटरहरूले त मीठो मानेर सुन्लान् तर आम सचेत नागरिक र चुनावका बेला पार्टीको वैचारिक धरातल र नेतृत्वको ड्यासिङ पावरलाई हेरेर भोट हाल्नेहरूले भने कुरीकुरी भन्न थालिसके । क्याडर बेस पार्टीहरूमा यतिखेरसम्म मुलुकमा सबैभन्दा व्यवस्थित पार्टीका रूपमा एमाले नै ठहर्छ ।

उसले अख्तियार गरेको रणनीतिले चुनावमा होस् या सरकार गठन–विघटनका माहोलमा समेत निकै ठूलो जनमानसको सेम्पेथी पाउने गरेको छ । यसो भनेर उसले जनजीवनका सबालमा र जनताको भावनाका सबालमा प्रस्तुत गरेका वैचारिक वाणी र सिद्धान्तहरू हरेक कालखण्डका लागि चिरकालपर्यन्त ढुङ्गाकै अक्षर हुन् र ती सदा सर्वदा रहिरहन्छन् भन्नचाहिँ सकिन्न ।समयको बदलिँदो रफ्तारमा एमाले मात्र नभएर नेपाली कांग्रेस र माओवादीहरूले समेत बदलिनु आवश्यक भैसक्यो । यो कुरालाई तत्–तत् पार्टीका नेता र सकल कार्यकर्ता पंक्तिका तमाम जुझारु व्यक्ति र व्यक्तित्वहरूले बेलैमा नबुझेदेखि दोस्रो पुस्ताका भनिएका एमालेका सुवास नेम्वाङ र ईश्वर पोखरेलजस्ता तथा कांग्रेसका रामचन्द्र पौडेल र शेखर कोइरालाजस्ता नेताहरूको राजनीतिक जीवन क्रमशः केपी ओली र शेरबहादुर देउवाको राजनीतिक यात्रा अविश्रान्त रहुन्जेलसम्म ‘स्याक भइसक्ने’ निश्चित छ । यो कुरा तत्–तत् नेताहरूले अनुभव गरेका छन्÷छैनन् ? जनताले मिहिनरूपमा तिनीहरूका अभिव्यक्तिहरू जान्न खोजेका पाइन्छन् ।

सञ्चारमाध्यमको यत्रो एक्सेस भएको जमानामा यस्ता सामान्य कुराहरू जान्न पाउने हकबाट नागरिकलाई वञ्चित राख्नुहुँदैन । बरू ती नेताहरूका सामाजिक सञ्जालअन्तर्गत फेसबुक पेज, टुइटर या इन्स्ट्राग्रामबाट भए पनि सूचनाको अधिकार भने निरन्तर दिइरहनुपर्छ । अबको पुस्ताले यही चाहेको छ । साँच्चै भन्ने हो भने अबको आउने चुनावमा मतपत्र पक्रने कांग्रेसका युवा भोटरलाई बीपीको नाम भजाएर भोट माग्न जति गाह्रो हुनेछ, एमालेका युवा भोटरलाई पनि मनमोहन अधिकारी या मदन भण्डारीको नाम घोकाएर भोट लिन त्यत्तिकै कठिन हुनेछ ।अधिवेशनमय वर्ष भएकाले यस्ता कुराहरूसमेतलाई मध्यनजर राखेर आफूलाई ठूला पार्टी हौं भन्ने राजनीतिक दलहरूले यतातिर मतदाता चेतनाका कार्यक्रमहरू थाल्ने बेला भैसकेको छ । नत्र एमाले, कांग्रेस, जसपा र राप्रापाजस्ता देशका ठूला पार्टीहरू ‘खालि सिसी पुराना कागज’ डम्पिङ गर्ने साइटका रूपमा अनुवाद नहोलान् भन्न सकिन्न । कि कसो ?

प्रतिक्रिया दिनुहोस्