३० वर्ष जुत्ता ब्यापार पछि ब्याञ्जु दम्पती पर्यटनमा



मोतीराम तिमल्सिना, धुलिखेल ।

धुलिखेल ७ का शुशिलकुमार ब्याञ्जु र उहाँको श्रीमती अन्जना माकजु श्रेष्ठले राजधानी काठमाडौमा ३० वर्ष जुत्ताको होलसेल ब्यापार गर्नु भयो । धुलिखेल पर्यटकिय शहरको रुपमा विकास हुँदै गए पछि आफु बस्न बनाएको घरमा साथिभाईको सल्लाहले बुटिक होटल शुरु गर्नु भयो । बुटिक होटलको अपार सफलता पछि ब्याञ्जु दम्पतीले नमोबुद्ध नगरपालिका वडा नम्वर २ बेलाको विपी राजमार्ग सँगै जोेडिएको ३० रोपनी जमिन खरिद गरी बेला फार्म रिसोर्ट शुरु गर्नु भएको छ ।

‘जुत्ताको ब्यापार नभएको होईन, छिमेकी देश चीन लगायतका मुलुकहरुबाट सामान ल्याई होलसेल पसल संचाालन गरेको ३० वर्ष पछि होटल ब्यवसायमा आर्कषण बढ्यो’–बुटिक तथा बेला फार्म रिसोर्टका संचालक शुशिलकुमार ब्याञ्जुले भन्नुभयो–‘बुटिक होटल शुरु भएको चार वर्ष पछि जुत्ताको ब्यवसाय बन्द गरी लकडाउनको समयमा बेला फार्म संचालन गर्ने तयारीमा जुट्ने अवसर मिल्यो ।’ जुत्ताको ब्यवसाय बन्द गरेको एक वर्ष भयो । बुटिक होटल संचालन गरेको चार वर्ष भयो । धुलिखेल नगरपालिका वडा नम्वर ७ को मनोरम र शान्त क्षेत्रमा बुटिक होटल संचालन गरिएको छ । स्पा, सोना बाफ सहितको सेवा रहेको बुटिकमा नेपाली तथा चाईनिज खानाहरु उपलब्ध छन् । ‘जुत्ताबाट शुरु गरेको ब्यवसाय होटलमा परिणत गर्दा मज्जा आईरहेको छ’–संचालक शुशिलकुमार ब्याञ्जुले भन्नुभयो–‘ग्राहकको सन्तुष्टी, नयाँ नयाँ परिकार स्वास्थ्यसँग सरोकार राख्ने भएकाले चुनौती र मज्जा दुबै छ ।’ कोरोना भाईरसका कारण होटल पर्यटन ब्यवसाय धरासयी भईरहे पनि बुटिक होटलले कोरोना संक्रमण भएका ब्यक्तिहरुलाई नै क्वारेन्टाईन र आईसोलेसनको सेवा उपलब्ध गराएको थियो । गुणस्तरीय सेवा र ब्यवस्थापन चुस्त हुँदा ग्राहकहरुको आर्कषणको केन्द्र बन्दै गएको संचालक अञ्जना माकजु श्रेष्ठले बताउनु भयो ।

बुटिकको सफलता र अभ्याससँगै जुत्ता पसल छाडेर नमोबुद्ध नगरपालिका वडा नम्वर २ मा होटल नै संचालन गर्ने उदेश्यले तीन वर्ष अघि ३० रोपनी जमिन खरिद गरिएको अञ्जना माकजुले बताउनु भयो । १७ लाख रोपनीमा खरिद गरिएको जग्गाको मुल्यांकन पनि बढेको छ । बेला फार्म रिसोर्टलाई अलग्गै ढंगबाट संचालन गर्ने सोचले आर्गानिक तरकारी तथा फलफुल उत्पादन शुरु गरिएको संचालक ब्याञ्जुले बताउनु भयो । ‘रिसोर्ट संचालनमा आउनु अघि नै हामीले अर्गानिक तरकारी, फलफुल तथा मासुजन्य उत्पादनका लागि ब्यवस्थापन गर्‍यौ’–संचालक ब्याञ्जुले भन्नुभयो–‘केहि महिना भित्र रिसोर्ट संचालन भई ग्राहकहरु सेवा लिन आउँदा यहि उत्पादन भएका तरकारी, खसि र कुखुराको मासु, फलफुल उपभोग गर्न पाउनु हुनेछ ।’ आर्गानिक उत्पादनका लागि आफैले कम्पोस्ट र रोग सँग लड्न सक्ने क्षमताको मल उत्पादन शुरु गरिएको छ । काउली, बन्दा, रायोको साग तथा अन्य सागहरु, अन्य तरकारीहरु, सितागे च्याउ, धनियाँ तथा चस्मुर लगायतका उत्पादन भईरहेको छ । विषादी प्रयोग गर्दा धेरै फल्ने भए पनि विषादी प्रयोग नगरीकन उत्पादन भएका उत्पादनले स्वास्थ्यमा पार्ने प्रभावलाई मध्यनजर गर्दै आर्गानिक उत्पादनको प्रयास गरिएको हो ।

बेला फार्म रिसोर्टमा फलफुलका अधिकांश विरुवाहरु उत्पादनका लागि नर्सरी गरिएको छ । नर्सरीमा उत्पादन भएका विरुवाहरु निर्यात गरिनेछ । जग्गा बाहेक १ करोड लगानी भईसकेको उक्त रिसोर्टमा अहिले चारवटा कोठा तयार गरिएका छन् । कोठाको मोडल अन्य होटलहरुमा भन्दा फरक छ । तल्लो तल्लामा बाथरुम र टिभी सहितको बैठक कक्ष हुनेछ भने माख्लो तल्लामा सिंगल र डबल सुत्न मिल्ने बेडको ब्यवस्था गरिएको छ । चारवटा कोठामा समुह जाँदा २० जनासम्म सुत्न मिल्ने ब्यवस्थापन गरिएको छ । परिवार अलग अलग जाँदा सिंगल सिंगल रुममा बस्न मिल्ने ब्यवस्था गरिएको छ । रेस्टुरेन्ट र हल निर्माणको कार्य जारी छ । झण्डै १ सय जना अट्ने हल निर्माण हुनेछ । सेमिनारका लागि उक्त हल र रेस्टुरेन्टले थप सहयोग प्रदान गर्नेछ । रिसोर्ट उत्तरतर्फ फर्किएकाले हिमालका दृश्यहरु प्रस्टसँग हेर्न सकिनेछ । पाँचखाल तथा जिल्लाका अन्य भु–भाग, छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा लगायतका अन्य क्षेत्रको पनि अवलोकन गर्न सकिनेछ ।

एभोगाडो, ओखर, अन्मुन, अमिलो जातका फलफुलहरु रिसोर्टमै फल्न शुरु गरेका छन् । बाँझो जमिनमा उत्पादन सहितको रिसोर्टले स्थानीय स्तरमा रोजगार र अन्य अवसरको सिर्जना गर्ने संचालक ब्याञ्जुले बताउनु भयो । रिसोर्ट संचालन हुनु अघि पनि केहिले रोजगार प्राप्त गरिरहेका छन् । काभ्रेपलाञ्चोक जिल्ला पछिल्लो समय होटल तथा रेस्टुरेन्टहरुका लागि आर्कषक बन्दै गएको छ । राजधानीबाट ४५ किलोमिटर र सदरमुकाम धुलिखेलबाट १५ किलोमिटर टाढाको दुरीमा रहेको फेला फार्म रिसोर्ट आन्तरिक र बाह्य पर्यटकहरुको लागि उपयुक्त गन्तब्य बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्