प्राविधिक शिक्षा सञ्चालन गर्दा स्थानीय आवश्यकतालाई ध्यान दिनुपर्ने सरोकारवालाहरुको जोड



न्युज अफ नेपाल, कास्की।

व्यवहारिक, जीवनोपयोगी एवं व्यवसायिक प्राविधिक शिक्षा सञ्चालन गर्न स्थानीय सरोकारवालाहरुबीच नवलपुरमा बिहीवार एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशले आधारभूत तथा मध्यस्तरीय सीपयुक्त जनशक्ति उत्पादनमा प्रदेश र स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरी सो विषयमा सरोकारवालाहरुको सुझाव पनि संकलन गरेको थियो ।
प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन आवश्यकताको पहिचान गरी स्थानीय सरकारसँग सहकार्य गरी आगामी कार्यक्रम सञ्चालन गर्न र तीनै तहका सरकारहरुको नितीगत व्यवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्राविधिक तथा प्राविधिक शिक्षा सञ्चालन गर्दा स्थानीय आवश्यकतालाई ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्नु पूर्व स्थानीय सम्भावना र आवश्यकता के हो भन्ने निर्धारण हुनुपर्नेमा जोड दिनु भयो ।

प्राविधिक शिक्षा स्थानीय आवश्यकतामा आधारित भए मात्र उक्त ठाँउको आर्थिक उन्नती हुने उहाँको भनाई रहेको थियो । ‘लोकल इकोनमिलाई जोड्न सकिएन भने प्राविधिकधारका कार्यक्रमहरु दिगो र प्रभावकारी हुदैन, त्यसतर्फ कार्यक्रम सञ्चालनपूर्व नै ध्यान पुर्‍याउनुपर्छ’ उहाँले भन्नु भयो । स्थानीय आवश्कतालाई सही रुपले विश्लेषण गरी आवश्यकतामा आधारित नयाँ पाठ्यक्रम बनाएर भएपनि अगाडि बढ्न सुझाव दिनुभयो ।

गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव गंगा बहादुर क्षेत्रीले सरकारले लामो समयदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको भएपनि अपेक्षित उपलब्धी हासिल नभएकाले अब कार्यक्रमको मोडालिटी परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो । स्थानीय रुपमा उत्पादित जनशक्ति स्थानीय रुपमै खपत हुने गरी कार्यक्रम ल्याउन सुझाव दिनु भएको थियो ।

प्रदेश सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको स्तर निर्धारण र प्रमाणीकरण गर्ने तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको व्यवस्था गरी माग अनुसार जनशक्ति उत्पादन गर्न गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको स्थापन गरी सञ्चालन गरीरहेको उहाँले जानकारी गराउनु भएको थियो ।

सोही क्रममा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले सिटिइभिटीले विगतको अभ्यास भन्दा केही फरक ढंगले कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो । ‘तालिम दिएपछि सोही अनुसारको उद्यम गर्न प्रोत्साहन गर्नु हाम्रो पनि दायित्व हो’ उहाँले भन्नु भयो । स्थानीय सम्भावनालाई स्पष्ट परिभाषित गरी त्यहींको स्रोत साधनको प्रयोग हुने गरी जनशक्ति उत्पादन गरे मात्र त्यही ठाँउले लाभ लिन सक्ने उहाँको धारणा रहेको थियो ।

कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्ग बहादुर कमालले प्राविधिक शिक्षा समृद्धिको बलियो आधार भएकाले अब जनशक्ति उत्पादनसँगै सिटिइभिटीले रोजगारको प्रत्याभूत पनि गराउन सक्नुपर्नेमा जोड दिनु भएको थियो । रोजगारदाता संघसंस्थासँग सिटिइभिटीको समन्वय र सहकार्य बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नवलपुरका ८ स्थानीय सरकार मध्ये ६ स्थानीय सरकारका प्रतिनिधिहरुले प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि प्रतिवद्ध रहेको धारणा राख्नु भएको थियो । विगतमा व्यवसायिक तालिमहरु औपचारिकतामा मात्र समिति रहेको बताउदै स्थानीय सरकारका प्रतिनिधिहरुले अब तालिम लिएकाहरुलाई उद्यम गर्नमा प्रोत्साहन गर्ने बताउनु भएको थियो । साथै सिटिइभिटीसँग सहकार्य गरी स्थानीय आवश्यकतामा आधारित व्यवसायिक तालिमहरु सञ्चालन गर्न आफुँहरु सकारात्मक रहेको उहाँहरुको भनाइ थियो ।

सो अन्तरक्रियामा देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका, बौदीकाली, विनयी त्रिवेणी, हुप्सेकोट गाँउपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखहरुले सुझाव तथा आवश्यकता बारे आ–आफनो धारणा राख्नु भएको थियो ।

अन्तरक्रियामा उद्योग वाणिज्य संघ लगायतका व्यवसायिक संघ संस्थाले स्थानीय आवश्यकताको पूर्ति गर्दै रोजगार हुने खालका कार्यक्रम कार्यावन्यन गर्न सक्नुपर्नेमा जोड दिनु भएको थियो ।

साथै प्राविधिक शिक्षा सञ्चालन गरीरहेका बहुप्राविधिक शिक्षालयका प्रमुखहरुले विद्यार्थीहरुलाई प्रत्यक्ष रोजगारमा जोडनु अहिलेको प्रमुख चुनौती भएको धारणा राख्दै स्थानीय आवश्यकता र बढ्दो प्रविधिलाई मध्यनजर गरी समयानुकुल सिटिइभिटीले पाठ्यक्रम परिवर्तन र पारिमार्जन गर्न सुझाव आएको थियो ।

अन्तरक्रियामा प्राप्त सुझाव तथा जिज्ञासालाई सम्बोधन गर्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले सरोकारवालाहरुको सुझावका आधारमा सिटिइभिटीलाई आगामी दिनमा ठोस कार्यक्रम बनाएर अगाडि बढ्न सहज हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधि, उद्योगी, व्यवसायी, प्राविधिक शिक्षा सञ्चालन गरी रहेका शिक्षालयका प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थितीमा गरिएको अन्तक्रियाबाट प्राप्त निष्कर्षको आधारमा प्राविधिक शिक्षाका कार्यक्रमहरु क्रमश सञ्चालन गरिने आचार्यले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्