बझाङको सदरमुकाम चैनपुर उच्च जोखिममा

टेलिफोन, एफएम रेडियो र विद्युत् सेवा अवरुद्ध



ललित सिंह, बझाङ ।

लगातारको वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ । सेती, कालंगा नदी, बाहुली खोलालगायतका साना–ठूला खोलामा पानीको बहाव बढेको छ । नदीहरूमा पानीको सतह बढेसँगै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सावधानी अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले नदीको बहाब बढेकाले काठ उतार्न, माछा मार्न र पानीमा खेल्न, नदी, खोला नजिक नजान आग्रह गरेको हो । प्रशासनले जरुरी काममा बाहेक एक्लै नहिँड्न पनि आग्रह गरेको छ । सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीय निरनराम जोशीले बताउनुभयो । सेती र बाहुलीले सदरमुकाम आसपासको जमिन हरेक वर्ष कटान गर्ने गरेको बताउँदै उहाँ भन्नुहुन्छ– ‘बहुलीगाडले बेला–बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ । सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ ।’

बाहुलीको बितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन भएर सेती नदी र बाहुलीगाडतर्फ तटबन्धन गरिएको छ । लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध पनि बगाएको छ भने खोलाछेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ । बाहुली खोलामा आएको बाढीले सदरमुकाम चैनपुरको खोला छेउमा रहेका दुईवटा पोल्टी फर्म, बंगुर फर्म बगाएको छ । त्यस्तै, विभिन्न ठाउँमा गएको पहिरोले सयौं परिवार विस्थापित भएका छन् । बाढीका कारण लघु जलविद्युत् आयोजना, नहर, विद्यालय, ग्रामीण सडकमा क्षति पुगेको छ । पहिरोले सयौं रोपनी खेत बगाएको छ । तर, मोबाइलमा नेटवर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रूपक खड्का बताउनुहुन्छ ।

जिल्लाका ३ सय ९५ स्थान बाढी तथा पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकमा छ । जयपृथ्वी नगरपालिकाका १ सय १६, बुंगल नगरपालिकाका ५१, साइपाल गाउँपालिकाका ११, तल्कोट गाउँपालिकाका २५, मष्टा गाउँपालिकाका ५१, सुर्मा गाउँपालिकाका १३, छविसपाथिभेरा गाउँपालिकाका २२, दुर्गाथली गाउँपालिकाका १३, खप्तडछान्ना गाउँपालिकाका २०, थलारा गाउँपालिकाका १०, केदारस्युँ गाउँपालिकाका ३४ र वित्थडचिर गाउँपालिकाका २९ स्थान जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताउनुभयो ।

यसै गरी, तीन दिनदेखि घाम नलाग्दा बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिफोन टावरहरूमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । लगातारको बर्षाले जिल्लामा बाढी–पहिरोको जोखिम रहेको र केही भइहाले अत्यावश्यक कामका लागि खबर गर्न नेटवर्क नहुँदा निकै सास्ती भएको खप्तडछान्ना गाउँपालिका–४ का ईश्वर रोकाया बताउनुहुन्छ ।

‘टेलिफोनका टावरहरूमा विद्युत् नपुगेकाले सोलार प्यानलबाट चार्ज भइरहेको छ’, नेपाल टेलिकम शाखाका निमित्त प्रमुख बमबहादुर सिंह भन्नुहुन्छ– ‘लामो समय पानी परेको र बादल लागेकाले नेटवर्क अवरुद्ध भएको हो ।’ सौर्य ऊर्जाको भरमा सञ्चालित एफएम रेडियोको प्रसारण पनि अवरुद्ध छ । जिल्लामा रहेका ९ वटै एफएम रेडियोको रिले स्टेसन बसेर सौर्य ऊर्जा जडान गरिएका थिए । रिले स्टेसनमा घाम नलाग्दा ब्याट्री चार्ज हुन नपाएकाले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध भएको जयपृथ्वी एफएमका अध्यक्ष प्रताप ओलीले बताउनुभयो । ‘सबै रेडियोले सदरमुकामभन्दा टाढाका डाँडाहरूमा रिले टावर राखेर सञ्चालन गरिरहेको छ । दुई दिन घाम नलाग्दा सोलार चार्ज हुन नपाएर सूचना प्रवाह गर्न सकिएको छैन ।’ – उहाँले भन्नुभयो ।

विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज प्रभावित बनेका छन् । प्रादेशिक विद्युत् प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाइन पुगेका ६ पहाडी जिल्लामा विद्युत् अवरुद्ध भएको छ । हावाहुरी तथा अविरल वर्र्षाका कारण अत्तरिया चमेलिया प्रसारण लाइनमा समस्या देखिँदा आइतबारदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

जयपृथ्वी राजमार्ग अवरुद्ध

आइतबार रातिदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केदारस्युँ गाउँपालिकाको नारुगौडामा बाढी आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

धानवालीमा क्षति

वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । लगातारको वर्षाले सेती र कालंगा नदीका तटीय क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । पाकेर ठिक्क भएको र काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका ५ का नरेस सिंहले बताउनुभयो ।
जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलो, डुग्री, पडेस, साइलाबगर, केदारस्युँ गाउँपालिकाको झोता, देउरा, बुंगल नगरपालिकाको सट्टाय, विजगडा, गिरौलगायतका स्थानमा काटेर सुकाउन राखिएको धान भिजेको छ ।

प्रतिक्रिया दिनुहोस्