सर्वहारा जनताका नेतामा प्रचार–मोह



  • विनोद पौडेल

‘नाम होस् तर गुमनाम नहोस् ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा यो भनाइको सार्थकता झल्किन्छ । यो भनाइ चलचित्रकर्मीहरुमा निकै लागू हुने शब्द हो तर राजनीतिकर्मीमध्ये पनि ओलीबाहेक अन्य नेतामा यो भनाइ लागू भएको खासै देखिँदैन । उनी जे काम गर्दा पनि आफ्नो प्रचार गर्न रुचाउँछन् तर मिडियाकर्मी भने पटक्कै रुचाउँदैनन् आफूनिकटका बाहेक । पत्रकारको विरोध गरे पनि पत्रकार सम्मेलन र सम्पादक भेटघाट भने गरिरहन्छन् । त्यो पनि एकप्रकारको उनको व्यक्तित्वको प्रचारशैली हो भन्दा अत्युक्ति शायदै नहोला ।

हुन त केपी शर्मा ओली पार्टीको भन्दा पनि आफ्नै प्रचार गर्न रुचाउने नेता हुन् भन्दा फरक पर्दैन । यस्ता प्रचारका कार्य बेला–बेलामा गरिरहेका हुन्छन् । प्रचारका शैली पनि नयाँ–नयाँ अपनाउने गर्दछन् । नेकपा एमालेको विधान महाधिवेशन गोदावरीस्थित नवनिर्मित सुविधा सम्पन्न ६ हजार व्यक्ति अट्ने क्षमताको भवनमा चलेको थियो । एमालेको विधान महाधिवेशनमा पनि यस्तै विधान महाधिवेशनको तथा पार्टीको चर्चा गुमनामजस्तै छ तर पार्टीको अध्यक्ष केपी शर्मा ओलीको चर्चाले भने यति बेला राजनीतिक क्षेत्रभित्र चर्चा र विरोधका भावसमेत हुन थालेका छन् । अझ एमाले पार्टीभित्रैका नेता, कार्यकर्ता तथा उपस्थित प्रतिनिधिहरुले घुमाउरो पारामा विरोध गरिरहेका सञ्चारमाध्यममा सुन्न सकिन्छ । यस कारण ओलीको उक्त विधान महाधिवेशनमा विरोध गरिरहेका छन् कि विधान महाधिवेशनको प्रमुख आकर्षक भनेकै ओली प्रचारका बैलीहरु रहेका छन् । त्यसकारण सभास्थल अस्वाभाविक रहेको मान्न सकिन्छ ।

शहरका अधिकांश पोलहरुमा ओलीका टाउको झुन्डिएका छन्, महाधिवेशन स्थलसम्म पुग्ने सडकहरुमा सडक बोर्ड, गेट भव्यरुपमा बनाइएका छन् । अझ महाधिवेशन स्थलमा भने ओलीका बडेमानका डमीहरु बनाइएका छन्, जहाँ उपस्थित प्रतिनिधिहरु लाइन लागेर फोटो खिच्न कुरी बसेका छन् । कार्ल माक्र्स र एंगेल्सको प्रत्यक्ष सहयोगमा कम्युनिस्ट लिगका माध्यमबाट संगठितरूपमा शुरू भएको विश्व कम्युनिस्ट आन्दोलन अहिले विश्व राजनीतिको महत्वपूर्ण शक्ति बन्न पुगेको छ तर तिनै हाबी भएको महाधिवेशनमा देख्न सकिन्छ ।

निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जनआन्दोलनका क्रममा २२ अप्रिल १९४९ तदनुसार २००६ साल वैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपाका संस्थापक नेताका रुपमा पुष्पलाललगायतका नेताहरु थिए तर यो नेकपाको विधान महाधिवेशनमा उहाँहरुसमेत गुमनाम भएको देखिन्छ । कार्यक्रम स्थलको मुख्य मञ्चमा पुष्पलाल, मदन र मनमोहनको तस्वीरसहितका बोर्ड अटाउन सकेनन् । यसबाट पनि पुष्टि हुन्छ कि केपी ओलीको प्रचार–मोह अत्यधिक भएको छ । उनले आफ्नो प्रचारका विभिन्न हत्कन्डा अपनाएका छन् । लाग्छ, ओली यस्ता कार्यमा कति माहिर छन् भन्ने कुरा । कुनै सार्वजनिक मेला, महोत्सव तथा कार्यक्रम स्थलमा आगन्तुकको मनोरञ्जनका लागि विभिन्न आकर्षक डेकोरेसन र खेल देखाइन्छ । यसरी आगन्तुकलाई मनोरञ्जन दिएझैँ एमालेको विधान महाधिवेशनमा पनि ओलीको पूर्णकदको डमी प्रमुख आकर्षण बन्न पुगेको छ । आकर्षणस्थल, जहाँ प्रतिनिधिहरु फोटो खिच्न तँछाडमछाड गरिरहेका छन् । यति मात्र होइन, त्यहाँ उपस्थित सम्पूर्ण प्रतिनिधिका लागि खानेपानीका बोतलमा समेत ओलीको फोटोसहितको स्टिकर टाँसिएको छ । ओलीले यतिसम्म आफ्नो प्रचार गरेका छन् कि जहाँ–जहाँ उनको व्यक्तिगत प्रचार गर्न मिल्न सक्ने सम्भावना छ, त्यहाँ–त्यहाँ आफ्नै मात्र प्रचार गरेका छन् ।

यसकारण उनले आफूले आफंैलाई भगवान् ठानेका छन् । पार्टीको भन्दा पनि आफ्नै प्रचारमा विषेश ध्यान दिएका छन् । एमालेका संस्थापक नेताहरुको भने प्रचारमा महत्व ठानेनन् र आफ्नै व्यक्तित्व झल्काउने प्रचार गरे । हुन त पार्टीको अध्यक्ष भएपछि प्रचार त आवश्यक होला तर यति धेरै आफ्नै प्रचार त आवश्यक नहोला । यति धेरै प्रचार गर्न पनि निकै रकम खर्च होला नि ! यत्तिका रकम कहाँबाट आयो भन्ने कुराको पनि छानबिन हुनुपर्ने हो । एमालेको आफ्नो वेबसाइटमा एमालेको बारेमा उल्लेख गरिएको छ । भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ ।’ यसो भनेर व्याख्या गरे तापनि सार्थकता भने पाएको देखिँदैन । सर्वहारा श्रमजीवी जनताको पार्टी भनिए तापनि मोजमस्ती गर्ने पार्टीका रुपमा चिन्न सकिन्छ एमाले, जो ओलीका महँगा क्रियाकलापबाट स्पष्ट हुन्छ ।

केपी ओलीको प्रचार शैली यो नै पहिलो भने होइन । विगतको कुनै दिन नयाँ युगको शुरुवात भन्दै मुलुकको प्रधानमन्त्री भएपछि के–के न गर्छुजस्तै गरेर काठमाडौंका सडक–सडकमा आफ्ना टाउकाको पोस्टर, होर्डिङ बोर्ड राख्न लगाए । हरेक पोलमा लाइट बोर्ड राखियो । हरेक राष्ट्रिय स्तरका पत्रपत्रिका, टेलिभिजन, अनलाइन, रेडियो, चोक–गल्ली जहाँतहीँ नयाँ युगको शुरुवात भन्दै करोडौं रकम स्वाहा पारेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना बाँड्दै हिँडे उनी ।

लाग्छ, आजको यो दिनको अवस्था देखाउन नयाँ युगको शुरुवात गरेका थिए । असाध्यै आफ्नो प्रचार गर्न रुचाउने ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा कन्सर्टसमेत गर्न भ्याए, कुशल सारंगी वादकको भूमिका निर्वाह गरेर त्यहाँ पनि उनी निकै हाइलाइट भए । उनको घरमा भएका कार्यक्रममा समेत गीतको तालसँगै ठुम्का लागाउन पछि परेनन् । समृद्ध मुलुकहरुमा समेत यस्ता नेता विरलै पाइन्छन् होला, केपी ओलीका जस्ता उरुन्ठेउला अभिव्यक्ति र क्रियाकलाप गर्ने । उनी जहाँ जे गर्छन्, त्यो नै समाचार बन्छ । त्यो पनि प्रमुख प्राथमिकताका साथ । त्यसकारण पनि उनलाई हौसला प्राप्त भएको मान्न सकिन्छ । मैले जे गरे पनि मलाई जनताले विश्वास गरेका छन्, म नै जनताको प्रिय नेता हुँ भन्ने दम्भ उनमा पलाएको हो । त्यसैको प्रतिफल आज उनी आफ्नै प्रचारमा मात्र जोड दिइरहेका छन् । उनी आफ्ना कार्यको कसैले विरोध गरे पनि वास्ता राख्दैनन् । उल्टै जनता हँसाएर आफ्ना क्रियाकलाप आवश्यक भए भन्दै समर्थन मात्र गर्दछन् । उनी अरुको सामु कहिल्यै कमजोर बन्न चाहँदैनन् । तर त्यसले धोका मात्र दिइरहन्छ ।

ओलीको प्रधानमन्त्रीको पद खुस्केको २ महिना कटिसकेको छ । तर पनि उनमा प्रचार–मोह भने घटेको छैन, झन् बढ्दै गइरहेको छ । प्रधानमन्त्रीबाट बाहिरिँदा ओलीलाई बालुवाटारबाट बालकोटसम्म पु¥याउन, राजकीय सम्मानका साथ उनका कार्यकर्ताले नयाँ बुहारीझैँ बालकोटको घरमा भित्र्याएका थिए । सम्मानका भोका केपी ओली, उनका समर्थकले मोटरसाइल तथा गाडीको स्कर्टिङमा बालुवाटार छोडेर आफ्नै निवास बालकोटसम्म पु¥याएका थिए । तिनै ओलीले बार्दलीबाट चर्चित सेलिब्रेटीले जस्तै हात हल्लाएर आफ्ना फ्यानहरुलाई सम्बोधनसम्म गर्न भ्याए । ती कार्य पनि उनले चर्चा कमाउनकै लागि गरेका थिए । उनले आफ्नो चर्चा बटुल्नका लागि मात्र यस्तो गरेको बुझ्न सकिन्छ । पदबाट बाहिरिँदासमेत आफ्नो प्रचारमा कुनै कसर बाँकी नराखी भाडाकै भए पनि कार्यकर्ता उतारेर आफू कमजोर नभएको महसुस अन्य विपक्षीलाई गराएका थिए । उनी पदबाट निस्किँदा पनि कति शक्तिशाली रहेका छन् भन्ने कुराको प्रचार मात्र हो । यद्यपि कम्युनिस्टका नेतालाई त्यो आवश्यक थिएन तर उनी आवश्यक थिएन भन्ने कुरामा सहमत भने विल्कुलै राख्दैनन् । फराकिलो छाती पार्ने उनमा चेतना नै छैन भन्दा शायदै फरक पर्दैन ।

ओलीको आफ्नै मात्र प्रचार शैलीमा एमाले पार्टीभित्र अन्य नेताहरुले पनि विरोध गरेनन्, बरु उल्टै समर्थन मात्र जनाइरहे । यस्तो गरिरहँदा ओलीमा मनोबल बढिरहेको अनुभूत गर्न सकिन्छ । हुन त पार्टीको अध्यक्षका हैसियतले प्रचार आवश्यक होला तर अनावश्यक चर्चाले अन्य कुरालाई फाइदा पु¥याउँछ । अझ भन्ने हो भने यस्ता कार्यले उल्टै उनको साख गिर्नेबाहेक अन्य कुनै कुरामा महत्व राख्दैन । सरकारबाट झरेर प्रतिपक्षमा पुग्दा पनि उनमा उत्तिकै दम्भ छ । हालै पार्टीको प्रथम विधान महाधिवेशनमा ओलीले आफ्नो भव्य प्रचार गरे । विधान महाधिवेशनको प्रचारभन्दा पनि पार्टी अध्यक्ष केपी ओलीकै प्रचार भएको स्पष्ट देखिन्थ्यो । सडकका पोलभरि उनकै फोटा टाँसिएका थिए । अझ अधिवेशनको पहिलो दिनमा त कार्यस्थलसम्म जान केपी ओलीलाई सातदोबाटोबाट गोदावरीसम्म कार्यकर्ताद्वारा स्कर्टिङ नै गरिएको थियो । यसबाट झन् स्पष्ट हुन्छ, ओली प्रचारका भोगी रहेछन् । सम्मान रुचाउने ओलीले आफ्ना सुविधाका लागि जनतालाई कति दुःख दिएका छन् ? त्यो सब जगजाहेरै छ । अनि समृद्ध नेपाल, सुखी नेपालीको नारा कसका र केका लागि त ? सर्वहारा, श्रमजीवी जनताका नेताको त्यत्रो सम्मान के आवश्यक थियो र ? जनताका सर्वहारा नेतालाई त्यो आवश्यक थियो र ? कार्यकर्ताले व्यक्तिगत चर्चाका कार्य गर्दै छन् भने रोक्नु त कता हो कता, उल्टै समर्थन गर्दा आगामी चुनावमा जनताले पत्याउने सम्भावना कति रहन्छ, त्यो ख्याल राख्नुपर्ने होइन र ?

यस्ता आफ्नै मात्र प्रचारका हर्कत आगामी निर्वाचनको नतिजा नआएसम्म हो । जब निर्वाचनको नतिजा आउँछ तब यिनका दम्भ, चर्चा, परिचर्चा कमजोर हुदै जान्छन् । यस्तै हर्कत देखाइरहँदा जनताले आगामी निर्वाचनमा सही निर्णय लिने पक्कै छ । एकोहोरो एमालेको बहुमत आउँछ भन्दै विपक्षीको विरोध र प्रतिशोध राखेर हिँड्नुको सट्टा जनता लक्षित कार्यक्रम ल्याएमा जनताले पत्याउने थिए कि ! अहिले समयसँगसँगै मतदातामा पनि चेतना अभिवृद्धि हुँदै गएको छ । पहिलेको समयजस्तो छैन, सूचनाको पहुँच आमनागरिकसँग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्