‘स्यानी’ उपन्यास साहित्यमा पृथक् पहिचान



  • नगेन्द्रराज पौडेल

नेपाल सरकारका पूर्वसचिव डा. खगराज बरालले आमा लीलावतीको मृत्युलाई सन्दर्भ बनाएर लेखेको ‘स्यानी’ नामक उपन्यास सांग्रिला प्रकाशनले हालै प्रकाशनमा ल्याएको छ । उपन्यासकार डा. बरालले आमाको मृत्यु हुँदा आफूमा उब्जेका भावलाई अतीतका घटनासँग क्रम मिलाउँदै औपन्यासिक कथावस्तु पस्केका छन् । आमा बिरामी हुँदादेखि मृत्युुपश्चात् १३ औं दिनसम्मको घटनालाई व्यक्त गर्ने क्रममा उपन्यास बनेको छ । उपन्यासको कथा यत्ति हो । कथाभित्रका अनेकानेक उपकथा‚ प्रसंग र सन्दर्भ छन् । कौतुहलता छ । कथा हो कि घटना‚ त्यसैको वरिपरि उपन्यास घुमेको छ ।

कथावस्तु :

गद्यमा लेखिएकोले यो शोक उपन्यास हो‚ नत्र शोककाव्य बन्थ्यो । उपन्यासकार भन्छन्‌‚ ‘भाट खोलाले बगाउन नसकेकी मेरी आमालाई केले बगायो ?’ शोक अभिव्यक्तिका लागि यो वाक्य नै काफी छ । र‚ कम करुणा छैन यसमा । आमासँगका विगतका प्रसंगहरु पूर्वस्मृति शैलीमा यहाँ आएका छन् । स्वस्थानीका फूल सेलाउन लगेको जुन गंगाजीमा आमासँग लेखक गए‚ त्यसैमा अर्कोपटक आमालाई दागबत्ती दिन गएको कुरा स्मरण गराइएको छ । तुलसीको मठमा आमासँग भएको कुराकानी सम्झँदै गर्दा त्यही तुलसीको माठमा आमालाई सधैँका लागि सुताएर प्राण गएको प्रसंग आएको छ । अर्थात् अहिलेको घटनासँग विगतका घटनालाई जोडेर प्रस्तुत गर्नु लेखकीय कौशलता हो । प्रत्यक्ष कथा निकै कारुणिक छ । त्यसबाट मन अलग गर्न उपकथाहरु आएका छन्‌‚ जसले हाम्रो धर्म‚ दर्शन‚ विज्ञान र संस्कृतिको प्रतिनिधित्व गरेका छन् । उपन्यासकारलेे यहाँ एक तीरले दुई सिकार गरेका छन् । कथामा अलग–अलग प्रसंग आए पनि मूल कथा भने लेखककी आमा स्यानीकै वरपर फन्को मारेको छ ।

भाषा शैली :

भाषा आञ्चलिक छ । प्रथम पुरुष शैली अँगालिएको छ । गण्डकी र धवलागिरी अञ्चलका वरपर बोलिनेे कथ्य भाषा यहाँ पाइन्छ । भाषिक दुरुहता कतै छैन । १३ भागमा विभाजित प्रस्तुत उपन्यासमा पहिलो भागदेखि नै कथा र भाषाले कौतुहलता सिर्जना गराउँछ । यसपछि के भयो होला ? पाठकलाई यसको उत्तर खोज्न उपन्यास पढ्नै पर्छ । थोरै लेखकसँग मात्र पाइने यो विशेषता डा. बरालसँग पाउन सकिन्छ । भाषा अनुप्रासीय छ । संस्कृत‚ नेपाली र अंग्रेजी भाषा पनि यहाँ प्रसंगअनुसार आएका छन् । बालगीत‚ संस्कार–गीतको प्रस्तुतिले भाषामा सजीवता थपेको छ । संस्कृतका श्लोकहरुले हाम्रो प्राचीनतालाई झल्काएको छ । बालगीतले उपन्यासमा सजीवता थपेको छ ।
बिम्ब‚ प्रतीक :

धार्मिक मिथकहरु पनि यहाँ आएका छन् । विभिन्न विम्ब र प्रतीकले उपन्यास सजिएकोे छ । पढ्दै जाँदा म पुस्तक पढ्दै छु भन्ने भाव हराएर म कुनै ठाउँमा छु भन्ने भाव पाठकमा पैदा हुन्छ । गरुड पुराण भन्दाका विम्बात्मक दृश्यहरु जीवन्त बनेर आएका छन् । प्रत्येक दिनका पुराणका सार लेखकले पस्केका छन् । स्वस्थानी व्रतको बेलाका क्रियाकलापहरु हुबहु वर्णन गरेर एकातिर पाठकका लगि पूजाविधिको स्मरण गराएका छन् भने अर्कोतिर पाठकलाई म किताबमा छु कि स्वस्थानी पूजामा भन्ने अवस्थामा पुुर्‍याएका छन् ।

यद्यपि यो शोककाव्यकै व्यतिरेकी हो‚ शैलीका हिसाबले । कवितात्मक शैली नअपनाएकोले मात्र यो उपन्यास भएको छ । यहाँ शोकलाई भुल्न विगतका प्रसंग अघि सारेर लेखकले आफूमाफर्त पाठकलाई हँसाएका पनि छन् । शोक उपन्यास पढ्दा पनि हासिन्छ र ? किन ? नहाँसी सुखै छैन । यो कृति पढ्दा त्यस्तै लाग्छ । ‘मुती–मुती गाई साउनमा ब्याई’ भन्दा‚ देवी भागवतको पुस्तक लिन जाँदा देवी (पात्र) को किताब मागी ल्याएको प्रसंग निकाल्दा‚ कुकुरले नटोक्ने ‘ॐ कालीकुत्ते सेती दाँत आयो कुत्ते लफर–लफर कान‚ फर्किंदो कुत्ते महादेवकी बाहन फट्’ भन्दाका प्रसंगहरु कम हाँसो लाग्दा छैनन् ।

समाज चित्रण :

उपन्यासले हाम्रो समाजको यथार्थ चित्रण गरेको छ । भैंसी लड्दा रोएको प्रसंगले मानवेत्तर प्रेम झल्किन्छ । यहाँ कराइ खाने संस्कार होस् वा आफन्तहरु बिरामी पर्दा भाकल गर्ने चलन होस्‌‚ त्यसको विम्बात्मक प्रस्तुति पाइन्छ । दाइँमा गाइने गीत‚ मर्दा गरिने संस्कार‚ नागपूजाको प्रसंग‚ लुतो फाल्ने चलन आदिको प्रस्तुतिले उपन्यासमा समसामयिक समाज बोलेको छ । सामाजिक पक्ष सजीव भएर आएको छ ।

उपन्यासमा नेपाली समाजको यथार्थ चित्रण आएको छ । आगो लागेपछि इनार खन्ने कुराले हाम्रो सामाजिक पछौटेपनको उजागर गरेको छ । अस्पतालले सन्चो नगराएको बिरामीलाई फुफा‚ नागपूजाले निको बनाएको प्रसंगले हाम्रो सामाजिक विश्वासको चित्रण गरेको छ ।
उपन्यासमा फुरेउलाका कथा‚ भजन‚ दाइँ गीत‚ तीज गीत र रत्यौलीसम्मको दृश्य आएको छ । रत्यौलीका सन्दर्भमा उपन्यासकार भन्छन्‌‚ ‘रत्यौली भनेपछि आमाहरू देउराली स्वाँरादेखि साई स्वाँरासम्म पुगिहाल्थे ।’ बरालका मात्र होइन धेरैका आमाहरु रत्यौली मिस गर्दैनन् । हाम्रो समाजको यो पृथक् पहिचान हो । सामाजिक व्यवहारको क्रममा एकपटक आमा डाँडातिरकी हजुरआमासँग अनमेल विवाह गराउने काममा पनि सामेल भएको प्रसंग छ । बालविवाह त भयो तर त्यसपछि ती नानी कहाँ गइन्‌‚ कसरी जीवन निर्वाह गरिन् होला ? यो प्रश्न भने अनुत्तरित नै रह्यो ।

उपन्यासको शीर्षक ‘स्यानी’ छ । उपन्यास शीर्षकका वरपर घुमेको छ । कथा‚ उपकथा अन्यथा गए पनि अन्त्यमा घुम्दैफिर्दे रुम्जाटार भएका छन् । अर्थात् स्यानीमा आएर टुंगिएका छन् । तर उपन्यासका १२ भागसम्म स्यानी को हो ? थाहा हुँदैन । १३ औं भागमा पुगेपछि मात्र उपन्यासकारकी आमा स्यानीको चिनारी छ । यसैले उपन्यासको नाम ‘आमा’ जुराउन सकेको भए  बढी उपयुक्त हुन्थ्योजस्तो लाग्छ । किनभने उपन्यासभर आमा‚ आमा भनिएको छ । उनैको चर्चा छ । आमा अर्थात् स्यानी १३ औं भागले बल्ल प्रस्ट पार्छ ।

बहुविधाका धनी डा. खगराज बरालको प्रस्तुत उपन्यास ‘स्यानी’ कारुणिकताले भरिएको बहुकथा अँगालेर लेखिएको पृथक् पहिचानसहितको नवीन तथा पठनीय र संग्रहणीय कृति हो भन्दा अत्युक्ति हुँदैन ।

प्रतिक्रिया दिनुहोस्