भारतद्वारा नुनिलो कुल्ला गर्ने आरटी–पीसीआर प्रविधिको विकास



इन्डिया न्युज नेटवर्क।

कोभिड –१९ विरुद्ध भारतको लडाइँमा महत्वपूर्ण योगदान प्रस्तुत गर्दै वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआईआर) अन्तर्गतको नागपुरस्थित राष्ट्रिय पर्यावरण इन्जिनियरिङ् अनुसन्धान संस्थान (नीरी) ले नुनिलो कुल्ला गर्ने आरटी–पीसीआर प्रविधिको विकास गरेको छ । स्वदेशमै निर्मित यस प्रविधिमा कोभिड १९को नमुना परीक्षण गरिन्छ ।

यो प्रविधि सरल, छिटो, लागत प्रभावी, बिरामी अनुकूल र आरामदायक भएको मानिन्छ । यसले तुरुन्त परीक्षण परिणाम प्रदान गर्दछ र न्यूनतम पूर्वाधार भएको ग्रामीण र आदिवासी क्षेत्रहरूको लागि यो निकै उपयुक्त मानिएको छ ।

नीरीका अनुसार, संस्थानद्वारा विकसित नव प्रविधि समाजको सेवाका लागि र राष्ट्रका लागि समर्पित गरिएको छ । नागपुरस्थित अनुसन्धान संस्थानका अनुसार यो प्रविधि सूक्ष्म, लघु र मध्यम उद्यम मन्त्रालय (एमएसएमई) लाई हस्तान्तरण गरिएको छ ।

यसबाट निजी, सरकारी र विभिन्न ग्रामीण विकास योजनाहरू र विभागहरूले यस प्रविधिको प्रयोग गर्न पाउनेछन् । साथै यसबाट यस प्रविधिको व्यावसायीकरण गर्न पनि सहज हुनेछ ।

यदि यस प्रविधिले स्वीकृति पाउने हो भने व्यावसायिक उत्पादनका लागि निर्माण सुविधाहरू स्थापित गर्ने अपेक्षा गरिएको छ । प्रचलित महामारी स्थिति र कोभिड –१९ को सम्भावित तेस्रो लहरको प्रकाशमा सीएसआईआर नीरीले देशभरि यसको व्यापक प्रसार गर्ने तथा सम्भावित इजाजतपत्र प्राप्तकर्ताहरूलाई निर्माण प्रक्रिया हस्तान्तरण गर्ने योजना बनाएको छ ।

सन् २०२१ सेप्टेम्बर महिनाको ११ तारिखमा केन्द्रीय मन्त्री नीतिन गडकरीको उपस्थितिमा यस प्रविधिको हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा बोल्दै गडकरीले भनेका थिए– ‘देशभरि यस आरटी–पीसीआर विधिको खाँचो छ । तर, विशेष गरी ग्रामीण र आदिवासी क्षेत्रमा यस प्रविधिको झन् बढी आवश्यकता छ ।’

यो एक नागरिक मैत्री परीक्षण हो जसको मद्दतले महामारीका बिरुद्ध हाम्रो लडाईं बलियो हुनेछ ।’

एमएसएमई इकाइले सीएसआईआर नीरीद्वारा विकसित यस प्रविधिको व्यावसायीकरणका लागि सीएसआईआर नीरीलाई सम्पर्क गरेको थियो । नीरी वैज्ञानिक डा. कृष्ण खैरनार र पर्यावरण अनुसन्धान वैज्ञानिकले यस प्रविधिको विकास गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्