‘पहिलो पदोन्नतिका लागि चिकित्सकले अनिवार्यरूपमा ग्रामीण क्षेत्रमा सेवा गर्नुपर्ने’



इन्डिया न्युज नेटवर्क ।

प्रायः चिकित्सकहरू शहरी क्षेत्रमा काम गर्न रुचाउँछन् । यसै सन्दर्भमा भारतका उपराष्ट्रपति एम वेंकैया नायडूले सरकारी क्षेत्रका चिकित्सकहरूले पदोन्नति प्राप्त गर्नुअघि अनिवार्य रूपमा ग्रामीण क्षेत्रमा सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।

आइतबार ११ औं वार्षिक चिकित्सा शिक्षक दिवस पुरस्कार समारोहमा बोल्दै उपराष्ट्रपतिले देशका ६० प्रतिशत जनसंख्या गाउँमा बस्ने हुनाले युवा डाक्टरहरूले ग्रामीण क्षेत्रमा तीनदेखि पाँच वर्षका लागि आफ्नो सेवा प्रदान गर्नुपर्ने विचार व्यक्त गरेका छन् । चिकित्सा पेसालाई एक महान पेसाको रूपमा वर्णन गर्दै उनले डाक्टरहरूलाई जोशका साथ राष्ट्रको सेवा गर्न सल्लाह दिएका छन् ।

उनीहरूका सबै कार्य मानवताका लागि हुनुपर्ने बताउँदै उनले भनेका छन् – ‘दुविधामा हुँदा सधैं उच्चतम स्तरको नैतिकताको पालना गर्नुहोस् । निस्वार्थ समर्पणको भावनाले सेवा गर्नुहोस् र असीमित र वास्तविक खुशी प्राप्त गर्नुहोस् ।’

देशभरमा विशेषगरी ग्रामीण क्षेत्रहरूमा अत्याधुनिक स्वास्थ्य पूर्वाधार बनाउन आह्वान गर्दै उपराष्ट्रपतिले कोभिड १९ महामारीले राम्रो स्वास्थ्य पूर्वाधारको आवश्यकतालाई जोड दिँदै राज्य सरकारहरूलाई यसमा विशेष ध्यान दिन सल्लाह दिएका छन् ।

उपराष्ट्रपतिले देशमा चिकित्सक र बिरामी अनुपातमा खाडल कम गर्ने सरकारको प्रयासको उल्लेख गर्दै चिकित्सा अध्ययन संस्थानहरूको संख्या बढाउनुपर्ने आवश्यकतामा पनि जोड दिएका छन् ।

डब्ल्यूएचओले दिएको डाक्टर–बिरामी अनुपात मापदण्ड १ः१ हजार रहेको छ भने भारतमा यो अनुपात १ः१४ सय ५६ रहेको छ ।

प्रत्येक जिल्लामा कम्तीमा एउटा चिकित्सा अध्ययन संस्थानको स्थापना गर्ने सरकारको योजनाको प्रशंसा गर्दै उनले ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा काम गर्ने चिकित्सकको संख्या धेरै भएको उल्लेख गरेका छन् ।

चिकित्सा शिक्षा र उपचार दुवै किफायती र आम मानिसको पहुँचभित्र हुनु पर्नेमा पनि उनले जोड दिएका छन् । पर्याप्त बजेट प्रदान गरेर शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

उनले बताएका छन्– ‘परिवर्तनशील प्राविधिक विश्वमा हालका चिकित्सकीय उत्पादन नवीनतम निदान र उपचार प्रणालीसँग परिचित हुनुपर्ने हालको यस महामारीको समयमा यो झन् महत्वपूर्ण भएको छ । कोरोना भाइरस एक नयाँ भाइरस हो जसका बारे वैज्ञानिकहरूदेखि चिकित्सकसम्म अध्ययन गरिरहेका छन् ।’

चिकित्साशास्त्रका विद्यार्थीले उच्च नैतिक आचरण सिक्नु अनिवार्य छ । सही कारण, पेसा र बिरामीका हितको रक्षा गर्न सबै विद्यार्थीलाई आग्रह गर्दछु ।’

नायडूले स्नातकोत्तर चिकित्सा शिक्षा प्रदान गर्न सरकारसँग साझेदारी गरेका भारतका धेरै अग्रणी अस्पताल र चिकित्सा संस्थाहरूको सर्वोच्च संगठन नेसनल बोर्ड मान्यता प्राप्त संस्थाहरूको प्रशंसा गरेका छन् ।

यसैबीच उपराष्ट्रपतिले पूर्व राष्ट्रपति र राजनेता–दार्शनिक स्वर्गीय सर्वपल्ली राधाकृष्णनलाई सेप्टेम्बर ५ तारिखमा उनको जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले प्रसिद्ध हृदय रोग विशेषज्ञ र पब्लिक हेल्थ फाउन्डेसन अफ इन्डियाका अध्यक्ष, डा. के. श्री नाथ रेड्डी र डा. देवी शक्तिसहित अन्यलाई आजीवन उपलब्धि पुरस्कार पनि प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्