नेकामा चुनावी सरगर्मी : मकवानपुरबाट प्रदेश सभापतिमा उम्मेदवारी



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल कांग्रेसको आसन्न १४ औं महाअधिवेशनमा बागमती प्रदेश सभापतिमा माइकल रामचन्द्र अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । शनिबार हेटौंडा वडा नम्बर–२ का क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति तथा वर्तमान जिल्ला कमिटी प्रमुख सल्लाहकारसमेत रहनुभएका अर्यालले यस्तो घोषणा गर्नुभएको हो ।

नेता अर्यालले आफू मकवानपुरको एकमात्र सभापतिको उम्मेदवार बन्नेमा विश्वस्त रहेको बताउनुभयो । २०४६ सालको आन्दोलनमा अग्रपंक्तिमा रहेर मोर्चा सम्हाल्नुभएका नेता अर्यालले नेपाली कांग्रेसका देखिएको गुटगत् राजनीतिलाई पन्छाएर सम्पूर्ण कांग्रेसजनलाई एउटै चारतारे झण्डाको छातामुनि ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेता अर्यालले नेपाली कांग्रेसभित्रको गुटको दम्भका कारण गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले हार व्यहोर्नुपरेको स्मरण गर्दै आगामी स्थानीय निर्वाचनमा यस्तो अवस्था आउन नदिन सम्पूर्ण काग्रेसजनमा आग्रहसमेत गर्नुभयो । आइतबार हुने वडा तहको निर्वाचनमा सक्षम र पार्टीलाई योगदान दिनसक्ने व्यक्ति चयन गर्न उहाँले क्रियाशील सदस्यहरुलाई अनुरोध गर्नुभयो ।

रामचन्द्र अर्याल, यो नाम मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिकरुपमा लामो यात्राका एक यात्री हुनुहुन्छ माइकल । उहाँको जीवन संघर्षमय छ । २०३६ बैशाख १४ गते मुलुकमा पञ्चायती व्यवस्था थियो । तत्कालीन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका सबै क्षेत्र आक्रान्त थियो ।

नेपाल विद्यार्थी संघले तत्कालीन निरंकुश व्यवस्थाविरुद्ध आन्दोलन घोषणा ग-यो । आन्दोलनले चर्को रुप लिँदै थियो । त्यसताका अर्याल हेटौंडाको भुटनदेवी स्कुलमा कक्षा–९ मा अध्ययनरत् हुनुहुन्थ्यो । १३/१४ वर्षको उमेरमा उहाँ विद्यार्थीलाई नेतृत्व गर्नुहुन्थ्यो ।

आन्दोलन सुरु भयो भुटनदेवी स्कुलबाट । विद्यार्थी आन्दोलनलाई समर्थन जुटाउन हेटौंडा औद्योगिक क्षेत्र बन्द गराउने योजना थियो रामचन्द्र अर्यालसहित विद्यार्थीहरुको । भुटनदेवी स्कुलबाट औद्योगिक क्षेत्रमा रहेका उद्योगहरु बन्द गराउन अर्यालहरु कर्रा हुँदै त्यसतर्फ जाँदै थिए । कर्रा पुलमा प्रहरीहरु आन्दोलन नियन्त्रणका लागि बसिरहेका थिए । जम्काभेट हुनासाथ प्रहरी र आन्दोलनकारीबीच झडप सुरु भयो ।

प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गर्न थाल्यो । विद्यार्थीहरुले प्रहरीलाई ताकेर ढुंगामुढा प्रहार गर्न थाले । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । प्रहरीले हानेको गोली अर्यालको दाहिने खुट्टामा लाग्यो । उहाँ ढलेर र बेहोस हुनुभयो । विद्यार्थीहरुले उहाँलाई उठाएर अस्पताल लगे ।

हेटौंडामा उपचार हुन नसकेपछि अर्याललाई काठमाडौं पठाइयो । ३ महिना लामो उपचारपछि उहाँ निको त हुनुभयो । तर, पहिलेको जस्तो हिँडाइ भएन । खुट्टा खोच्याएर हिँड्न थाल्नुभयो । हालसम्म पनि उहाँ उसैगरि हिँड्नुहुन्छ । हो, त्यही दिनदेखि रामचन्द्र अर्यालबाट उहाँ माइकल रामचन्द्र अर्याल हुनुभयो ।

२०३८ सालमा उहाँ नेवि संघ मकवानपुरको सचिव र २०४६ मा अध्यक्ष हुनुभयो । माइकललाई ३ वटा मुद्धा लगाइयो । विद्यार्थी आन्दोलनका क्रममा एक प्रहरीको ज्यान गएको थियो । माइकललाई सोही प्रहरीको हत्या अभियोग लगाइयो । जसमा २० वर्ष जेल सजाय हुन्थ्यो । राज्यविरुद्ध अपराध गरेको अभियोग पनि लगाइयो ।

जसमा ३३ वर्ष सजाय हुन्थ्यो । त्यो मुद्धा पनि माइकलमाथि लाग्यो । सरकारी सवारीसाधन तोडफोड गरेको अर्को अभियोग पनि थप भयो । जुन अभियोगमा ३ वर्ष सजाय हुने प्रावधान थियो । कुल मिलाएर ५६ वर्ष जेल पठाउने तयारीसाथ उहाँमाथि मुद्धाहरु लागे । तर, कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले उहाँमाथि लागेका सबै मुद्धा फिर्ता लियो ।

प्रतिक्रिया दिनुहोस्