बाँकेका स्कुल सञ्चालनमा आउने



नेपाल समाचारपत्र, बाँके ।

बाँकेका स्कुल सञ्चालन हुने भएका छन् । सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेर स्थानीय निकायलाई स्कुल खोल्ने जिम्मा दिएपछि स्कुल खुल्ने भएका हुन् ।

बाँकेका स्कुल वैशाखदेखि नै बन्द रहेका छन् । वैशाख ९ गते नेपालगञ्ज एरिया र १३ गतेदेखि बाँके जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, बाँकेले सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेकाले पालिकाले नै स्कुल सञ्चालन गर्न सक्ने जनाएको छ । त्यसका लागि पालिकाले डीसीसीएमसीसँग समन्वय गर्नुपर्दछ ।

स्मार्ट लकडाउनमा चार वटा जोन निर्धारण गरिएको छ, रेड, मिस्क, एलो र ग्रिन जोन । जोनको निर्धारण नम्बरका आधारमा गरिएको छ । संक्रमण, भर्ना, मृत्युदर हेरेर नम्बर दिइन्छ र त्यो नम्बरका आधारमा जोन निर्धारण गरिएको छ । ६५ भन्दा बढी नम्बर आएको पालिका वा जिल्लालाई रेड जोनमा राखिएको छ । ३१ देखि ६५ सम्म नम्बर आएकालाई मिस्क जोन, १६ देखि ३० नम्बर सम्मका लागि एलो र १५ भन्दा तल नम्बर भएकालाई ग्रिन जोन भनिएको छ ।

यो नम्बरका आधारमा बाँकेका आठ वटा तहमध्येमा कोहलपुर नगरपालिका मिस्क जोन, नेपालगञ्ज उपमहानगरपालिका एलो र अरू ६ वटा पालिका ग्रिन जोनमा परेका छन् । पछिल्लो हप्ताको रिपोर्टअनुसार कोहलपुरमा संक्रमित धेरै छन् । त्यसपछि नेपालगञ्ज उपमहानगरपालिका पर्दछ । सरकारले ग्रिन जोनमा परेका स्थानीय तहलाई आफैंले निर्णय गरेर स्कुल सञ्चालन गर्न सक्ने भनेको छ ।

स्मार्ट लकडाउन कार्यविधिमा मिस्क जोन र एलो जोनमा परेका स्थानीय तहले स्कुल सञ्चालनका लागि डीसीसीएमसीमा निर्णय पठाएर पास गराउनु पर्दछ । कार्यविधि अनुसार, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले स्कुल खोल्ने सम्बन्धमा निर्णय गरेर डीसीसीएमसी बैठकमा पेस गर्नुपर्ने भएको छ । अरू पालिकाको हकमा पालिकाले स्कुल खोल्न सक्नेछन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले भोलि नै बैठक बसेर स्कुल सञ्चालन सम्बन्धमा सिफरिस गर्ने बताउनुभयो । ‘सिफ्ट मिलाएर स्कूल सञ्चालन गर्नुपर्ने देखिएको छ, हामीले भोली नै यस विषयमा निर्णय गरेर डीसीसीएमसीमा पठाउँछौं, उपमेयर थापाले भन्नुभयो, अब स्कुल त खोल्नै पर्छ ।’

ग्रिन जोनमा परेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सिफ्टमा स्कुल सञ्चालन गर्ने बताउनुभयो । ‘ग्रिन जोनमा परेकाले हामीले सबैलाई उपस्थित गराएर स्कूल सञ्चालन गर्न पनि सक्छौं, अध्यक्ष कक्षपतिले भन्नुभयो, तर हामीले अहिले तत्काललाई सिफ्ट मिलाएर स्कुल खोल्छौं ।’

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्थानीय तहले जोखिम मूल्यांकन गरेर सिफारिस गरेपछि डीसीसीएमसीले लकडाउन गर्ने बताउनुभयो । अबको लकडाउन जुन पालिकामा बढी संक्रमित हुन्छन्, त्यहीं मात्रै गर्ने रणनीति अघि सारिएको छ । यसअघि, कही कतै जोखिम देखिनेबित्तिकै जिल्लाभरि नै निषेधाज्ञा या लकडाउन गर्ने गरिएको थियो ।

बिहीबार बसेको डीसीसीएमसीको बैठकमा प्रजिअ गेलालले जनजीवनमा सहज बनाउँदै लैजानका लागि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको बताउनुभयो ।

बाँके केही महिनायता कोरोना संक्रमणदर घटेको छ । सरकारले वैशाखदेखि नै जारी गरेको निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म कायमै रहेको थियो । तर, पछिल्लो दिनमा निषेधाज्ञा नाम मात्रको थियो । नाम मात्रको निषेधाज्ञाले स्कूल, सिनेमा हल सञ्चालन गर्नबाहेक सबै खुल्ला गरेको थियो । लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै चर्को विरोध भएपछि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सार्दै स्कुल सञ्चालनका लागि स्थानीय तहलाई जिम्मा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्