बिदा हुँदै विद्यालय पुनर्निर्माण एकाइ, काभ्रेमा ७ अर्ब ६६ करोड खर्च, अझै साढे १० करोड अपुग



मोतीराम तिमल्सिना, काभ्रे ।

भूकम्पले क्षत–विक्षत बनाएका सामुदायिक विद्यालयहरु धमाधम पुर्नर्निमाण हुँदै छन् । भूकम्प गएको पाँच वर्षको अवधिमा जिल्लामा रहेका ५ सय ३५ वटा सामुदायिक विद्यालयका ५ सय ६० वटा भवनमध्ये ३ सय ५१ वटा विद्यालयका ४ सय ४९ वटा भवन पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणका लागि ७ अर्ब ६६ करोड २० लाख रुपियाँ खर्च भएको छ भने निर्माणाधीन भवनहरुका लागि १० करोड ५४ लाख अपुग छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाइका (शिक्षा) प्रमुख देवकुमार बरालले निर्माणाधीन १ सय ७ वटा विद्यालयको पुनर्निर्माण भइरहेको बताउनुभयो । निर्माणाधीनमध्ये ३ वटा टेन्डर भइसकेको छ भने १६ वटा काम शुरु हुन बाँकी छ । निर्माण सम्पन्न भएका ५ सय ६० वटा भवनमा २ हजार ६ सय ५३ वटा कक्षाकोठा निर्माण भएका छन् । कात्तिक महिनाबाट प्राधिकरणले निर्माणको कार्य हस्तान्तरण गर्ने तयारी गरेसँगै निर्माण जारी रहेका विद्यालय भवन तथा शौचालय निर्माणलाई स्थानीय तहमा हस्तान्तरणको तयारी भएको छ । ५० वटा शौचालय निर्माणाधीन रहेको छ । विद्यालय पुनर्निर्माण विद्यालय व्यवस्थापन समितिबाट २ सय २९ वटा, एडीबीको ऋणबाट ३८ वटा, गैरसरकारी संस्थाबाट ९२ वटा विद्यालय पुनर्निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिबाट ६५ वटा शौचालय निर्माण सम्पन्न भएका थिए ।

पुनर्निर्माणका लागि गैससमार्फत १ अर्ब २३ करोड ६४ लाख रुपियाँ खर्च भएको छ भने भारत सरकारमार्फत ६० करोड ७० लाख खर्च भएको छ । त्यस्तै, एसियाली विकास बैंकको ईईएपी कार्यक्रमअन्र्तगत २ अर्ब ७० करोड, डीआरएसी प्रथम खण्डबाट ६२ करोड ८८ लाख २८ हजार, दोस्रो खण्डबाट ५९ करोड ७३ लाख, तेस्रो खण्डबाट २८ करोड ७१ लाख, रेट्रोफिटिङका लागि ७ करोड ३७ लाख रुपियाँ पुनर्निर्माणका लागि खर्च भएको छ ।

बनेपा नगरपालिकामा १६ वटा विद्यालयमा १ सय ८ वटा कक्षाकोठा निर्माण भएका छन् भने बेथान्चोक गाउँपालिकामा १६ वटा विद्यालयमा १ सय ९ वटा कक्षाकोठा निर्माण भएका छन् । भुम्लु गाउँपालिकामा २४ वटा विद्यालयमा १ सय ७४ वटा कक्षा कोठा निर्माण भएका छन् । चौरीदेउराली गाउँपालिकामा १९ वटा विद्यालयमा १ सय ५५ वटा कक्षाकोठा, धुलिखेल नगरपालिकामा १६ वटा विद्यालयमा १ सय ५० वटा कक्षा निर्माण भएका छन् । खानिखोला गाउँपालिकामा २६ वटा विद्यालयमा १ सय १० वटा कक्षाकोठा निर्माण भएका छन् । महाभारत गाउँपालिकामा ३८ वटा विद्यालयमा २ सय ९८ वटा कक्षाकोठा निर्माण भएका छन् । मण्डनदेउपुर नगरपालिकामा २८ वटा विद्यालयमा २ सय २८ वटा कक्षाकोठा निर्माण भएका छन् । नमोबुद्ध नगरपालिकामा २५ वटा विद्यालयमा १ सय ९३ वटा कक्षाकोठा, पनौती नगरपालिकामा १३ वटा विद्यालयमा ८८ वटा कक्षाकोठा, पाँचखाल नगरपालिकामा २५ वटा विद्यालयमा १ सय ९० वटा कोठा र रोशी गाउँपालिकामा ४३ वटा विद्यालयमा २ सय ५८ वटा कोठा, तेमाल गाउँपालिकामा २० वटा विद्यालयमा १ सय ६७ वटा कक्षा कोठा निर्माण भएका छन् ।

विद्यालय भवन निर्माणका लागि बनेपामा २० करोड ८६ लाख, बेथान्चोकमा १८ करोड ९ लाख, चौरीदेउराली ४७ करोड ६७ लाख, भुम्लु गाउँपालिका ४० करोड ५५ लाख, धुलिखेलमा १ अर्ब ३९ लाख, मण्डनदेउपुरमा ५८ करोड २२ लाख, नमोबुद्ध ४३ करोड ५१ लाख, पनौती २२ करोड ३३ लाख, पाँचखाल ५३ करोड ७३ लाख, रोशी ४७ करोड २ लाख, खानीखोला १७ करोड ३५ लाख, महाभारत ७४ करोड ५२ लाख, तेमाल ३२ करोड ६८ लाख रुपियाँ खर्च भएको छ ।

२०७२ वैशाख १२ नजिकिँदै गर्दा भूकम्पको क्षति र पुनर्निर्माणको समीक्षा गर्ने क्रम शुरु भएको छ । सरकारले निजी आवासको किस्ता कात्तिक महिनाको अन्तिमसम्म तोकिसकेको छ । अन्य पुनर्निर्माणका कार्यहरु पनि स्थानीय तथा प्रदेश सरकारलाई हस्तान्तरणको तयारी शुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय अवधि छोटिँदै गएपछि पुनर्निर्माणको कार्यलाई तीव्रता दिएको छ । इन्जिनियर श्रेया झाका अनुसार जिल्लाका अधिकांश विद्यालयहरु पुनर्निर्माणबाट लाभान्वित भएका छन् । विद्यालयमा एडीबीको ऋण र नेपाल सरकारको सहयोगमा डीआरएसपी कार्यक्रमअन्तर्गत रेट्रोफिट कार्यक्रम सम्पन्न भएको इन्जिनियर झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्