धैर्यता आवश्यक छ



  • प्रेम रावत

कोरोना भाइरस वा कोभिड–१९ रोगबाट बच्ने समय हो यो । म तीन–चारवटा कुरा भन्न चाहन्छु । डराउनुपर्ने कुनै कुरा छैन । किनभने, एकदमै स–साना कुरामा तपाईँले ध्यान दिनुभयो भने तपाईँलाई यो रोगले आक्रमण गर्ने छैन । एउटा त आफूले आफैँलाई सफा–सुग्घर राख्नुहोस् । आफ्नो हातलाई धुनुहोस् । दोस्रो कुरा, आफ्नो मुख, नाक, आँखा यिनलाई नछुनुहोस् । हरेक अर्काे व्यक्तिसँग कमसेकम छ फिटको दूरी कायम राख्नुहोस् । यदि तपाईँ छुट्टै बस्नुपर्ने अवस्था (आइसोलेसन)मा हुनुहुन्छ वा आफ्नो घरमा हुनुहुन्छ भने परिवारसँग मिलिजुली यो समयलाई बिताउनुहोस् ।

यो कोरोना भाइरससँग तपाईँको त्यो आनन्दलाई हरण गर्ने कुनै त्यस्तो शक्ति छैन । त्यो आनन्द, त्यो शान्ति जसको म चर्चा गरिरहेको छु, यसले कोरोना भाइरससँग कुनै सम्बन्ध राख्दैन । यो शान्ति, यो आनन्दले केवल तपाईँसँग सम्बन्ध राख्छ । जबसम्म तपाईँको जीवनमा यो श्वास आइरहेको छ अनि गइरहेको हुन्छ तबसम्म यो शान्ति, यो आनन्द तपाईँभित्रै हुन्छ । खाली कुरा यतिमात्र हो– तपाईँ त्यो आनन्दलाई चाहनुहुन्छ कि चाहनुहुन्न !

जब यो कोरोना भाइरस आयो, मानिसहरूलाई डर लाग्न थाल्यो । उनीहरू निकै धेरै दुःखी भए । उनीहरू आफ्नै घरमा पनि राम्ररी बस्न सकिरहेका छैनन् । यो मनले तपाईँलाई घरमा हुँदा समेत दुःख दिइरहेको छ । यसले त कार्यालय (अफिस) मा पनि हैरान पार्ने नै छ । यो मन सबैतिर घुमिरहन्छ । तपाईँलाई दुःख दिइरहन्छ अनि तपाईँ दुःखी भइरहनुहुन्छ । तपाईँको प्रकृति दुःखी हुने होइन । तपाईँको प्रकृति त आनन्द लिने नै हो । यदि तपाईँ आफूले आफैँलाई बुझ्नुहुन्छ, चिन्नुहुन्छ भने तपाईँलाई थाहा हुनुपर्छ । तपाईँको वास्तविक प्रकृति भनेको त्यो शान्तिमा डुब्ने हो । तपाईँ जे–जस्तो हुनुहुन्छ त्यसको अत्यन्तै ठूलो महत्त्व छ । यदि तपाईँ शान्ति, आनन्दमय अवस्थामा हुनुहुन्न भने त्यसको असर अरू सबैमा पर्न जान्छ ।

एउटा कथा छ । एकजना व्यक्ति थिए । उनले धेरै धन कमाए । उनका दुईजना छोरा थिए । उनको यो संसारबाट बिदा हुनुपर्ने समय आएपछि उनले आफ्ना छोराहरूलाई छेउमा बोलाएर भने, ‘तिमीहरू दुईजनामध्ये कोही एकजना मेरो उत्तराधिकारी (हकवाला) हुनेछ । जसले मेरो प्रश्नको उत्तर दिन्छ, यो जे–जति पनि मैले कमाएको छु, त्यो पनि उसैको हुनेछ । म एक–एक गरेर तिमीहरू दुईजनालाई बोलाउनेछु र तिमीहरूसँग केही प्रश्न गर्नेछु । जसले मेरो प्रश्नको उत्तर राम्रोसँग दिनेछ उसलाई नै म आफ्नो उत्तराधिकारी घोषित गर्नेछु ।’ यति भनेर उनी अर्को कोठातिर लागे ।

उनले आफ्नो जेठो छोरालाई कोठामा बोलाए । त्यो कोठा निकै नै अँध्यारो थियो । उनले ती जेठा छोरालाई सोधे– ‘तिमी यो कोठामा के–के देखिरहेका छौ ?’

त्यसपछि उनले भने– ‘के–के देख्न सक्छौ ? यो कस्तो प्रश्न हो ! यो कोठामा त अँध्यारै अँध्यारो मात्र छ । म त केही पनि देख्न सक्दिन । म तपाईँको कुरालाई अवश्य सुनिरहेको छु । तर, मैले केही पनि देखिरहेको छैन । तपाईँबाहेक यो कोठामा अरू केही पनि छैन ।’ उनका पिताले भने– ‘ठीक छ, तिमी अब जाऊ ।’

उनले अर्कोचाहिँ छोरालाई बोलाएर सोधे– ‘तिमी यो कोठाभित्र के–के देख्न सक्छौ ?’

उनले भने– ‘म के–के देख्न सक्छु भनेर उत्तर दिनुपूर्व के तपाईँसँग केही कुरा सोध्न सक्छु ? म तपाईँसँग एउटा प्रश्न सोध्न चाहन्छु । त्यो प्रश्न के हो भने, ‘तपाईँले यति धेरै धन–सम्पत्ति कसरी कमाउनुभयो ?’

अनि, पिताजी खुशी भए । ‘मेरो छोराले मैले यो सबै सम्पत्ति कसरी कमाएँ भनेर जान्न चाहन्छ ।’ त्यसपछि भन्न थाले– ‘मैले यो सबै आफ्नै मिहिनेत र इमानदारीले कमाएको हुँ । जब मलाई कसो गर्ने हो भनेर केही पनि थाहा थिएन तब मैले मेरा साथीहरूसँग सल्लाह मागेँ । उनीहरू यस कुरामा जानकार थिए । त्यसपछि बिस्तारै–बिस्तारै धैर्यताका साथ मैले यी सबै चीजहरू जम्मा गरेँ ।’

अनि, उनका पिताले भने– ‘अब मेरो प्रश्नको पनि उत्तर देऊ । के तिमीले केही देखिरहेका छौ त ?’
उनले भने– ‘हजुर, म देखिरहेको छु ! तपाईँ त्यहाँ उभिइरहनुभएको छ । तपाईँको छेउमा टेबुल पनि छ । त्यहाँ कुर्सी राखिएको छ ।’

आखिर, उनले कसरी देख्न सके होलान् ? किनकि, जब उनका जेठा छोरा आए, उनले आफ्नो आँखालाई परिवर्तन हुने समय दिएनन् । हेर्नुहोस्, बाहिर घाम लागिरहेको बेलामा हामी बाहिरबाट अँध्यारो कोठाभित्र प्रवेश गर्छौँ । अनि, हाम्रो आँखालाई त्यस कोठाको अँध्यारोसँग घुलमिल हुनलाई केही समय लाग्छ । त्यसपछि बिस्तारै–बिस्तारै देख्न थाल्छ । जेठा छोराले त्यसको लागि समय दिएनन् । उनले भने– ‘मैले केही पनि देख्न सकिरहेको छैन ।’ त्यसपछि उनी गए ।

अर्कोचाहिँ छोरा बुद्धिमान थिए । उनलाई थाहा थियो, म त्यस अवस्थामा मात्र देख्न सक्छु जब म यी आँखालाई अलिकति समय दिनेछु । त्यसै कारणले उनले पहिला त आफ्ना बुबासँग नै प्रश्न सोधे । बुबाले उनलाई सम्झाइरहेका बेलासम्ममा उनको आँखा त्यस कोठाको अँध्यारोसँग घुलमिल भइसकेको थियो । त्यसपछि उनले सबै कुरा देख्न सफल भए ।

आफ्नो छोरोको बौद्धिकताबाट उनका बुबा एकदमै खुशी भए । त्यसपछि उनलाई आफ्नो उत्तराधिकारी घोषित गरिदिए ।
कुरा धनको होइन । कुरा त के मात्र हो भने, के तपाईँ पनि त्यो समय दिनुहुन्छ ! त्यो भित्रको चीजलाई जान्नका लागि जब तपाईँ बाहिरबाट, यो संसारबाट आपूmलाई भित्रतिर मोड्नुहुन्छ ! धेरै पटक हामी यस्तो हुने अवसर दिँदैनौँ । किनभने, यो धैर्यताको कुरा हो जुन एकदमै ठूलो कुरा हो ।

यस्तो परिस्थितिमा त दुःख लाग्नु स्वाभाविक हो । तर, तपाईँभित्र एउटा चीज छ जुन यी सारा परिस्थितिहरू भएर पनि त्यसले यी कुराहरूसँग सम्बन्ध गाँस्न चाहँदैन । त्यो दुःखी हुन चाहँदैन । त्यो हो– तपाईँको हृदय । त्यो हो वास्तविक ‘तपाईँ’ । त्यो हृदयमा भएको आनन्दलाई चिनेर यस्तो परिस्थितिमा यो समयलाई राम्रो तरिकाले आनन्दसँग बिताउनुहोस् । सबैभन्दा ठूलो कुरा त धैर्य गर्नुहोस् ।

प्रत्येक मानिसले आफ्नो जीवनमा सुख चाहन्छ । सुख त हुनु पनि पर्छ किनभने मानिसले सुखी भएर आफ्नो जीवनलाई बिताउन पाउनु, यो उसको अधिकार नै हो । त्यो सुखलाई प्राप्त गर्नका लागि मानिस आफ्नो परिवार र आफ्नो जीवनमा सुख–शान्ति कसरी ल्याउन सकिन्छ भनेर रातदिन मिहिनेत गरिरहन्छ । त्यसका लागि उसले प्रत्येक क्षण प्रयत्न गरिरहेको हुन्छ । तर, हरेक मानिसले जुन वास्तविक सुखको कामना गरिरहेको छ, त्यसका लागि जुन प्रयास गरिरहेको छ, त्यो कत्तिको ठीक छ त ?
हाम्रो जीवनमा जो–जोसँग हाम्रो सम्बन्ध छ, बच्चा, आमा, बुबा या अन्य नातेदारहरू, ती सबैका लागि दश सेकेन्डका लागि मात्र नै किन नहोस् एउटा सानो स्वर्ग बनाऊँ भनेर सोच्नुपर्दछ । बच्चाका लागि स्वर्ग के हुन्छ ? हामी उनीहरूसँग केही समय भए पनि सँगै बसौँ र उनीहरूको पढाइ तथा अन्य कामहरूमा सहयोग गरौँ । हामी आफ्ना आमाबुबाहरूसँग रहेर, केही कुरा गरेर थोरै समय भए पनि बिताउने गरौँ । पति–पत्नीहरूले एक–अर्कालाई सम्मान गरून् । हामीले यसो गर्न थाल्यौँ भने हाम्रो परिवारमा सधैँका लागि सुख–शान्ति हुनसक्छ । तर, हामीहरूले यस्ता कुरालाई भुलेर एक–आपसमा बहस गर्न अघि सर्छौँ ।

हामी उनीहरूकै कुरालाई वास्ता गरिरहन्छौँ, जसले हामीलाई केही वास्ता गरिरहेकै हुँदैनन् । हामीले कमसेकम आफ्ना छेउछाउका छरछिमेकी, आफ्ना परिवारका सदस्यहरूसँग प्रेम र सद्भावको वातावरण सृजना गर्दै एक–अर्काप्रति सद्व्यवहार गरेर सानो स्वर्ग बनाउने कोशिश गर्न सक्छौँ । यदि प्रत्येक मानिसले यो संसारमा यसो गर्न थाल्ने हो भने त एउटा ठूलो परिवर्तन हुनसक्छ । यसरी संसारभरि नै शान्ति सम्भव हुनसक्छ । यद्यपि मानिसहरूले यो कुरालाई असम्भव छ भनेर सोचिरहेका छन् । यदि चन्द्रमासम्म पुगेको कुरालाई हेर्ने हो भने, जसले त्यहाँ जान सम्भव छ भने उनीहरूकै कारणले त्यो सम्भव भयो । हामी पनि आफ्नो जीवनमा सानो स्वर्ग बनाउने कार्यका लागि प्रयास गर्न सक्छौँ, जसबाट सबैको जीवनमा सुख–शान्ति सम्भव हुन सकोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्