नेपाली कांग्रेसलाई अवसर र चुनौती दुवै



  • दुर्गाप्रसाद गौतम

गत निर्वाचनमा एक्लै अविश्वासको प्रस्तावसमेत दर्ता गर्न नसक्ने हैसियतमा प्रमुख प्रतिपक्षीको भूमिकामा जनताले नेपाली कांग्रेसलाई आफ्नो जनमत दिएका थिए । आफ्नै अकर्मण्यताका कारण कांग्रेसको त्यो अवस्था हुन पुगेको हो । तर अहिले जोडबल नगर्दा पनि नेपाली कांग्रेस सत्तासीन हुन पुगेको छ । सरकारमा रहेर अनावश्यक दम्भ र अपारदर्शी क्रियाकलाप गरेकै कारण नेपाल कम्युनिस्ट पार्टीप्रति जनस्तरमा नैरास्यता पलाई विश्वास कम हुन गएको यथार्थ हो । यही परिस्थितिले गर्दा सानो हैसियतमा खुम्चिन पुगेको नेपाली कांग्रेस यतिखेर सत्तामा पुगेको हो । यो अवसरलाई कांग्रेसले खेर फाल्नुहुँदैन ।

जनस्तरमा भने शेरबहादुर देउवाका अघिला चार कार्यकाललाई हेरेर खासै अपेक्षा रहेको देखिँदैन । यसका पछाडि प्रधानमन्त्रीका रुपमा देउवाका अघिल्ला कार्यकालमा धेरै विवादास्पद कार्यहरू भए । साँच्चै भन्ने हो भने, नेपालको संसदीय अभ्यासमा विकृतिको बीजारोपण गर्ने व्यक्ति नै देउवा हुन् भन्ने आरोप उनीमाथि रहिआएको छ । नेपालमा पजेरो तथा अन्य विकृतिको शुरुवात उनैले गरेका हुन् भन्ने आरोप छ । यही कारण उनको गएको तीन वर्षमा प्रदर्शित शालीन प्रतिपक्षीको भूमिकालाई पार्टीभित्रै र बाहिर पनि शंकाको दृष्टिबाट हेरियो ।

जनस्तरमा हाल गठबन्धनमा रहेका पार्टीहरुलाई हर्ने दृष्टिकोणमा पनि यिनीहरुका विगतका आचरण नै हाबी भएका कारण राम्रो छैन । आफन्तवाद, नातावाद, कृपावाद, चाकडीवाद हाबी छ । यो नेतृत्वले केवल सत्तामा आफ्नो पहुँचका लागि मात्र देश र जनता भन्छ, अन्यथा यिनीहरुले गर्ने भनेको भ्रष्टाचारलाई संस्थागत, भ्रष्टाचारीलाई उन्मुक्ति हो । सत्तासीन पार्टी र सरकारले आफू र आफ्नो गुणगान गाउन उद्यत भिजिलान्तेहरुलाई नै वरिपरि घुमाएर सधैँ स्तुति गानमा रमाउने परिपाटीको विकास गराएको हुन्छ । यसो हुँदा वास्तविक राम्रा मानिसहरुको संगतबाट नै नेतृत्व वञ्चितीकरणमा पर्न जान्छ । यो सब अवस्थाको सृजनाका कारण नै प्रतिफल नकारात्मक हुन गएको हो भन्ने हेक्का हुन जरुरी छ ।

नेताहरूलाई आम मानिसले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पनि नेतृत्व अलि बढी जिम्मेवार भई जनअपेक्षाका कार्यहरू गर्नु आवश्यक छ । यसका लागि शून्य सहनशीलतामा आधारित भई भ्रष्टाचार, अनियमितता, कुशासनजस्ता विषयविरुद्ध सरकार र गठबन्धनका दलहरुले जनतालाई विश्वस्त पार्नु जरुरी छ । तर नयाँ सरकारले शपथ लिएकै दिन ललिता निवास जग्गा प्रकरणमा लामो समयदेखि विशेष अदाललाई बेवास्ता गरिआएका कांग्रैस उपसभापति विजय गच्छदार अदालतमा हाजिर भएर धरौटीमा रिहा भएका छन् । अब आफ्ताब आलम निकट भविष्यमा जेलबाट रिहा हुन्छन् भन्ने जनस्तरमा परेकाले यो सरकारका काम–कारबाहीमा पक्षपात हुँदैन भन्न सकिन्न । सरकार विधिको शासनप्रति प्रतिबद्ध छ भन्ने कुरामा प्ररम्भमा नै आशंका पैदा भएको छ । अतः सरकार तथा सरकारमा सामेल दलहरूले जनतामा रहेको यो शंकालाई हटाउनका लागि विश्वसनीय आधार सृजना गर्नुपर्छ ।

नेपाली कांग्रेसले संकटका बेला मुलुकलाई धेरै पटक निकास दिएर अस्थिरतालाई चिरेको छ । मुलुक निर्वाचन नै हुन नसकी अन्योलतातर्फ धकिलिन्छ कि भन्ने बेलामा तीनै तहको निर्वाचन सम्पन्न गरी संविधानको सफल कार्यान्वयनको आधार तय गर्‍यो । यो सफलताको छुट्टै व्याख्या होला तर हाललाई यो प्राप्त अवसरलाई सदुपयोग गरी अघिल्ला कर्यकालमा भएका कमी–कमजोरीलाई हटाउँदै राम्रो काममार्फत सधैँका लागि अनुकरणीय बन्ने अवसर प्रधानमन्त्री देउवाका लागि छ । उनले गर्ने यो अवसरको सदुपयोग वा दुरुपयोगले सिंगो नेपाली कांग्रेसको भविष्यलाई निर्धारण गर्नेछ ।

त्यसै भएर अब कांग्रेसलाई किन्तु, परन्तु भनेर कुनै छुट उपलब्ध हुनेछैन । यदि देउवाले हाल प्राप्त अवसरलाई साँच्चै विधिको शासन स्थापित गरी सीमित घेरा तोड्दै सबैका लागि राज्य भन्ने कुरा आमजनतामा पार्न सके यसले उनको पहिलाको नकारात्मक छविलाई सफा गर्नेछ । साथै यसले सिंगो कांग्रेसप्रति नै जनताको क्रेजमा वृद्धि गर्नेछ । अन्यथा केपी ओलीले गर्न नसकेको जनताप्रतिको उत्तरदायी व्यहार र उनको अकर्मण्यताको दोषसमेत वर्तमान सरकारमा थोपरिनेछ । त्यसैले शेरबहादुर देउवा यतातर्फ चनाखो हुनुपर्ने देखिन्छ ।

मुलुककै पाँच–पाँचपटक प्रधानमन्त्री र पार्टीको सभापति भैसकेका देउवाले मुलुक र पार्टीबाट प्राप्त गर्ने सबै कुरा प्राप्त गरिसके । अब उनले मैले मुलुक र पार्टीका लागि दिने मात्र हो, लिनु केही छैन, म देश र जनतालाई केन्द्रमा राखेर काम गर्छु भन्ने अठोट गर्नुपर्छ । अनि मात्र उनको राजनीतिक जीवनलाई सार्थक बनाई कांग्रेसको आगामी पुस्ताको राजनीतिक भविष्यलाई सुनिश्चित गर्दछ । बाँचुन्जेल नेपाली कांग्रेसको सभापति पनि मै र राज्यको शक्ति पनि मै हो, सबैले मेरै अगाडि–पछाडि घुम्नुपर्छ भनेर उनले सोचेका छन् भने यो पुनः असफलताको शुरुवात हो । यसले गर्दा नेपाली कांग्रेसको यही मियोबाट मुलुक र जनताको भलाइ गर्छु भनी राजनीति गरेका ठूलो तप्कालाई अकल्पनीय घाटा पुग्नेछ ।

यी कुरालाई मनन गर्दै कोरोनाको कहरबाट प्रताडित जनताको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरी बेलैमा स्वास्थ्य क्षेत्रका विकृतिमाथि विजय प्राप्त गर्न कुनै कसरत बाँकी राख्नुहुँदैन । यसमा सरकार तल्लीन छ है भन्ने विश्वास सञ्चारित गर्न सक्नुपर्छ । साथै लामो समयदेखि कोरोनाको प्रत्यक्ष प्रभावले थला परेका क्षेत्र उथानका लागि के–कस्ता कदमहरु सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ ध्यान जानु जरुरी छ । लोक कल्याणकारी राज्य निर्माणमा सरकार खरोरुपमा प्रस्तुत हुन सक्नुपर्छ । जनजीविकाको सवालमा सरकारको स्पष्ट रोडम्याप हुनुपर्छ । सोही अनुरुपको व्यवहार राज्यद्वारा प्रस्तुत हुन जरुरी छ । यसमा नेपाली कांग्रेसको आगामी दिन सुनिश्चित गर्ने अवसर हुन्छ । अन्यथा आजको सत्तारोहण आगामी दिनका लागि ठूलो संकटसिवाय केही हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्