ड्रागन खेतीमा आकर्षण



अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले किसानलाई अभिप्रेरित गर्न ड्रागन फ्रुट खेतीको शुरुआत गरेको छ । गाउँपालिका वडा नं. ४ को पुछार भन्ने ठाउँमा स्थानीयको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर ड्रागन फ्रुट लगाएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

“सिञ्चाईका लागि पर्याप्त पानी नचाहिने, यहाँको हावापानी, माटो सुहाउँदो भएकाले विशेषगरी यस खेतीलाई नमूनाको रुपमा अगाडि बढाएका हौं” अध्यक्ष थापाले भन्नुभयो, “गाउँपालिकाले भन्दा पनि शुरुको चरणमा स्थानीय किसानहरु, कृषक समूह, सहकारीलाई यो खेती लगाउन गाउँपालिकाले प्रोत्साहन गर्ने नीति लियौं तर शुरुमा यहाँका लागि यो खेती नयाँ भएकाले खासै रुचि नदेखाएपछि गाउँपालिकाले नै यसको ब्यवसायिक शुरुआत गरेको हो ।” गतवर्ष ३ हजार बिरुवा लगाईएको थियो भने यसवर्ष १ हजार ८ सय बिरुवा थप गरी कूल ४ हजार ८ सय बिरुवा लगाईएको हो ।

“अध्ययन अनुसार सुख्खा ठाउँ, पानी थोरै भएपनि हुने र यहाँको हावापानी तथा माटो अनुसार ड्रागन फ्रुटको संभावना बढी देखियो” अध्यक्ष थापाले भन्नुभयो, “यसको ब्यवसायिक उत्पादन यहाँ संभव छ भन्ने देखाउँदै किसानलाई अभिप्रेरित गर्नका लागि पनि गाउँपालिका आँफैले खेतीको शुरुआत गरेको हो ।” अहिले गाउँपालिकाले ईच्छुक किसान, कृषक समूह तथा सहकारीहरुलाई बिरुवामा ५० प्रतिशत अनुदान, पोलमा शत प्रतिशत अनुदानसहित आवश्यक प्राविधिक तालीम तथा सहयोग उपलब्ध गराउँदै आएकाले किसानहरु ड्रागन फ्रुटप्रति आकर्षित हुँदै गएका छन् ।

गाउँपालिकाले अहिले बिरुवा उत्पादन गरी किसानहरुलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आईरहेको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार ५० वटाभन्दा धेरै बिरुवा लगाउने किसान, समूहहरुलाई ५० प्रतिशत अनुदान तथा पोल निशुल्क उपलब्ध गराउँदै आएको छ । यो खेती विस्तारका लागि गाउँपालिकाले हालसम्म रु. ८५ लाख लगानी गरिसकेको छ । ठूला–ठूला सम्म परेका बारीका पाटा भएर पनि सिञ्चाईको अभाव भएकाले गाउँपालिकाले सिञ्चाईका लागि लिफ्टिङ गरी पानी तानेर सिञ्चाईको ब्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले बताउनुभयो ।

गाउँपालिकाले नमूनाको रुपमा थालेको ड्रागन फ्रुट खेतीमा विस्तारै किसानहरु आकर्षित हुँदै गएकाले यहाँको किसान समूह तथा सहकारीका लागि आम्दानीको स्रोतको रुपमा विकास गर्न सकिने धारणा अधिकृत ज्ञवालीको छ । किसान समूह तथा सहकारीहरुले उत्पादन गरेका बिरुवा तथा फलको बजारीकरणको ब्यवस्थापन गाउँपालिकाले गरिदिने भएको छ । कालीगण्डकी गाउँपालिकाको गहना तथा नमूनाको रुपमा यो खेती विस्तार गरिएको प्राविधिक गम्बरसिंह थापाले बताउनुभयो । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र नयाँ नौलो खेती भित्रिनुका साथै यहाका स्थानीयले रोजगारीसमेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्