परिवर्तन नै जीवनको नियम हो



  • प्रेम रावत

मानिसहरू जीवनमा सत्य के हो भनेर बुझ्न चाहन्छन् । तपाईँ रेलमा यात्रा गरिरहनुभएको बेलामा त्यहाँ भएको झ्यालबाट बाहिर हेर्नुहुन्छ । झ्याल त कतै गइरहेको हुन्छ भन्ने लाग्दैन । त्यो जहाँको त्यहीँ नै हुन्छ तर रुख–बिरुवा, कार, गाई, भैँसी, घर, छाप्रो ती सबै चीजहरू हिँडिरहेका देखिन्छन् । यदि कसैको जन्म नै रेलभित्र भयो अनि त्यसैभित्र ऊ हुर्कियो भने उसले त केवल रेल चलिरहेको मात्र देखेको हुन्छ । यदि उसलाई सोधौँ– कुनचाहिँ चीज हिँडिरहेको छ र कुन चीज जहाँको त्यहीँ नै छ ? तब उसले के भन्ला ? झ्याल त हिँड्दैन– रुख हिँड्छ, घर हिँड्छ किनकि उसले यस्तै नै देखेको छ ।

मायाको एउटा अर्को प्रकृति के हो भने त्यो बदलिरहन्छ । जे छ त्यो वास्तविक होइन । जे छैन त्यही देखिन्छ । अब तपाईँ कुन चीजमाथि विश्वास राख्नुहुन्छ ? सारा संसारले त एउटै चीजमाथि विश्वास गर्छ– पैसा कमाउनुभयो भने त्यसबाट तपाईँलाई आनन्द प्राप्त हुन्छ । यो तपाईँको रटाइ होइन भने त ठिक्कै छ तर संसारले यही कुरालाई रटिरहेको छ कि छैन ?

जुन पैसाका लागि तपाईँ यति धेरै मिहिनेत गर्नुहुन्छ यो दुनियाँले त्यही पैसा तपाईँबाट लिएर राखेको छ । त्यसबापत तपाईँलाई एउटा प्लास्टिकको कार्ड (क्रेडिट कार्ड) थमाएको छ । एउटा समय त कस्तो थियो भने महिना दिनपछि, हप्तादिनपछि पैसा हात पथ्र्यो । त्यसलाई तपाईँले गन्न सक्नुहुन्थ्यो । गोजीमा राख्न सक्नुहुन्थ्यो, खर्च गर्न सक्नुहुन्थ्यो, बचाउन सक्नुहुन्थ्यो । अब सक्नुहुन्न । अहिले कहाँ हुन्छ ? तपाईँलाई थाहा नै हुँदैन । छ या छैन भनेर तपाईँले खर्च नगरुन्जेलसम्म त तपाईँलाई थाहा नै हुँदैन । एउटा समय त ‘हो अहिले छ, अहिले सकिएको छ’ भनेर हेर्न सकिन्थ्यो । क्रेडिट कार्डलाई जोखेर ‘यसमा पैसा छ कि छैन’ भनी तपाईँले अनुमान लाउन सक्नुहुन्न । दुनियाँले त

कस्तो बनाए भने ‘कति खर्च गरिरहेका छौ भन्ने कुरालाई वास्ता नगर, खर्च गर तर जिन्दगीभरि ऋणको बोझ बोकिरहू ।’
तपाईँ कसको नोकरी गरिरहनुभएको छ ! आफ्नो ? किनभने, यदि तपाईँ आफ्नो मालिक हुनुहुन्छ भने तपाईँलाई त केही प्राप्त हुँदैन । कतै पनि पाइँदैन । यदि यो संसारको जागिर खाइरहनुभएको छ भने, यदि केही पाइहालियो भने तब पनि केही हात लाग्नेछैन । जस्तो सिकन्दरले भनेका थिए नि– ‘खालि हात आएको थिएँ, खालि हात नै गइरहेको छु ।’ यसर्थ कसको जागिर खाइरहेका छौँ ? कसको चिन्ता गर्छौँ ? आफ्नो ? यदि आफ्नो चिन्ता गरियो भने केही पनि पाइँदैन । न अहिले, न पछि अनि न त अवकाशपछि । यदि तपाईँ सतनामको चिन्ता गर्नुहुन्छ, उनको नोकरी गरिरहनुभएको छ भने त तपाईँसँग राख्ने पर्याप्त ठाउँ नै छैन जति तपाईँ पाइरहनुभएको छ । पाइनेछ होइन, पाइरहनुभएको छ । त्यसलाई तपाईँ बटुलेर राख्नै सक्नुहुन्न । तर, त्यसको अर्थात् त्यो मुद्रा (सिक्का) को एउटै पहिचान के छ भने ‘परमानन्द, आनन्द’ । ‘परमानेन्ट र परमानन्द’ । अलि उस्तै–उस्तै सुनिन्छ । अनि, तिनै एक चीज अर्थात् परमानन्द नै परमानेन्ट (स्थायी) हुन् ।

सनातन कालदेखि नै आचार्य (गुरु) र शिष्यको परम्परा रहँदै आएको छ । शिष्य जान्न चाहन्छ अनि गुरुसँग उसलाई स्पष्ट पार्न सक्ने क्षमता हुन्छ । गुरुको काम उसलाई केवल बताइदिनु र ज्ञान प्रदान गर्नु मात्रै होइन । अझ ज्ञान प्रदान गर्नका लागि ती व्यक्तिलाई तयार बनाउनु पनि हो । किनभने, मानिसले त ज्ञान के हो भन्ने कुरा नै बुझेको हुँदैन ।

मानिसहरू शान्तिका बारेमा कुरा गर्छन् । शान्ति सबैलाई चाहिएको छ तर शान्ति के हो भनेर कसैलाई थाहा छैन । हरेक परिवार, हरव्यक्ति आनन्दका साथ रहन चाहन्छ । आशीर्वाद दिन्छन् नि– आनन्द होस्, मङ्गल होस् ! मङ्गल के हो भन्ने कुरा मानिसलाई थाहा छैन । आनन्द के हो भनेर यसबारेमा पनि मानिसलाई थाहा छैन । हरेक व्यक्ति जो यहाँ (यस संसारमा) छ– ऊ छोराका रूपमा होइन, श्रीमान्का रूपमा होइन, बुबाका रूपमा होइन, दाजुभाइका रूपमा होइन, बहिनीका रूपमा होइन । केवल मानिसका रूपमा छ । मानिसका रूपमा ! यसर्थ जान्नुपर्ने अनि बुझ्नुपर्ने कुरा छ । यस जीवनमा बुझ्नुपर्ने कुरा के मात्र हो भने रेलमा जसले यात्रा गरिरहेको छ उसले रुख, घर, गाई, भैँसी, साइकलमा चढेको मानिस कतै यताउता गइरहेको होइन, त्यो रेल नै गुडिरहेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । त्यसकारण यी सबै चीजहरू बदलिनेछन् । एकदिन यी सबै चीजबीजहरू रहनेछैनन् ।

एउटा सानो कथा छ । एकपटक एकजना व्यक्ति एक सन्तकहाँ गए । उनले भने– ‘मेरो मन यताउता दौडिरहन्छ । मेरो टाउको पनि दुखिरहन्छ । मेरो त खुट्टामा पनि दुख्ने समस्या छ । मेरो ढाड पनि दुखिरहन्छ । मलाई केही पनि गर्न मन नै लाग्दैन ।’ सन्तले भने, ‘तिमी चिन्ता नगर यो समय पनि जानेछ ।’

केही समयपछि तिनै व्यक्तिले फेरि आएर भने– ‘तपाईँले भन्नुभएको सत्य रहेछ । अहिले मलाई ठीक छ । मेरो शिरको दुःखाइ पनि छैन, मेरो ढाड पनि दुखेको छैन । मेरो खुट्टामा पनि कुनै पीडा छैन । सबै कुरा राम्रो भएको छ ।’

सन्तले उनीतिर फर्केर फेरि भने– ‘तिमी चिन्ता नगर यो पनि बित्नेछ ।’

यो लघुकथाबाट पाइने शिक्षाका बारेमा बुझ्नुपर्ने कुरा छ ।

मानिसले चाहना राखेका हरेक चीज अस्थायी हुन् भन्ने कुरालाई उसले बुझेको हुँदैन । यो बदलिने कुरा हो । जस्ताको त्यस्तै रहँदैन । हामी यस कुरातर्फ ध्यान दिँदैनौँ । हामीलाई के सिकाइएको छ ? हामीलाई के भनिएको छ ? यस संसारमा हामीले बाल्यकालमा रहँदा बताइएको कुरालाई अँगाल्दै गयौँ । हामी हुर्कँदै गएपछि त्यही कुरालाई नै स्वीकार गर्दै अघि बढ्यौँ । तपाईँलाई कुन कुराले चिन्तित तुल्याउँछ ? परिवार भएका मानिसहरूलाई सोध्ने हो भने उनीहरूलाई कुन कुराको चिन्ता हुन्छ ? उनीहरूलाई आफ्नो परिवारको चिन्ता रहन्छ– ‘मेरो छोरो पढिरहेको छ कि छैन ?’ यदि तपाईँ जवान हुनुहुन्छ, अनि तपाईँले जागिर खानुभएको छ भने तपाईँमा कुन चीजको चिन्ता रहन्छ ? आफ्नो जागिरकै चिन्ता हुन्छ । यदि कोही बिरामी भयो भने उसलाई पनि कुन चीजको चिन्ता हुन्छ त– आफ्नो शरीरका बारेमा चिन्ता हुन्छ ।

सन्तहरूको भनाइ त के छ भने, तपाईँले यी विषयमा चिन्ता गर्नुहुँदैन । यसको कारण के हो भने, यी सबै कुरा बदलिन्छन् । एकदिन यी सारा कुराहरू रहँदैनन् । यसको चिन्ता नगर्नुहोस् । जबसम्म हामीले परिवर्तनशील चीजको प्रकृतिलाई बुझ्दैनौँ तबसम्म जुन बदलिँदैन त्यसलाई हामीले कहिल्यै पनि बुझ्न सक्दैनौँ ।

सुख र दुःख त आउनेछन् । यसको सारांश यो वाक्यबाटै बुझिन्छ– ‘यो समय पनि जानेछ ।’ यदि सुख छ भने अहिल्यैदेखि दुःखबाट जोगिने तयारी गर्नुपर्छ । यदि दुःखी हुनुहुन्छ भने चिन्ता केका लागि ? दुःख त जानका लागि नै आएको हो । केवल यो कुरालाई बुझ्नु आवश्यक हुन्छ । यो बुझ्नु किन आवश्यक छ भने, शायद यो कुरा थाहा पाएर तपाईँलाई अचम्म लाग्छ होला । तर, मानिससँग केवल २५ हजार ५ सय ५० दिन मात्र हुन्छ । आज मानिसको औसत आयु ७० वर्षको न छ । अर्थात् २५ हजार ५ सय ५० दिन । यीमध्ये धेरै दिन त बितिसके । अब जति बाँकी छ, त्यसलाई सुख र दुःखको जाँतोभित्र किन पिँध्ने ? सुख र दुःखको चक्करबाट उम्किएर हरेक दिनको मूल्यलाई बुझ्नु आवश्यक छ । किनकि, २५ हजार ५ सय ५० दिनमध्ये एक दिन घटिरहेको छ । जुन कहिल्यै फर्केर आउँदैन । त्यसैले हरेक दिन त्यो उड्ने पुतली जसरी जीवन जिउनुपर्छ । जो केवल एक दिनका लागि बाँच्छ अनि आफ्नो लक्ष्य जुन प्रकाशतर्फ छ, त्यसबाट हट्दैन ।

मानिसको जिन्दगीको पनि एउटा लक्ष्य छ । त्यो लक्ष्य के हो भने, शान्तिमा रहेर यो जीवनलाई आनन्दित तरिकाले जिउनु । यसैका लागि उसले हरेक दिन मिहेनत गर्छ । तर, सुख र दुःखमा फसेर पछाडि पर्छ ।

जाँतो हो यो संसार र त्यसमा पिँधिइरहेका छन् मानिस । दिन–रात अनि सुख–दुःखको चक्करमा फसेर पाएको अनमोल जीवनलाई खेर फालिरहेका छन् । जबकि मानिसले यसलाई याद गर्नुपर्छ– ‘यो समय पनि जानेछ ।’ अहिले समय आएको छ तर जानेछ ! यदि सुख छ भने त एकदमै राम्रो कुरा हो तर दुःख आउनेछ । त्यसका लागि पहिला नै तयार हुनु आवश्यक हुन्छ । यो संसाररूपी जाँतोबाट जोगिनका लागि हृदयमा भएको शान्तिको सहारा लिनुपर्छ ।

किनकि, व्यक्तिले ‘यो समय पनि जानेछ’ भन्ने कुरा बुझेपछि उसले यो जीवनको वास्तविक आनन्दलाई ग्रहण गर्न थाल्छ । सुख र दुःख भलै आओस् अनि जाओस्, उसलाई केही पनि असर पर्दैन । किनकि, व्यक्तिले आफ्ना सारा जिम्मेवारीलाई निर्वाह गरेर आफ्नो हृदयमा भएको शान्तिलाई अनुभव गर्न थालेपछि त्यो जीवन आनन्दले भरिभराउ हुन्छ । मानव जीवनको सफलताको आधार यही नै हो ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्