बल्दैनन् सोलार, दुई वर्षदेखि भएनन् मर्मत



कुमार श्रेष्ठ, बाँके ।

नेपालगन्जमा चार लेनको सडक बन्यो । राम्रो र फराकिलो सडकमा सोलर बत्ती जडान भए । रातिमा सडक झिलिमिली भयो । सोलारको झिलिमिलीले नेपालगन्जको गरिमा अझ बढायो, सुनमा सुगन्ध भनेझैं ।

यो सुन्दर दृश्य र खुसी लामो समय टिकेन । जडान भएको वर्षदेखि सोलर बिग्रिन थाल्यो । त्यसको मर्मत नियमित हुन सकेन । नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर भूपेन्द्र बोहराले २०७५/७६ मा केही मर्मत भए पनि त्यसपछि मर्मत हुन नसकेको बताउनुभयो । ‘दुई वर्षदेखि सोलार मर्मत नै हुन सकेको छैन । कति बल्छन् भन्ने पनि हामीलाई थाहा छैन’, उहााले भन्नुभयो– ‘यसपालि मर्मत गर्ने तयारीमा छौं ।’

नेपालगन्ज नाका जमुनाहादेखि कारकादोसम्म सोलार जडान गरिएको छ । सोलार जडान गर्दा नेपालगन्जवासी जति खुसी थिए, अहिले त्योभन्दा बढी दुःखी भएका छन् । सरसर्ती हेर्दा अहिले नेपालगन्जमा २० प्रतिशत हाराहारीमा सोलार बलेको देखिन्छन् । धम्बोझी चोकदेखि बीपीचोकसम्म ३७ वटा सोलार छन् । त्यसमा ११ वटा मात्रै बल्छ । दुई वटा धिपधिप गर्छ । नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडिका प्रायः सबै सोलार बल्दैनन् ।

सोलार बिग्रिरहन्छन् । त्यसलाई बेला–बेलामा मर्मत गरिरहनुपर्छ । नेपालगन्ज उपहानगरपालिकाले दुई वर्षदेखि मर्मत नै गरेको छैन । जनप्रतिनिधिको विरोध गर्ने एकथरी मानिसहरु सोलारलाई जोडेर व्यंग्य गर्छन्– ‘बाँदरको हातमा नरिवल ।’

नेपालगन्ज उपमहानगरपालिकाका प्रशासन अधिकृत राजन केसीले यसपालि सोलार मर्मतका लागि १५ लाख रुपियाँ छुट्याएको बताउनुभयो । सोलारको गत वर्ष मर्मत गर्ने तयारी थियो । बजेट नहुँदा त्यो सम्भव भएन ।

नेपालगन्जमा सडकमा हाइमास्ट लाइन पनि जडान गरिएको छ । बजार र चार लेन सडकका प्रायः सबै चोकमा हाइमास्ट बत्ती रहेको छ । चोकमा यसले उज्यालो दिने गरेको छ ।

सबैभन्दा दुःखको कुरा त नेपालगन्ज उपमहानगरपालिकाले गरेका कामलाई ‘तन्दुरुन्त’ गरेको पाइँदैन । जुन गतिमा नयाँ काम गरिन्छ, बिग्रेपछि त्यसलाई फर्केर हेरिँदैन । सोलारको हकमा पनि त्यस्तै भएको छ । चार लेन सडकमा सोलार जडान गर्दा जनप्रतिनिधिहरु जति हाई–हाई भएका थिए । अहिले गालीको पात्र भएका छन् । जनप्रतिनिधिको त्यसतर्फ खासै ध्यान गएको देखिँदैन । ठूलो लगानी गरेर काम शुरु गरिसकेपछि त्यसलाई जीवन्त राख्नुपर्छ । नयाँ–नयाँ काम गर्दै जाने र गरेका पुराना कामलाई मेटाउँदै जाने प्रवृत्ति देखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा जनशक्ति धेरै भएकाले पनि काम थोरै हुने गरेको कर्मचारीवृत्तमा व्यंग्य हुने गरेको छ । एक कर्मचारी भन्छन्– ‘पहिला थोरै कर्मचारी थिए । ठ्याक्क–ठ्याक्क काम हुन्थ्यो । अहिले धेरै कर्मचारी छन् । राम्ररी काम हुन छोडेको छ । नेपालगन्ज उपमहानगरपालिकामा इन्जिनियरकै संख्या अधिक रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्